डीबी परियारको चिठी

प्रचलित भनाइ छ ‘इतिहास जित्नेहरूको लेखिन्छ’ र वास्तवमा इतिहास लेखन पनि जित्नेहरूको स्वार्थमा नै लेखिएका छन्। अर्कोतिर, ‘पराजित’ भनिएका माथि गरिएको बर्बरताको इतिहास नष्ट गरियो वा उनीहरूको इतिहासकै हत्या गरियो।

नेपालको राजनीतिक इतिहासमा सत्ताका मालिकहरूबारे इतिहासमा थुप्रै लेखिएका छन्। तर, खासखास समयमा योगदान पुर्‍याउने व्यक्तिहरू इतिहासबाटै गुमनाम बनाइएका छन्। यसरी इतिहासबाटै गुमनाम एकजना साहसिक राजनीतिक व्यक्तित्व हुन्, डीबी परियार। भारतको स्वतन्त्रता संग्राम र नेपालको राणाविरोधी क्रान्तिका एक महत्वपूर्ण पात्र डीबीबारे लेखक शंकर तिवारीले सम्पादन गरी प्रकाशित ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी, मेमोरी अफ डीबी परिहार’ नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण दस्तावेज हो।

जीवनका अधिकांश समय स्वतन्त्रता र लोकतन्त्रका लागि लडे डीबी। उनले सन् १९८६ तिर जीवीकोपार्जनका लागि टेलिग्राफ वा सन्डे पत्रिकामा ‘फ्रुफरिडर’ वा पूर्वी बंगालको नेपाली क्षेत्रमा गएर ‘रिपोर्टिङ’ गर्ने काम मिलाइदिन आग्रह गर्दै भारतीय लेखक भोला चटर्जीलाई लेखेको चिठी यस पुस्तकको मूल अंश हो, जसमा तिवारीले सम्पादकीय लेखेका छन्।

नेपालका अधिकांश राजनीतिज्ञलाई कांग्रेसका संस्थापक नेता डीबी परियारबारे जानकारी छैन। नेपालमा राणाविरोधी आन्दोलनका बेला सँगै बसेर रणनीति बनाउने कांग्रेसका नेताहरूले समेत उनलाई सम्झने प्रयत्न गरेनन्। सन् १९३३ मा काठमाडौंको वसन्तपुरमा जन्मिएका डीबीको परिवारका सदस्य धीरशमशेरको पालामा नेपाली सेनामा थिए, जसले सन् १८५४ मा तिब्बतीसँग बहादुरीपूर्वक लडे। नेपाल—तिब्बतको युद्धमा ४० जना परियार कर्नेल र सेनाका मेजरहरूले विशेष किसिमको ग्यालन्ट्री अवार्डसमेत पाए। यसरी राज्यलाई योगदान गरेका डीबीका परिवार राणा शासनका कारण सन् १९३५ मा भारतको दार्जिलिङमा निर्वासित भयो। डीबी निर्वासनपछि भारतीय स्वतन्त्रता र नेपालको राणाविरोधी आन्दोलनका सक्रिय पात्रको अनुभवजन्य ऐतिहासिक दस्तावेज हो यो पुस्तक।

सन् १९३९ तिर उनको भारतीय स्वतन्त्रता संग्रामका योद्धा प्रतिमान तामाङ र सुभाषचन्द्र बोससँग भेट भयो। ब्रिटिस उपनिवेशका बन्दी नेता सुभाषचन्द्रलाई भेटसँगै उनले खाना पुर्‍याइदिने बहानामा ब्रिटिशविरोधी आन्दोलनकर्ता र सुभाषचन्द्रबीच चिठीपत्र आदानप्रदान गर्थे। जुझारु डीबीबाट प्रभावित सुभाषचन्द्रले निरन्तर आन्दोलन लाग्न प्रेरित गर्थे।

कुशल संगठक डीबीले भारतका ४० लाख गोर्खाहरूलाई एकीकृत गर्न नेपाली भाषा र गोर्खाको अधिकारका पक्षमा पनि आवाज उठाएका थिए। उनले सो गोर्खाली नेपालीको संगठनलाई भारतीय स्वतन्त्रता संग्राममा उत्रिन आह्वान गरे र कठोर दमन र कफ्र्युबीच नेपालीले भारतीय संग्रामको पक्षमा लडे। जुन कुरा उनले आफ्नो लेखनमा निकै सशक्त रूपमा लेखेका छन्। यस पुस्तकलाई भारतीय स्वतन्त्रताका लागि नेपालीले खेलेको भूमिकाको एउटा महत्वपूर्ण अंशको अभिलेखीकरणको रूपमा लिन सकिन्छ।

राजनीतिबारे पनि निकै सचेत डीबीले सन् १९४६ मा अल—इन्डिया गोरखा कंग्रेसको गठन गरी गोर्खाको हित र नेपालमा निरंकुश राणाशासनको विरोध गरेका थिए। त्यतिबेला बीपी कोइरालाले बनारसमा नेपाली नेसनल कांग्रेस गठन गरेका थिए। नेपालको क्रान्तिलाई बल पुग्ने गरी दुवै संगठन एकीकृत गर्ने विषयमा गणेशमान सिंह र डीबीबीच छलफल भएपछि संगठनलाई एकीकृत गरिएको थियो र पार्टीको नाम डीबी परियारले प्रस्ताव गरी नेपाली नेसनल कंग्रेस राखिएको थियो। यो पुस्तक कांग्रेसजनलाई आफ्नो संस्थापक नेता र उनको योगदानबारे जानकार गराउन पनि महत्वपूर्ण छ।

राणाविरोधी आन्दोलनको एउटा ऐतिहासिक महत्व बोकेको एउटा घटना पुस्तकमा समावेश छ। सन् २२ मार्च १९४७ मा भारतीय नेता राममनोहर लोहियाको घरमा बसेको कांग्रेसको बैठकले राणाविरोधी आन्दोलन तयारीका लागि एकजनालाई काठमाडौं पठाउने प्रस्ताव गर्यो। रुद्रप्रसाद गिरीले डीबीको नाम लिए।

चुनौतीपूर्ण प्रस्तावलाई डीबीले सहर्ष स्वीकारे। उनको साथमा थियो, २५ सय राणाविरोधी पम्प्लेट। काठमाडौंका आस्था रत्नलाई साथ लिएर २६ मार्च १९४७ मा उनी काठमाडौं हिँडे। उनीहरू काठमाडौंमा सूर्यबहादुर श्रेष्ठको घरमा पुगे। आफूले ल्याएको पप्म्लेट र गणेशमान सिंहले पठाएको चिठी उनलाई दिए। श्रेष्ठकै घरमा राणाशासनको अन्त्यका लागि कसरी आन्दोलन गर्ने भन्ने विषयमा पुष्पलाल श्रेष्ठसहित अन्य विभिन्न ६३ जनासँग भेटघाट र छलफल गरे।

 डीबीलाई नेपाली कांग्रेस वा प्रजातान्त्रिक भनिने राजनीतिक दलले बेवास्ता गरेकै कारण उनले आफ्नो पारिवारिक खर्च धान्न भोला चटर्जीलाई लामो पत्र लेख्नुपर्ने अवस्था आयो।

डीबी नेपाल आएको पत्तो पाएपछि राणा सरकारले उनलाई पक्राउ गरी बुझाउनेलाई दस हजार पुरस्कार दिने घोषणा गर्यो। यद्यपि, नौ दिनसम्म नेपाल बसेर आन्दोलनबारे छलफल गरी उनी ७ अप्रिलमा भारत फर्किए। आफ्नो भूमिगत मिसनबारे २० पृष्ठ लामो प्रतिवेदन पार्टीको जोगबनी बैठकमा पेस गरे। नेपालमा राणाविरोधी माहोल बनेको निष्कर्षसहितको प्रतिवेदन कांग्रेसका लागि एउटा महत्वपूर्ण दस्तावेज थियो। सोही प्रतिवेदनका आधारमा गणेशमान सिंहले देशव्यापी आन्दोलन गर्ने प्रस्ताव राखेका थिए, जुन बैठकबाट पास भएको थियो। सन् १९४७ मेमा नेपाली नेसनल कांग्रेसले आन्दोलन गर्ने देखेपछि राणा प्रधानमन्त्रीले आफ्नो दूतलाई जवाहरलाल नेहरूसमक्ष पठाएका थिए। संवैधानिक रूपमा केही परिवर्तन गरेर अगाडि बढ्नका लागि नेहरू र अन्य भारतीय विज्ञहरूले सुझाव दिएपछि त्यसको कडा विरोध गर्ने डीबी थिए। यसरी नेपालमा राणाशासनको अन्त्यका लागि क्रियाशील डीबी परियारको इतिहासलाई यस पुस्तकले जीवन्त बनाएको छ।

कांग्रेसका संस्थापक डीबी पदलोलुपता नभएको त्यागी नेता थिए भन्ने कुरा उनको लेखनबाट देखिन्छ। १७ जनवरी १९४७ मा नेपाली नेसनल कांग्रेसको पहिलो कार्यसमितिको बैठकबाट उनी कलकत्ता युनिटको सचिव भए। तर, डीबी परियारको भूमिकालाई पार्टीले सम्मानसमेत गरेन। डीबीले आफ्नो आत्मकथामा कथित तल्लो जातिका भएकै कारण पार्टीले बेवास्ता गरेका केही उदाहरणसमेत दिएका छन्। उनले रन्को (मशाल) र नेपाली कांग्रेसको अंग्रेजी मुखपत्र नेपाल टुडे्, जयनेपाल साप्ताहिक आदिको सम्पादन गरे। पछि जय नेपाल र नेपाल पुकार साप्ताहिकमा गाभियो, जसको प्रकाशक नेपाली प्रजातान्त्रिक कांग्रेसका जनरल सुवर्णशमशेर र मोहनशमशेर थिए।

उक्त पत्रिकाको सम्पादनको सबै काम डीबीले नै गरेका थिए तर जातकै आधारमा सम्पादकको रूपमा उनको नाम समावेश नगरी नेपाली प्रजातान्त्रिक कांग्रेसका सभापति महेन्द्रविक्रम शाहका निकट आर्मीका पूर्वहबलदार बाबुलाल मोक्तानलाई सम्पादक बनाइयो। उनले लेखेका कतिपय लेखहरू अरूकै नाममा प्रकाशित गर्ने समेत गरिएको उनले लेखेका छन्। यसको पछाडिको कारण कथित सानो जातको हुनु नै थियो भन्ने आसय उनले लेखेका छन्।

यस पुस्तकले पहिलो नेपाली चलचित्रका निर्देशकबारे विवादको पनि निरूपण गरिदिएको छ। सन् १९४५—१९४६ मा चलचित्र निर्देशनको तालिम लिएर डीबी परियारले राजा हरिश्चन्द्र चलचित्रको निर्देशन गरेका थिए। सो चलचित्र सन् १९५१ मा राजा त्रिभुवनको उपस्थितिमा नारायणहिटी राजदरबारमा प्रदर्शन गरिएको कुरा पनि पुस्तकमा स्पष्ट पारेका छन्। यस तथ्यलाई सम्पादक तिवारीले परिचय खण्डमा पनि प्रष्ट्याएका छन्।

यो पुस्तक डीबीले भारतीय र नेपाली लोकतन्त्रका लागि गरेको संघर्षको महत्वपूर्ण राजनीतिक दस्तावेज हो। आत्मकथा भएका कारण उनले कतिपय कुरा आफूलाई केन्द्रमा राखेर लेखेका छन् भने कतिपय कुरा थप खोज्नु वा पुष्टि गर्नुपर्ने देखिन्छ। नेपालको राणाविरोधी आन्दोलनमा उनको भूमिकाबारे लेख्दा नेपालका कम्युनिष्ट तथा वामपन्थी दलको भूमिकाबारे कतै उल्लेख गरेका छैनन्।

सन् १९४९ अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापनापछि पहिलो पर्चा प्रकाशित गरी राणा शासनविरुद्ध आन्दोलनको आह्वान गरेको थियो। उनले वामपन्थी नेताहरूसँग भेट नभएर वा उनीहरूले आन्दोलनबारे जानकार नभएर वा वा पार्टीगत स्वार्थका कारण लेखेनन् भन्ने प्रश्नको उत्तर भने पुस्तकमा भेटिँदैन। उनले नलेखेको यो सन्दर्भलाई सम्पादकको नोटमा केही समावेश गरिदिएको भए यो पुस्तक अझ बढी उपयोगी हुने थियो।

दलित भएका कारण विभेद गरिएको चर्चा उनको लेखनमा छ। नेपाली सेनामा विभेद भएकाले पुर्खाले सेवा छाडेको, भूमिगत मिसनमा काठमाडौं आउँदा थानकोटका दमाईले बाजा बजाइरहेको देखेपछि उनीहरूमाथि गर्ने विभेद र शोषणको चर्चा गरेका छन्। पार्टीभित्र पनि परियार भएका कारण विभेद गरेको कुरा उल्लेख छ तर उनले जातीय विभेदविरुद्ध कुनै किसिमको अभियान चलाएको देखिँदैन। गान्धी र नेहरूसम्म सहज पहुँच भएका डीबीको तत्कालीन भारतीय दलित नेता डा. भीमराव अम्बेडकर संगको प्रसंग भने कतै छैन। बरु आफूलाई परियार भन्दा विभेद भोग्नुपर्ने भएका कारण परिहार लेखेको जस्तो देखिन्छ।

डीबीलाई नेपाली कांग्रेस वा प्रजातान्त्रिक भनिने राजनीतिक दलले बेवास्ता गरेकै कारण उनले आफ्नो पारिवारिक खर्च धान्न भोला चटर्जीलाई लामो पत्र लेख्नुपर्ने अवस्था आयो। नेपालको सत्तामा पटक पटक पुगेको दल कांग्रेसले उनलाई वेवास्ता गर्नु खेदजनक छ। डीबीको ५ अप्रिल १९५३ मा मृत्यु भइसकेको छ। जुन बेला नेपालमा प्रजातन्त्रको पुनस्र्थापना भई नेपाली कांग्रेसको सरकार चलिरहेको थियो। उनको मृत्युमा कांग्रेसले सम्झनासमेत गरेन। कांग्रेसमा मात्रै होइन, नेपालका कम्युनिस्ट पार्टीमा योगदान पुर्‍याएका, पार्टी र लोकतन्त्र स्थापित गर्न ठूलो बलिदानी दिने व्यक्तिहरू छन्। जो दलित भएकै कारण गुमनाम बनाइएका छन्।

साभार: अन्नपूर्ण पोस्ट


प्रकाशित | ६ आश्विन २०७५, शनिबार १३:१०

Leave a Reply

Your email address will not be published. Required fields are marked *