दलित पुजारीको टीका

हेमन्त विवश

 

डोटीको सालमुनि मन्दिरमा दलित समुदायका पुजारी छन् । अरु बेला दलितले मार हानेको मासु नखानेहरू सालमुनिमा तिनै ‘भाँण’हरूले काटिदिएको बोका लैजान्छन् । र, सेती किनारमा पोलेर खान्छन् ।
कतिपयले माटाका भाँडाकुँडा बनाउने हँुदा यिनलाई भाँण भनिएको तर्क गरे । तर, यी माटाका भाँडा मात्रै बनाउँदैनथे । कुनै समयमा यिनै रजौटा राज्य–व्यवस्थामा राजाको प्रशस्ति गाउँदै दरबारमा मनोरञ्जन दिलाउँथे । सारंगी, मादलजस्ता बाजा बनाउने र कुशलतापूर्वक बजाएर सबैलाई गीत–संगीतप्रति आकर्षित गर्थे ।

भाँण भन्ने शब्द उनीहरूलाई होच्याएर बोल्ने क्रममा प्रयोगमा आएको देखिन्छ, जसको अर्थ हो– जानाजान झैंझमेला वा कचिंगल मच्चाउने व्यक्ति । हो, उनीहरू झैंझमेला वा कचिंगल मच्चाउँथे जब उनीहरूमाथि अन्याय र अत्याचार बढ्दै जान्थ्यो । गाउँघरतिर भनेको सुनिन्थ्यो–‘कसो छ यो भाँण जसो।’

माथिका उखानहरूबाट पनि सजिलै जान्न सकिन्छ, दलितलाई हेर्ने समाजको दृष्टिकोण । अनि सजिलैसँग अनुमान गर्न सकिन्छ उनीहरूका भोगाइका पलहरूबारे । यिनीहरूलाई हेयका दृष्टिले हेर्ने र मजाकको पात्र बनाउने परिपाटी विद्यमान छ । यिनीहरू परापूर्वकालदेखि नै तमाखु खाने माटाको सुल्पा, हुक्का, बत्ती बाल्ने पाला, मटाका घैंटा, गाग्री जस्ता भाँडाकुँडा बनाएर गुजारा चलाउने गर्थे । नाचगानमा पोख्त यिनीहरू आफ्नो कला देखाएर अरुलाई मनोरञ्जन दिलाउँथे।

कथा भन्छ– डोटीको राजाका पालामा दरबारमा हुक्का, सुल्पा, पाला आदि टक्रयाउने र नाचगान गरेर मनोरञ्जन गराउने यस जातिको आफ्नो छुट्टै पहिचान थियो । नेपाल एकीकरण हुनुअघिको डोटी राज्यले हालको प्रदेश ७ का अधिकांश भूभाग समेटेको थियो । अहिले पनि डोटी क्षेत्रभन्दा विगतको त्यही डोटी राज्यले ओगटेको भूभाग भन्ने बुझिन्छ । यस क्षेत्रमा मनाइने चाडपर्वहरूलाई डोट्याली चाडपर्व भन्ने गरिन्छ । यहाँको संस्कृतिलाई डोट्याली संस्कृति भन्ने गरिन्छ । दरवारमा नाचगान गर्दै आएका गन्धर्वहरूले राजाबाट राम्रो उब्जनी हुने गैह्री खेत बक्सिस पाएका थिए।

निकै उमंगका साथ खेतमा पहिलो पटक धान रोपे छन् । यिनीहरूलाई धान फूलेपछि धानको बालामा पुतला बसेछन् तिनलाई झार भन्ने सल्लाह दिएछन् गाउँका ठालुहरूले । उक्त सल्लाहबमोजिम नै गन्धर्वहरूले सारा धानका फूल झारे । लगत्तै तिनै ठालुहरूले दरबारमा खबर पठाए– भाँणहरू खेती गर्न चाहँदैनन् ।

राजाले भाँणहरूलाई बोलाएर सोधेछन्– तिमीहरू के रोज्छौ, सेरो कि फेरो ? खेतीपातीको केही ज्ञान नभएका र घुमाउरो कुरा नबुझ्ने गन्धर्वहरूले फेरोको अर्थ सेलरोटी लगाए र सधैँ पाकेको भोजन सेलरोटी पाइने हो भने किन काम गर्ने भन्ने सोची तुरुन्तै जवाफ फर्काएछन– फेरो।

तर, फेरोको अर्थ डुल्दैफिर्दै मागी खानु भन्ने थियो । यिनीहरूले मागेरै खान मनपराए छन् भनेर राजाले उनीहरूलाई ‘गाउँगर्खा डुलेर मागी खानू’ भन्ने आदेश दिए । सारा जनतासमक्ष ‘यिनीहरूलाई सहयोग गर्नू’ भन्ने सन्देश पठाइयो।

आफूमाथि अत्याचार गर्ने र मजाकको पात्र बनाउने शोषक र अत्याचारीबारे अश्लील खालका गीत बनाएर गाएका छन् उनीहरुले । अझ भनौ हुर्मत नै लिएका छन् समाजका त्यस्ता पात्रहरूको । गहिरिएर हेर्ने हो भने उनीहरूले एक किसिमले क्रान्तिको बिगुल नै फुकेका हुन् । तर, अल्पमतमा परेका वादीहरूको आवाजलाई जताततै मजाकका रूपमा मात्र लिइयो ।
त्यही दिनदेखि गन्धर्वहरूको मागेर खाने परम्परा चल्यो । बढीजसो भदौ महिनामा माग्न गाउँगाउँ डुल्छन् । नयाँ अन्नबाली तयार नभएको र पुरानो अनाजको अभाव हुने समय पनि हो, भदौ । त्यतिबेला भदौमा भोकमरी हुन्थ्यो । अहिलेको जस्तो बाटोघाटो र साधन नभएको त्यो समयमा नुन–गुड ल्याउन समेत कयौं दिन हिँडेर टनकपुर पुग्नुपथ्र्यो । खाद्यान्न निकै अभाव हुने भएकाले पनि गन्धर्वहरूले भदौभरि गाउँगर्खा डुल्दै गीत गाउँदै खाद्यान्न लत्ता कपडा जम्मा गर्ने गरेको हुनुपर्छ ।

दैलोमा निकै बेर कुर्दा पनि भित्रबाट कोही बाहिर नआएर रित्तो हात जानु पर्दा र एउटै घरमा धेरैबेर कुर्नुपर्दा यिनीहरूले अश्लील शब्द प्रयोग गरेर घरधनीको नाममा गीत बनाइ हाल्थे ।यसरी गीत गाउने क्रममा ‘मर्ता क्यान कर्ता’ भनेझैं धेरैजसो आफूमाथि अन्याय, अत्याचार गर्ने र मजाकको पात्र बनाउने कयौ शोषक र अत्याचारीबारे अश्लील खालका गीत बनाएर गाउने गरेका छन् । अझ भनौ हुर्मत नै लिएका छन् समाजका त्यस्ता पात्रहरूको ।

उनीहरूले सदियौदेखि तिनै गीतहरू गाइरहेका छन । गहिरिएर हेर्ने हो भने उनीहरूले त्यस्ता गीत मात्रै गाएनन् एक किसिमले क्रान्तिको बिगुल नै फुकेका हुन् । तर, अल्पमतमा परेका यी वादीहरूको आवाजलाई जताततै मजाकका रूपमा मात्र लिइयो।

डोटी, गोपघाटका ४७ वर्षीय खडक दास भन्छन्– ‘त्यस्ता गीत बनाउनुलाई पुतलो जोड्नु भनिन्छ ।’ कुन–कुन पात्रहरूबारे पुतलो जोडियो त ? भनेर सोध्दा उनी सुनाउँछन्, ‘रतने फुलारा, पुसे टमटा, मुदडिया बोहरा, धौले, बीना भाट आदि धेरैका बारेमा पुतलो जोडिएको छ ।’ जुन कुरा तिनीहरूले गाउँदै आएको गीत सुनेर पनि थाहा पाउन सकिन्छ । यिनीहरूले रचेको गालीमा आधारित गीत नै पुतलो हो।

स्थानीय खडक दासका अनुसार यात्राबाट फर्कने क्रममा रत्ने फुलारा बाटो छेउको आँपको रुखमुनि बसेर खाना पकाउन थालेछन् । त्यहाँ गाउँ डुल्दै गरेका भाँणहरू पनि भेटिएछन् । उनलाई पनि खाना दिने आश्वासन दिएर कुनै काममा लगाइएछ । तर, भाँणहरू फर्किनुअघि नै उनी खाना खाएर बढी भएको खाना खाल्डोमा हालिदिएछन् । त्यो थाहा पाएपछि आक्रोसित मुडमा देखिएका भाँणले उनको बारेमा गीत रचेछन्।
अम्मा डाली भोज पिडाली
थुक पडिजाउ रत्ने फुलाराकी दाढी
खेतकी इचली फुलिगयो भाङो
रत्नेकी इजा लैग्यो वनभैसाको राँगो …
त्यसपछि उनीहरू यो गीत गाउँगाउँ गाउँदै हिँडे । पछि एकदिन रत्नेले भाँणको नाइके अर्थात् मुखियालाई बोलाएर आफ्नोबारे गीत नगाउन आग्रह गरे ।

उनले सजायस्वरूप जग्गा र खसी दिने पनि बताए । तर, नाइकेले पनि गीत बन्द गराउन सक्ने अवस्था थिएन । किनकि गीत जिल्ला जिल्लामा फैलिइसकेको थियो । भाँणका मुखियाले रत्नेसँग हात जोडेर समय निकै गुज्रिसकेकाले अब आफ्नो केही सीप नचल्ने व्यहोरा अवगत गराए ।एक दिन कुनै गाउँमा गाउँदै, माग्दै हिँड्ने क्रममा भैसीले हिर्काएर घाइते बनाएछ ।

रिसको झोंकमा भैसीलाई ढुंगाले हिर्काउन खोज्दा भैसी मालिक विना भाटले उल्टै हेपुवा शैलीमा झपारेछन् । त्यसपछि बिना भाट र भैंसी दुवैका बारेमा पुतलो जोड्न पुगेछन्।
नुनीका द्यौला चिढाउँला
तो भैसी गंगा बगाउँला
विना भाटकी जोइका पुछडैनो छारको थैलो …
एकदिन धौले टमटासँग विवाद परेछ । त्यतिखेरका टमटाहरू तामा पित्तलका भाँडाकुँडा बनाउनुका साथै सुनका गहना समेत बनाउँथे । गाउँ डुल्दै मागेर खाने भाँण भनेर उसले पनि हेप्न थाल्यो । अनि उनका बारेमा पनि पुतलो तयार भयो ।
कुकुर्या कामलाको पारि हाल्यो गादो
धौलेकी इजाको लामली लाउनु लादो (पेट) …
यसरी आफूमाथि अत्याचार हुँदा पुतलो जोडेर प्रतिकार गर्न नडराउने यी भाँणहरूले झुपडी बनाएको जमिन समेत यिनका नाममा छैन ।समाजमा भाँण भनेर चिनिएका सालमुनि पुज्ने यी गन्धर्वहरूले आफ्नो नामको पछाडी दास लेखाउँछन् । डोटीकै निँगाली भन्ने ठाउँबाट दासहरू बोगटीहरूसँगै त्यस ठाउँमा आएका हुन् भनिन्छ । त्यो समय नाग मल्लको शासनकालभन्दा पनि निकै अघिको मानिन्छ ।

पछि त्यसै ठाउँबाट दासहरू विभिन्न जिल्लामा छरिए । गाउँ डुल्दै माग्दै गुजारा गर्ने क्रममा टाढाटाढासम्म पुगेर उतै बसोवास पनि गरे कतिले । तराईका कैलाली, कञ्चनपुरदेखि बाँके, बर्दिया, नेपालगन्ज, दाङलगायत जिल्लामा पुगेर बसोवास गरिरहेका छन् । बझाङमा रहेका अधिकांश गन्धर्वहरू यतैबाट गएका हुन् ।

खडक दास सम्झिन्छन्– बझाङमा डोटीबाट गएका दासहरू ठूलो संख्यामा छन् । थलारामा बाटफालो भन्ने देउता छन् तिनको पूजारी त्यतैका वादीहरू छन् । बाटफालाको धामीले देउता काँप्न खोज्दा सारंगी रेटेर मादल बजाएर देउताकै गीत गाउनु पर्छ । अनि मात्र काँप्छ धामी । यसरी देउता कपाउँदा गाइने गीतका केही पंक्ति सुनाएका थिए उनले।
ग्वासी दैत्यको समैजी बान
गर हो दैत्य तानमान
दुनिया सुनला तमरी नाम

अभोलि भोलानाथ
तमरी जोडा दैत्य नाइ

भाँणहरूको विवाह
सुरुसुरुमा दास र रानाहरूले वादीसँग विवाह गर्दैनथे । वादी नाचगान गरेरै खाने जुजारा चलाउँथे । गाउँगाउँमा मुखियाको आँगनमा नाचगान गर्थे । गाउँभरका मान्छे त्यतै आएर रमिता हेर्थे ।

र, मुखियाकै आँगनमा तिनीहरूका लागि आफ्नो वर्कत अनुसार लुगाफाटो र अनाज ल्याइदिन्थे । दास र राना सुल्पा हुक्का बनाएर सबैको दैलामा राख्थे र खलो भनेर घरघरबाट वैशाख जेठतिर गहुँ र असोज कात्तिकतिर धान, कोदो, मकै, दाल, लुगा कपडा माग्थे । पछि वादीसँग विहेबारी चल्यो र सबै नाचगानमा सामेल हुन थाले । मनोरञ्नपूर्ण जीवन बिताउन थाले । जनसंख्या बढ्दै गयो । आवश्यकता र माग बढ्दै गएपछि विकल्पका रूपमा रोज्न थाले यौन धन्दा । छोरीबेटी र श्रीमतीलाई यौनधन्दा गर्न लगाए।

खडक दासका अनुसार सात पुस्ता पुगेपछि यिनीहरूको बिहेबारी चल्छ । कसैकसैले त पाँचै पुस्तामा पनि चलाएका छन रे । यिनीहरू सिनो खाँदैनन् । राँगो भने भैरबमा बलि चढ्ने भएकाले प्रसादको रूपमा खान्छन् । पहिलेपहिले त आफैं मरेको खसी बोका पनि खाँदैनथे रे । जन्ती मेलापर्वहरूमा मनोरञ्जनका लागि यिनीहरूलाई बोलाइन्छ, जहाँ मन खोलेर नाच्छन्, गाउछन् र अरुलाई मनोरञ्जन दिलाउँछन्।

भाषा
डोट्याली भाषा यिनीहरूको दोस्रो भाषा हो भने नेपाली तेस्रो । मातृभाषा छुट्टै छ । नेपाली बोल्दा होस् वा डोट्याली, यिनीहरूको टोन छुट्टै सुनिन्छ ।

महिनौ दिनसम्म डुल्दै जाने क्रममा जहाँजहाँ पुग्छन् भाषा पनि त्यतैको टिप्छन् । कोही घर छाडेर डुल्दै जाने क्रममा अन्यत्रै बसोवास गर्न पुग्छन् । यसरी यिनको भाषामा पनि नजानिँदो पाराले परिवर्तन आइरहेको देखिन्छ । हिजोआज घरमा पनि मातृभाषा बोल्न निकै कम गरिसके । पछिल्लो पुस्ताले मातृभाषा बिर्सिदै गएको पाइन्छ।

गन्धर्वहरूको कुरा गर्दा प्रसंग उठाउन मन लाग्छ शिव महिम्नः स्तोत्रको, जहाँ लेखिएको छ– ‘पुष्पदन्त मुख निर्गतेन शिव महिम्नः स्तुतः ।’ अर्थात् पुष्पदन्त नामक गन्धर्वको मुखारबिन्दुबाट निस्किएको भगवान् शिवको महिमा स्तोत्र । भनिएको छ– जो सधैंजसो स्मरण गर्ने भक्तजनको अशुभ अनि पापको विनाश गरेर सत्मार्गमा अघि बढ्ने प्रेरणा दिन्छन्, उनै शिव हुन्।

कथा भन्छ – पुष्पदन्त नामक गन्धर्वले मोहग्रस्त भएर फूल चोरी गर्ने सानो पाप गरेका थिए । त्यही फूल चोर्दा महापाप ठानेर प्रायश्चित गर्ने उद्देश्यले, ग्लानीले भरिएका आँसुले आफूलाई पखालेर शिव महिमा गान गाए । जसबाट पापमुक्त भएर उनलाई शिवधाम प्राप्त भयो।

तिनै पुष्पदन्त गन्धर्वको मुखबाट निस्केका श्लोकहरू नै शिव महिमा स्तोत्रमा उल्लिखित छन् । जुन श्लोकहरू यहाँका कहलिएका भनिएका पण्डितहरूदेखि अन्य कयौले विधि पुर्याएर पाठ गर्छन् । तर, ती गन्धर्वहरू लगायत तल्लो जात भनिएकाहरूले त्यो पुस्तक छुनु पनि हुँदैन । र, ती श्लोकहरू सुन्नु पनि हुँदैन भनियो ।

कयौ धर्मभीरूहरूले बनाएका खाडलहरू छन् हाम्रो समाजमा । डोटी कठालीका गन्धर्वहरूलाई कसैले न्याय दियो भने ती निर्जीव ढुंगा त्रिशुललगायत कयौकुरा सजाएर बनाएको त्यही सालमुनि मन्दिरले बरु केही न्याय दियो । जसलाई उनीहरूलगायत कयौले ‘अदृश्य शक्ति’का रूपमा पुकारीरहेका छन्।

अरु बेला दलितले मार हानेको मासु नखानेहरू सालमुनि मन्दिरमा तिनै भाँणहरूले काटिदिएको बोका लैजान्छन् । र, सेती किनारमा पोलेर गरेर खान्छन् । भाँणहरूको चित्त दुखाउँदा र भाँणहरूलाई पुज्न नलगाउँदा देउता प्रशन्न हुँदैनन् भन्ने मान्यता रहन गयो । र, बाध्य हुन थाले पूजाका सामान भाँणहरूलाई नै टक्र्याउन।

अन्तमा लहरी दासले भनेका थिए – मान्छे दुई किसिमले परिवर्तित हुँदो रहेछ कि क्या हो– एउटा ज्ञानले, अर्को डरले । देउताकै डरले हो यिनीहरूले यहाँ हामीले मार हानेको खाने गरेका । यिनै मान्छेहरू गाउँघरतिर हामीले मार हानेको खाँदैनन् । अनि चल्दैन अरु ठाउँमा हाम्रा हातको टीका पनि ।


प्रकाशित | १२ असार २०७५, मंगलवार ०८:३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *