आफूले पीडा भोगेपछि अरुलाई न्याय दिंदै सरस्वती नेपाली

रमा खड्का

धेरै महिला आफूले भोगेको पीडा व्यक्त गर्न सक्दैनन्, लुकाएर राख्छन् । तर बैतडीकी सरस्वती नेपालीले आफ्नो पीडा लुकाउनुभएन । आफूले भोगेजस्तै पीडा अरुले भोग्न नपरोस् भन्ने सोचका साथ उहाँले आफ्नो जीवनलाई न्यायको क्षेत्रमा समर्पण गर्नु भयो ।

सुदूरपश्चिमको दलित परिवारमा ३७ वर्ष पहिले जन्मिएकी नेपालीले बैतडीमा मात्रै नभई सुदूरपश्चिममा दलित समुदाय र महिलाले भोग्नु परेको विभेदका विरुद्ध आवाज उठाउनु भयो ।

बैतडीको दशरथचन्द नगरपालिका–४ खलंगामा बस्ने नेपाली ६ महिनाको हुँदा उहाँका बुवाको निधन भयो । बुवाको निधन पछि आमाले निकै दुःख गरेर हुर्काउनु भयो ।

१० कक्षा पास गरिसकेपछि उहाँले काम गर्दै उच्च शिक्षा अध्ययन गर्नु थाल्नु भयो । त्यतिबेला जिल्लामा गठन भएका समूह संजालमा आवद्ध हुनुभयो । समूहमा रहेर काम गर्दा उहाँले महिला र दलितमाथि हुने विभेदका विरुद्धमा थाहा पाउनु भयो ।

कार्यक्रममा जाँदा साथीसँगै बसेर खाना खान नपाउने, गाउँमा बास बस्ने अवस्था आयो भने दलितकै घर खोज्नु पर्ने समस्या थियो ।

मठमन्दिरमा जान नपाउने, स्कुलमा साथीहरुसँग एउटै बेन्चमा बस्न नपाउने यस्ता धेरै समस्याहरु उहाँले भोग्नु भयो । तालिमको लागि नाम आएको भएपनि काटेर आफ्नो नाम राख्ने कामपनि अगुवाहरुले गरेको देख्दा उहाँलाई भित्रभित्रै पोल्थ्यो ।

महिलाहरुलाई सहभागी नगराउने, घरमा श्रीमती हुँदाहुँदै अर्कैसँग विवाह गर्ने, मदिरा सेवन गरेर दिनहुँ कुटपिट गर्ने, छोरा नपाएकै निहुँमा घरबाट निकाल्ने लगायत समस्यामा परेका महिलाका पीडा उहाँले नजिकबाट बुझ्नु भएको थियो ।

अशिक्षा र अज्ञानताका कारण सुदूरपश्चिममा महिलाहरु अरुको तुलनामा घर भित्र र बाहिर धेरै नै पीडित छन् । यो कुरा सरस्वतीलाई पटक्कै मन पर्दैन थियो ।

उहाँले यसको विषयमा आवाज उठाउँदा ज्यान मार्ने धम्की समेत सहनु पर्ने हुन्थ्यो । यी सबै कुरालाई बिस्तारै अन्त्य गर्नुपर्छ भनेर २०५३ सालदेखि सुरु गर्नु भएको उहाँको यो यात्रा अझै जारी छ ।

समाजिक न्यायका क्षेत्रमा सरस्वतीको योगदान
उहाँको सबैभन्दा ठूलो उपलब्धी बैतडीकी मानसिक सन्तुलन गुमाएकी बालिकालाई बलात्कार गर्ने शिक्षकलाई ११ वर्ष जेल सजाय दिलाउनु हो । यो घटनाले उहाँलाई साहस र उत्साह थप्यो ।

त्यसपछि डोटीको शैलेश्वरी मन्दिर प्रवेश गर्ने क्रममा भएको घटनामा उहाँ घाइते समेत हुनु भएको थियो । तर पनि उहाँले आफूले गर्ने काम र आफ्नो लक्ष्यलाई बिर्सनु भएन । न्यायको लडाईंमा निरन्तर लागि रहनुभयो ।

त्यसपछि उहाँकै संयोजकत्वमा १० वर्षअघि भूमिअधिकार मञ्च गठन भएको थियो ।

दुई वर्षसम्म सञ्चालन रहेको मञ्चले नेपालीकै अगुवाईमा सुकुम्बासी र दलित समुदायलाई जमिन दिलाउने गरी आन्दोलन गरेको थियो । त्यही आन्दोलनपछि बैतडीका ३७ घर–परिवारले दुई रोपनीका दरले जमिन र लालपूर्जा पाएका थिए ।

यस्तै बैतडीमा पहिलो पटक सेफहाउस निर्माणका लागि पनि उहाँले पहल गर्नु भयो । अहिले पनि हिंसा पीडित महिलाहरु सुरक्षित रुपमा सेफहाउसमा बसिरहेका छन् । घरेलु हिंसामा परेका, श्रीमानले दोश्रो विवाह गरेर पीडित भएका महिला, हलिया, सुकुम्बासीले न्याय र संरक्षणका लागि उहाँलाई नै खोज्ने गर्छन् ।

नेपाली दक्षिण एसियाका १४ देशका भूमिहीन किसानको जनादेश यात्रा सन् २००७ मा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सहभागी हुनुभएको थियो ।

४५ जिल्लामा सामाजिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तिमा उहाँ पनि पर्नु भएको थियो । २००७ मा उहाँकै पहलमा बैतडीलाई हलिया मुक्त जिल्ला घोषणा समेत गरिएको थियो ।

उहाँ भारतको ग्वालियरदेखि दिल्लीसम्म १७ दिनको पैदलयात्रामा पनि सहभागी हुनु भएको थियो ।

त्यतिबेला सडकमै हिँडेर, सडकमै बोरा ओछ्याएर २५ हजार भूमिहीन किसानले विरोध जनाएका थिए । त्यसपछि भारतको ग्वालियरमा भएको एशियास्तरीय शान्ति तथा अहिंसात्मक आन्दोलन विषयक कार्यक्रममा पनि उहाँ सहभागी हुनु भयो ।

त्यतिबेला उहाँले प्रथम पुरस्कार समेत पाउनु भएको थियो । उहाँलाई यो पुरस्कार पाएपछि सामाजिक आन्दोलनमा लाग्न थप उर्जा मिलेको हो ।

२०६२९२०६३ सालको जनआन्दोलनमा पनि उहाँ सक्रिय रुपमा सहभागी हुनुभयो ।

जनआन्दोलन सम्पन्न भएपछि उहाँ २०६७ सालमा शान्ति समिति बैतडीको संयोजक हुनु भयो । द्वन्द्व पीडितहरुलाई समाजमा पुनःस्थापनाका लागि राहतसंगै घाईते, विस्थापित र बेपत्ताहरुको अवस्था अध्ययन गरेर दुई वर्ष काम गर्नुभयो ।

त्यस्तै महिला मानव अधिकार रक्षक संजालले २०६८ सालमा महिला हिंसा अन्त्यका लागि सुरु गरेको पदयात्रामा डडेल्धुरादेखि काठमाडौसम्म सहभागी हुनु भएको थियो ।

आफ्नो जिल्लामा महिला अधिकारको क्षेत्रमा प्रष्टरुपमा आवाज उठाउन उहाँ निरन्तर संघर्षरत रहनुभयो ।

२०७१ सालमा लामो समयसम्म भूमी आन्दोलनमा सक्रिय भएर काम गर्दै जाँदा जिल्लामा गठित सुकुम्वासी समस्या समाधान आयोगको सदस्य पदमा रही सुकुम्बासी र भूमीहीनहरुको लागि पनि काम गर्ने अवसर प्राप्त गर्नु भयो ।

दलित त्यसमा पनि महिला भएर पनि उहाँले जाति र वर्गका रुपमा गरिने विभेदका विरुद्धमा चर्को रुपमा आवाज उठाँउदै आउनु भयो । अहिले पनि जिल्लामा कुनै समस्या भयो भने उहाँलाई नै सम्झन्छन् ।

साभार : उज्यालो अनलाइनबाट


प्रकाशित | १२ असार २०७५, मंगलवार ०९:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *