यी हुन् कवि मोमिलाको रोजाइमा परेका पाँच कविता

मोमिला नेपाली कविता विधामा स्थापित नाम हो । २०३३ सालबाट कविता लेखन थालेकी उनी अहिले पनि उत्तिकै सक्रिय छिन् । उनका करिब आधा दर्जन कविता संग्रह प्रकाशित भएका छन् । ‘दुर्गम उचाइमा फूलको आँधी’ र ‘भीमसेन थापाको सुसाइड नोट’ उनका चर्चित कविता हुन् । ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ उनको चर्चित निबन्धसंग्रह हो । उनको रोजाइका पाँच कविता यस्ता छन् :

सङ अफ माइसेल्फ
वाल्ट ह्विट्म्यान

सन् १८५५ मा प्रकाशित अमेरिकी कवि वाल्ट ह्विट्म्यानद्वारा स्वतन्त्र लयचेतनामा रचिएको यो कविता मेरो सबैभन्दा प्रिय कविता हो । अत्यन्त आशावादी लाग्ने यसै कविताको ‘आई सेलिब्रेट माइसेल्फ, एन्ड सिङ माइसेल्फ’ भन्ने पंक्ति नै मेरो जीवनदर्शनको नाटकीय परिवर्तनका लागि काफी बनिदियो । यसको आकर्षक बिम्ब विधानको सज्जाले मलाई बारबार झंकृत पारिरहन्छ । निकै लामो भए पनि उनको मास्टरपिस कविता हो ।

 

यस कवितामा उनको अभूतपूर्व कवित्व चेतनाको मिहीन रूप झल्किएको छ । यही तत्व कविताको विशेष आकर्षण पनि हो । यो कविता सशक्त एवं आकर्षक ढंगले भुइँमान्छेका पक्षमा, प्रजातन्त्रका पक्षमा बोलिएको कविता हो । यो कविताले प्रारम्भमा एकैचोटी समालोचकबाट सजिलै अनुमोदन प्राप्त गरेको होइन । बिस्तारै अमेरिका र बेलायतमा पनि यसले आफ्नो पाठकीय हस्तक्षेप बढाउँदै गयो । प्रतिबन्धको समस्यासमेत झेल्दै अन्ततः यसै कविताकै कारण वाल्ट ह्विट्म्यान महान् आधुनिक कविको शीरताज प्राप्त गर्न सफल भएका हुन् ।

क्रिएसन एन्ड डिस्ट्रक्सन
चुवाङ जु

महान् चिनियाँ कवि, दार्शनिक एवं गद्यशिल्पी चुवाङ जुको यो कविता ताओइज्ममा आधारित छ । कविताको पहिलो श्लोक छ
‘ह्वेन यु ब्रेक समथिङ अप, यु क्रियट थिङ्स
ह्वेन यु क्रियट समथिङ्, यु डिस्ट्रोय थिङ्स
मटेरियल थिङ्स ह्याब नो क्रियसन अर डिस्ट्रक्सन
अल्टिमेटली दिज कन्सेप्ट्स कनेक्ट एज वान् ।’
प्रकृतिसम्बद्ध तत्व ज्ञान भएपछि सजिलै सारा एकमा वा प्रकृतिमै लीन हुने कुरा उनी योभन्दा पछिल्ला श्लोकमा बताउँछन् । वाद भनेको ठूलो कुरा भयो, तर वादको कुनै चेतनाविना नै यो कविताले चक्रमा हिँडिरहने गहन प्रकृति दर्शनको महत्व बुझाउन सक्छ । कवितालाई सकेसम्म तन्काउने होइन, ताकि कविता सुनिसक्दा कथा मात्र हात नलागून् ।

कवितालाई तन्काएरभन्दा यिनै चुवाङ् जु वा जापानी कवि बासोको कविताजस्तो मथेर नौनीभैँ बनाउनसके कविता युगयुग बाँच्न सक्छ भन्ने लाग्छ । हुन त चुुवाङ जुको गद्य पनि पूर्णतः कविता नै हुन्छन् । उनले एक गद्यमा भनेका छन्– माछाहरू छन् र त जाल पनि छन्, तर एकपटक माछा प्राप्त गरेपछि जाललाई बिर्सन्छन् । त्यस्तै; अर्थका कारणले शब्दहरू अस्तित्वमा छन्, तर जब त्यसको अर्थ ग्रहण गर्छन् तब त्यो शब्द बिर्सन्छन् । म त्यस्तो मान्छे कहाँ भेटुँ; जसले शब्द बिर्सेको छैन ? म उसैसँग कुरा गर्न चाहन्छु ।

धरती जानती है
यहुदा अमिखाई

जर्मनीमा जन्मिएका इजरायली कवि यहुदा आमिखाई विश्व कविताकै एक महत्वपूर्ण हस्ताक्षर हुन् । उनी दोस्रो विश्वयुद्धका वेला ब्रिटिस सेनासँग र १९७३ को युद्धमा इजरायली सेनासँग आबद्ध भएका योद्धा हुन् । उनका कविताका बारेमा सुनिएको एउटा रोचक कहाबत् छ, १९७३ को युद्धमा विद्यार्थीलाई पनि भर्ना गरिएको थियो र ती विद्यार्थीले बन्दुक र झोलासँगै आमिखाईका कविताकृति पनि सँगै लगेका थिए ।

बमबारुदका बीचमा कविताकृति लगिनु आफैँमा रोचक छ । त्यसमा पनि आमिखाईको कविता लगिनु त्यो उनको कविताको शक्ति मान्नु पर्दछ । हुन त उनका कविता सोझै देशभक्तिपूर्ण थिएनन् र युद्ध एवं हत्याको पक्षमा त झनै थिएनन् । तर, पनि युद्धका दिनमा तागत बनेर योद्धासँगै
हिँडेका थिए ।

हिन्दीमा अनूदित उनको ‘धरती जानती है’ शीर्षकको कविताबाट म अत्यन्त प्रभावित छु । यो उनको माटोप्रतिको प्रेमाभावले भरिएको एक शक्तिशाली कलात्मक कविता हो । सरलतामा गहनता यस कविताको कवित्व शक्ति हो । यही कविताको प्रारम्भिक चार पंक्ति अति सुन्दर छन् :
‘धरती जानती हैं कि बादल कहाँ से आते हैं
कब आती हैं गर्म हवाएँ
कब नफरत और प्रेम
धरती जानती हैं लेकिन इसमं रहनेवाले भ्रम मे हैं’

आमाको सपना
गोपालप्रसाद रिमाल

नेपाली कविता साहित्यमा गद्यको ध्वनि अनन्त हुन्छ भन्ने दृष्टान्त हो, प्रथम गद्य कवि गोपालप्रसाद रिमालको ‘आमाको सपना’ । स्वतन्त्र गद्यशैलीको सुर, ताल र लयमा आफ्नै कवित्व मुर्छना सिर्जना गर्न सफल कविता हो यो । यो कविता अत्यन्त चित्ताकर्षक र ऊर्जाशील लाग्दछ ।

झन्डै पौने एक शतक पुगिसकेको यस कवितामा प्रतीक र बिम्बसहितको शब्दलालित्य मात्र नभएर सिंगो अभिव्यक्तिको हिस्सीसहित अर्थको उच्चतम सौन्दर्य सन्निहित छ । उनको काव्य प्रवाहमा विद्रोहचेतसहितको युगबोध उर्लिएको पाइन्छ । यस कवितामा प्रेम, जीवन र देश एकसाथ धड्किएको अनुभूत हुन्छ । कविताको प्रस्तुति एवं शब्द र अर्थको सन्तुलित लयका कारण नै यो कविता जति गुन्गुनाए पनि अघाउन्नँ । मनलाई झंकृत पारिरहने यो कविता नेपाली साहित्यकै युगीन महत्ताको कविता हो ।

सूर्य र कविता
विमल निभा

मलाई कवि विमल निभाको ‘सूर्य र कविता’ शीर्षकको कविता पनि निकै मन पर्छ । यो अत्यन्त कलात्मक, सूर्यजस्तै तेजिलो र रापिलो प्रगतिवादी नेपाली कविता हो । यो कविता ‘आगोनेर उभिएको मानिस’ नामक कवितासंग्रहमा संग्रहित छ । यो कविताको छुट्टछुट्टै नाक, मुख, आँखाको सौन्दर्यभन्दा सिंगो अभिव्यक्ति शैली अर्थात् हिस्सी नै सुन्दर लाग्छ । विचार पक्ष वा भावसौन्दर्य पनि उत्तिकै बुलन्द छ । यस्ता कविता पूरै पढेर या सुनेर मात्र बुझिन्छ भन्ने छैन । कविताको हरेक पंक्तिले उत्कर्षको आनन्द दिन सक्छ । यस कविताको प्रत्यक्ष रसास्वादनले यसलाई अवश्य पुष्टि गर्दछ । कविताको अन्तिम चार पंक्ति
यस्तो छ :

‘सूर्य एक कलात्मक, भावपूर्ण र लययुक्त कविता हो
कविता एक चम्किलो, तापपूर्ण र प्रकाशयुक्त सूर्य हो
साथी, सूर्य र कवितामा कुनै अन्तर छैन
दुवै अन्धकारका कट्टर दुश्मन हुन् ।’


प्रकाशित | १२ असार २०७५, मंगलवार १०:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *