आफ्नै अनुभूतिले जन्माएको सृजना

मृत्युको पीडा कति कठोर हुन्छ, त्यो कि भोग्नेलाई थाहा हुन्छ कि मृतकका आफन्तलाई । त्यसमा पनि अल्पायुमै हुने मृत्युले उसको परिवारलाई कति चोट दिन्छ, त्यो भोग्नेले मात्रै अनुभूत गरेको हुन्छ । प्रकाश सपूत त्यस्तै एक पात्र हुन्, जसले अकालमै आफन्तको मृत्युवरण देखेका छन् ।

परिवारको रंगीन सपना सजाउने अभिलाषा बोकेर मलेसिया गएका फुपाजुको जिन्दगी दैवले चुँडेर लग्यो । दुई वर्षअगाडि धन कमाउन मलेसिया गएका फुपाजु कफिनमा नेपाल फर्किए । कफिनमा फर्किएको फुपाजुको शवलाई प्रकाशले एयरपोर्टमा गएर बुझे । गाडीमा हालेर घर पठाए । दिदीको पुछिएको सिउँदो सम्झिए प्रकाशले । कलिला लालाबाला भान्जा भान्जीको भविष्य सम्झिए । मनै चुँडियो प्रकाशको ।

काल कति कठोर हुन्छ, एक दिन सबैले भोग्नैपर्छ । तर आफैंले भोग्नु अगाडि आफन्तलाई उठाउन आएको काल प्रकाशले एक पछि अर्को भोग्दै गए । फुपाजुको परदेशमै मृत्यु भयो । त्यसको ६ महिना नपुग्दै प्रकाशको मोबाइलमा अर्को घण्टी बज्यो । दुखद् सन्देश बोकेको त्यो सूचना सुन्दा अहिले पनि प्रकाश झस्किन्छन् । उमेरले दाइ परे पनि सँगै खाएखेलेको साथी ज्ञानबहादुरको मृत्युको खबर थियो । सुन्दर भविष्यको सपना सजाएर मनभरी अनेकौं रहर पालेर धन कमाउन गएका ज्ञानबहादुर पनि कफिनमै फर्किए ।

काठमाडौंमा चिनेजानेको प्रकाश नै थिए । शव बुझ्न प्रकाश आफै गए । बालपनसँगै बिताएको साथीको शव भारी मन बोकेर बुझे प्रकाशले । फुपाजुको झैँ उसैगरी उनले गाडीको छतमा साथीको शव हालेको कफिन लोड गरेर गाउँ पुगे ।

साथी परलोक भयो । फुपाजुको अकालमै मृत्यु भयो । उनीहरुको परिवारको बिजोग भयो । निर्दयी कालले टपक्क चुँडेर लगेपछि परिवार कसरी विक्षिप्त हुन्छ । प्रकाशले आफ्नै आँखाले देखे ।

सुरुमा कुनै घटनाले मन छोयो भने प्रकाश कविता, गीत वा गजलमा आफ्नो भावना बगाउँथे । घडीको सुई घुम्दै गयो । देखे सुनेका तथा मन छुने घटनाहरु गीत, कविता र गजलमाभन्दा पनि संवादका रुपमा डायरीमा टिपोट गर्न थाले प्रकाश ।

फुपाजु र साथीको ‘अकाल’मै चुँडिएको जिन्दगी र त्यसले सिर्जना गरेको परिस्थितीलाई उनले संवादका रुपमा डायरीको पानामा कोरे ।

गायक हुन्, कुनै घटना विशेषलाई गीत बनाएर गाउन सक्छन् । तर प्रकाशले यो विषयलाई गीत बनाएर गाउँछु भन्ने कहिल्यै सोचेनन् । आफन्त परलोक हुँदा त्यसले दिएको पीडालाई नजर अन्दाज गर्न सकेनन् र टिपोटका रुपमा मात्रै टिपे । पोलिरहेको मन केही हलुङ्गो भयो ।

० ० ०
गएको दसैंको सम्मुखमा उनले एउटा गीत सार्वजनिक गरे । ‘चरर…बररर…धरर…’ बोलको गीत संवादबाट सुरु हुन्छ । वैदेशिक रोजगारीमा गएको श्रीमान् दसैंमा घर फर्किन नपाउँदा उनकी श्रीमतीले जनाएको असन्तुष्टिबाट सुरु हुने गीतले वैदेशिक रोजगारीमा रहेका आम नेपालीको पीडा दर्शाउँछ । लाखौं नेपाली युवा कसरी आफन्तलाई मनमा सजाएर पराई भूमिमा रुँदै सस्तो मूल्यमा कडा श्रम बेचिरहेका छन् प्रतिनिधित्व गर्छ ।

० ० ०
लोकगीतमा आफ्नोपन र मन बालेको हुनुपर्छ । प्रस्तुति मोटोबाटै उठेको हुनुपर्छ । एकै वाक्यमा भन्दा मौलिक हुनुपर्छ । आधुनिक समय छ । व्यावसायिक पनि हुनैपर्छ । गाएर मात्रै पनि हुँदैन सुनिनु पर्छ । आम नेपालीले रुचाउनु पर्छ ।

त्यसो भए के हो त त्यस्तो विषय ?

प्रकाशको दिमागमा फुर्यो– वैदेशिक रोजगारी । विषय नयाँ होइन । तर यसैमा नयाँपन भने खोज्न सकिन्छ ।
उपाय निकाले ।

वैदेशिक भूमिमा रहँदाको समस्या होइन । वैदेशिक रोजगारीमा ज्यान गुमाएर फर्किएका व्यक्तिका आफन्तका समस्या । विषय उनले आफैले केही हदसम्म भोगेका थिए । कति देखेका थिए । डायरीमा आफन्त गुमाउँदा लेखेका संवाद थिए । सोचे– यसैलाई गीत बनाउँछु ।

डायरीका संवादलाई स्क्रिप्ट दिए । बोल माया… ट्युन पहिला नै सिर्जना भैसकेको थियो । त्यसमा उनले आफन्तको सपना, आग्रह, बिलौना र व्यवहारलाई लिएर गीतको शब्द तयार पारे ।

जाँदाखेरि आकाशैमा आउदा बाकसैमा…  लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइमा
यतातिर भाँडो खस्ने उता प्राण जाने
बिरानो त्यो मुलुकमा कस्ले देला पानी …
परदेशको हुँदैन भर…

हे बरै…फर्किने आसमात्रै…

के रै छ र जिन्दगी भन्नू हे बरै एक मुठ्ठि सास मात्रै
हे बरै एक मुठ्ठि सास मात्रै…

धन ल्याउछु भन्दै गयका थियै उडेर आकाशमा…
कस्तो भइ गयै कस्तो भइ आयै काठैको बाकसमा
सङ्गै जाम स्वर्ग भनेको भए मै जाने थिइन र
सङ्गै जाम स्वर्ग भनेको भए मै जाने थिइन र…
जबाफ देउ प्यारा एक बचन बोल बोल्दैनै किन र
बोल् माया …एक वचन बोल तिम्रै बोली छ मलाई अन्मोल ……
बोल माया …एक वचन बोल तिम्रै बोली छ मलाई अन्मोल …
तिम्रै बोली छ मलाइ अन्मोल…

कमाउला रमाउला भनी हे बरै …गएको उडेर

लैदियो हितैको प्राण हे बरै दैबले चुडेर…
लैदियो हितैको प्राण हे बरै दैबले चुडेर…

सासुले भन्लिन् छोरालाई खाइदिइ ससुरा के भन्लान्
समाजले पनि फलानि सार्है अलक्षिनि छे भन्लान्

तिम्लेनै दिए सिन्दुर र चुरा काहाँ राखै के गरैं
बिचैमा छोडी जानेले किन भनेउ र बिहे गरम्
बोल माया …एक वचन बोल तिम्रै बोली छ मलाइ अन्मोल…
बोल माया …एक वचन बोल तिम्रै बोली छ मलाइ अन्मोल…

प्रदेशिको हुदैन भर हे बरै फर्किने आसमात्र
केरैछर जिन्दगि भन्नु हे बरै …एक मुठ्ठी शास मात्र…
केरैछर जिन्दगि भन्नु हे बरै  एक मुठ्ठी शास मात्र

सोर्गको बाटो अफ्टेरो होला कसरी जाउलानि
एक मुठ्ठी पानी ख्वाउननि पाइन तिर्खापो लाउलानि

सति जाम् भने यो निर्दोष सन्तान हुरक्या छ पेटमा
पेटकोलाई संसार देखायर आउछु पर्खे है गेटमा
बोल माया एक वचन बोल तिम्रै बोली छ मलाइ अन्मोल
बोल माया एक वचन बोल तिम्रै बोली छ मलाइ अन्मोल

जिन्दगि खरानी भयो हे बरै बग्यो नि तिरै तिर
जानिलाई है सुख्खै भयो हे बरै बस्निलाई पिरै पिर
जिन्दगि खरानी भयो हे बरै बग्योनि तिरै तिर
जानिलाई है सुख्खै भयो हे बरै बस्निलाई पिरै पिर
जिन्दगि खरानी भयो हे बरै बग्यो नि तिरै तिर
जानिलाई है सुख्खै भयो हे बरै बस्निलाई पिरै पिर

बोल माया  एक वचन बोल तिम्रै बोली छ मलाइ अन्मोल।

उनले गायक तथा संगीतकार नारायाण रायमाझीलाई आग्रह गरे । लाहुरेका कथाव्यथालाई जस्ताको तस्तै टपक्क टिपेर लोक भाकामा उनेर आफूलाई समकालीनमाझ अब्बल प्रमाणित गरेका रायमाझीले गाए ।

० ० ०
नारायण रायमाझीको पालामा गीत सुन्ने माध्यम मात्रै थियो । प्रकाश सपूतको समयमा गीत हेर्ने माध्यम पनि भयो । भिडियोबिनाको गीतको परिकल्पना पनि कमै हुन थाल्यो । त्यसलाई क्यास गर्न प्रकाशको पुस्ता सिपालु भैसकेको छ । प्रकाश झनै यसमा अभ्यस्त भैसकेका छन् ।

उनले तयार पारेको स्क्रिप्ट अनुसारको उनले आफ्नै गाउँ र घरमा पुगेर भिडियो सुट गरे । उनलाई पूरै गाउँ देखाउनु थियो । ड्रोनको प्रयोग गरे । आवश्यक सट खिचिसकेपछि उनले त्यसलाई भिडियोमा उन्नुथियो ।

स्क्रिप्ट लामो थियो । गीत छोटो । कथा पूरै देखाउनु थियो । प्रकाशले कथा  र त्यसभित्रका पटकथा सुहाउँदो भिडियो राखे । १९ मिनेट लामो भिडियो एउटा गीत मात्रैभन्दा पनि चलचित्र हेरे जस्तो लाग्छ ।

मज्जाको सर्ट फिल्म बन्ने स्क्रिप्ट र भिडियोलाई प्रकाशले गीतमै देखाए । सानो छँदा हिरो बन्ने रहर थियो । त्यो उनले गीतमार्फत् नै धीत मार्ने प्रयास गरेका छन् । आफै मोडलिङ गरेका उनले फ्ल्यास ब्याकमा उनी श्रीमतीका अगाडि रुखबाट हाम्फाल्छन्, राजेश हमालका लाउड डाइलड भनेको अभिनय गर्छन् र दिलिप रायमाझीको नृत्यको कपीक्याट गर्छन् ।
उनलाई नायक हुने रहरको धीत भने अझै मरेको छैन । “कथा मैले लेखेको छैन । कहिले चलचित्र बनाउँछु भन्ने पािन थाहा छैन । तर समाजमा चेतना फैलाउने खालको चलचित्र एक न एक दिन बनाउँछु भन्ने सोच छ,” प्रकाश मनको अन्तर कुनामा रहेको सपनाको कुरा गर्छन् ।

० ० ०
निर्जन गाउँ, निर्धन परिवार । तर पनि बाच्नु छँदै थियो । परिवार चलाउनु नै थियो । प्रकाशका बुवा विवाह गरेर श्रीमतीलाई समेत लिएर प्रवास गए । भारतमा बसेर काम गरे । प्रकाश आमाको गर्भमा आए । बुवाले गाउँमा ल्याएर फर्किए । प्रकाशसँगै चार जना छोरा जन्मिए । परिवारमा खाने मुख थपिँदै थिए । पेट बढ्दै थियो । संख्या र पेटमात्रै बढ्दै थिएनन्, तीनका इच्छा, चाहना र आकांक्षाको पहाड पनि उचालिँदै थिए । फलतः प्रकाशको बुवाको बास दिल्लीमै भयो ।

सायद दिल्लीको कामको पारिश्रमिक राम्रो थिएन । परिवार चलाउन हम्मेहम्मे पर्न थाल्यो । ठिक त्यही बेला वैदेशिक रोजगारीका लागि मलेसिया तथा खाडी मुलुक जाने चलन सुरु भयो । प्रकाशका बुवा घर फर्किए । मलेसिया जानका लागि राहदानी बनाए । दुई वर्ष मलेसियाको भिजा लागेन । त्यही दुई वर्ष हो प्रकाशले आफ्नो बुवासँग सँगै समय बिताएको । तर त्यो समय पनि अभावले उनीहरुलाई चैनसँग बाँच्न दिएन । गाउँमा रोजगारी थिएन । घरमा सम्पत्ति थिएन । गरिबीले लपेटेरै बितेको त्यो दुई वर्ष आजै जस्तो लाग्छ प्रकाशलाई ।

जिन्दगीका ३२ वर्ष उनले दिल्ली, मलेसिया र साउदीमा बिताए । “बाल्यकालमा छिमेकीका बुवा विदेशबाट आउँदा आफ्ना बुवा नआउँदा कस्तो पीडा हुन्छ, त्यो मैले हरेक वर्ष जस्तो भोगेको छु,” प्रकाश आफ्नो तीतो विगतको यथार्थ सम्झन्छन, “वैदेशिक रोजगारीले दिएको पीडा मैले भोगेको छु । विदेशबाट रेमिट्यान्स र रङ्गीचङ्गी नयाँ लुगा मात्रै आउँदैन । छोरीका लागि ल्यापटप र श्रीमतीका लागि नयाँ आइफोन मात्रै आउँदैन त्योसँगै त्यसमा दुःख र दर्द पनि घोलिएर आउँछ । यो मेरै आफ्नै कथा पनि हो । भिडियोमा देखाइएको पारिवारिक जिम्मेवारी मेरै हो ।”

० ० ०
गरिबीले चेप्टाइरहेका बेला प्रकाश त्यसबाट उम्किन खोज्थे । जेठो छोरो । परिवारको भरणपोषणमा सहयोग गर्नुपर्छ भन्ने नैतिक दबाब र जिम्मेवारीले किच्थ्यो । तर, सोचेजस्तो सजिलो थिएन ।

जिन्दगी टारबारीको तोरी फूलेको फाँटमात्रै होइन, तरेलीको नागबेली यात्रा पनि हो । आकांक्षाहरु क्षितिज हुन् अनि मान्छे मरुभूमिको मिराजमा पानी खोज्ने हरिण जस्तै प्राणी ।
०६३ मा प्रकाशले एसएलसी दिए । पैसा हुनेहरु कम्प्युटर सिक्न र ल्यांग्वेज सिक्न काठमाडौं आए । उनमा त्यो ल्याकत थिएन । प्रकाश रिजल्ट कुरेर गाउँमै बसे । रिजल्ट राम्रै आयो । स्थानीय एक समाजवेसेवी तथा नेताले बाग्लुङ बजारमा फर्निचरमा काम मिलाइदिए । प्रकाश बाग्लुङ बजार बसेर काम गर्दै पढ्न थाले । काम लेखापढी मात्रै भनेपनि फर्निचरमा गरिने सबै काम गर्नुपथ्र्यो । शारीरिक श्रम धेरै भएपछि प्रकाशले धौलागिरी एफएममा काम गर्न थाले ।

जिल्ला तथा अञ्चलमा दोहोरी प्रतियोगिताहरु हुन्थे । प्रकाश ती प्रतियोगितामा गाउन जान्थे । त्यस्ता प्रतियोगितामा सुरुमा विजेतालाई कति पुरस्कार छ भनेर उनी हेर्थे । “त्यस्ता दोहोरी प्रतियोगितामा गाएर जितेको पैसाले मैले धेरै खर्च टारेको छु,” प्रकाश आफ्नो काहानी कहन्छन्, “पैसाकै लागि म ती प्रतियोगितामा भाग लिन्थे ।”
अञ्चल स्तरीय लोकदोहोरी प्रतियोगिता काठमाडौंमा आयोजना भएको थियो । धौलागिरी अञ्चलबाट प्रकाश आएका थिए । प्रतियोगितामा उनको समूहले हारे पनि प्रकाशले उत्कृष्ट गायकको अवार्ड पाए ।

त्यही बेला उनलाई पशुपति शर्मा, रमेश बिजी, प्रजापती पराजुली, पुरुषोत्तम न्यौपानेलगायतले तिमी राम्रो गाउँदो रहेछौ, तिमी काठमाडौं आउनुपर्छ भने ।

प्रकाशको प्रतिभाको कदर त भयो तर उनलाई सहयोग गर्ने सहयोगी मनहरुको भने अभाव थियो । बाग्लुङमा एकै प्रकारको काम, पारिवारिक जिम्मेवारी र कमजोर आर्थिक अवस्थाका कारण उनी वाग्लुङको विकल्प खोजिरहेका थिए । ठिक त्यही बेला दोहोरी गायक कमलकुमारले काठमाडौं बोलाए । काम खोज्दिन्छु भने ।

०६९ को जेठमा गायक बन्ने सपना मनभरी सजाएर प्रकाश काठमाडौं छिरे । काठमाडौं प्रकाशले सोचेजस्तो थिएन । सबै मनहरु सहयोगी थिएनन् । उनले दोहोरी साँझमा काम गर्न थाले । झरना, जलजला दोहोरी साँझमा काम गर्न थाले । “महिनाको दुई तीन हजारमा काम गर्नुपथ्र्यो । तलबभन्दा पनि टिप्स राम्रो हुन्छ । तर नयाँ भनेर साथीहरुले टिप्स पनि दिँदैन थिए,” संघर्षका दिन सम्झिन्छन् उनी ।

गामबेसी दोहोरी साँझ ठमेल पुगे प्रकाश । त्यसपछि भने उनी दोहोरी साँझमा गाउनकै लागि दुबई पुगे । दुबई  पुगेपछि उनको जिन्दगी व्यवस्थित भयो । त्यहाँबाट फर्किएपछि उनले पहिलो पटक ०६९ मा गरिखान देऊ… बोलको गीत रेकर्ड गरे । मुसुमुसु नहाँस मायाले… बजारमा आएको उनको पहिलो गीत थियो ।

त्यसअघि,

बुवा वैदेशिक रोजगारीमा थिए । जेठो छोरोले पारिवारिक जिम्मेवारी सम्हालीदेओस् भन्ने परिवारको भित्रि चाह थियो । देशमै बसेर सबैले चिन्ने व्यक्ति हुन्छु भन्ने सानैदेखि अभिलाषा बोकेका उनी पनि जिम्मेवारीको भारीले गलिसकेका थिए । आर्थिक उन्नति नभएपछि उनले राहदानी बनाए । कतार जान सेक्युरिटी गार्डका तालिम दिए । एक जना अरवीले अन्तर्वार्ता पनि लिए । १९ वर्षका प्रकाशलाई अरबीले बच्चा जस्तो देखियो भनेर ‘सरी…’ भने ।

ती अरबीले ‘सरी….’ नभनेको भए सायद आज दर्शक तथा स्रोताले न त ‘बोल माया.’ सुन्न पाउँथे न त ‘चरर…बररर…’ सुन्न पाउँथे ।

 


प्रकाशित | १२ असार २०७५, मंगलवार १०:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *