जातको जाँतो

‘जब किसानले बन्दुक उठाउँछ, पुराना मिथक धमिलिँदै जान्छन्। र, बन्देजहरू एकएक गरी बिर्सिंदै जान्छन्। विद्रोहीको हतियार उसको मानवताको प्रमाण हो।’ – ज्याँ पाल सार्त्र (फ्रान्ज फेननको पुस्तक ‘द रेचेड अफ द अर्थ’ को प्राक्कथनमा )।

शरीरभित्र मृत्युको दुन्दुभी बजिरहेको आभास हुन्छ। लाग्छ, लासहरूको भारी वर्षा भइरहेको छ। देख्छु– नीलो र रातो रङको कोठे सर्ट, मुख नचिन्नेगरी एसिड वा कुनै रसायन दलिएजस्तो कालो रङ पोतिएको अनुहार। ओठ फुलेको। ज्यान सुन्निए–सुन्निएजस्तो। खैरो रङको जिन्स प्यान्ट। बाढीले बगाएर ल्याएको मुढोजस्तै हिलाम्य लास। गाडिएको लास हेर्दा पहिलेपहिले बाच्छी मर्दा बारीको आडैमा गाडिने सिनोको झझल्को आउँछ। कुकुर र बाजको रात्रिभोजबाट पर राख्न सिनो गाड्दा सायद खाल्डो अलि गहिरो खनिन्थ्यो। तर, अजित मिजार ढकालको लास त पशुको सिनो जत्ति पनि गहिरोसँग गाडिएको थिएन।

अलिकति पत्कर र सिन्दुरे स्याउलाले छोपिएझैं ढुंगामाटोले पुरिएको थियो अजित मिजारको शरीर। पृथ्वी राजमार्गको धादिङ, मलेखुबजारको फुर्केखोला नजिकै हतारमा गाड्दा गहिरोसँग खाल्डो खन्न भ्याइएन होला। लास सतहभन्दा खासै तल देखिँदैनथ्यो।

अजितको निर्जीव शरीरले सजीव प्रश्न गर्दैछ : मिजारको ठाउँमा ढकाल थरमात्रै हुन्थ्यो भने आफूलाई मनपर्ने केटी रोज्दा पुरिनुपर्थ्यो कि पर्दैनथ्यो रु यी दुई थर अघि वा पछि हुँदा कसरी काटिने र नकाटिने, झुन्ड्याइने र नझुन्ड्याइने, ‘अपराधी’ ठहरिने र नठहरिने तय हुन्छ रु एउटै मानिस एकैपटक मिजार र ढकाल (अछूत र छूत) हुन्छ कसरी रु दुईटा थरमा ‘अछूत’ पहिचान नै प्रबल र प्रभावशाली हुन्छ कसरी रु

इतिहासको ढुंगामा कुँदिएको छ– बाहुनीहरूसँग प्रेम गर्दा ‘अछूत’हरूमध्ये कयौं काटिए, अछूतसँग बिहे गर्दा कैयौं बाहुनको जात घटुवा गरियो। ‘माथिल्लो’ र ‘तल्लो’ वर्ण तथा जातबीच प्रेम र बिहे हुँदा कयौंको सर्वस्व हरण गरियो। बाहुन वा बाहुनीले ‘तल्लो’ जातकासँग माया–प्रेम गाँस्दा देश र जात नै छाड्नुपर्‍यो। यस्तै कुरूप इतिहासका साक्षी हो आत्महत्या गरेका भनिएका अजित मिजार ढकालको परिवार पनि। अन्तरजातीय प्रेम होस् या बिहे, हत्या होस् या आत्महत्या, उनको मुद्दामा चोखो मुखले गरेको फैसला कसरी हुनु जुठो १ त्यसैले उनले ‘आत्महत्या’ नै गरेको ठहर गरियो ! होस्टेमा हैंसे गर्ने नागरिक समाज र राजनीतिक समाज भए। पहिले–पहिले हत्या गर्दै हिँड्नुपर्थ्यो, अचेल प्रेमी र विवाहितले नै ‘आत्महत्या’ गरेपछि हातले बढार्नुपर्ने धुलो हावाले उडायो,

टन्टै साफ !

हिंसाका पनि दुईटा भिन्नाभिन्नै अनुहार हुन्छ कि ! पीडकले हेर्दा ‘आत्महत्या’ देख्ने, पीडितले हेर्दा ‘हत्या’ देख्ने ! पीडितका आफन्तजनले किन आफ्ना प्रियजनको चिसो लासमा हत्याराले फैसला कोरेको देख्ने गर्छन् त ?

मलिनो आवाजमा सुस्त गतिले अजितका बुवा भन्छन्, ‘अब के हुनु छ र ! भएको छोरोलाई पनि मारिहाले। घरमा बूढी जतिखेर पनि चिन्ता लिइरहन्छे। चिन्ता नलिनु भनेर कति भन्नु। अब जति लडे पनि केही हुने अवस्था छैन किनभने हामी एक्लो, उनीहरू धेरै। हुन त मेरो बुवा ढकाल हो, आमा मिजार। तर, हामीलाई उहिलेदेखि नै अछूत जातिमा राखेका हुन् !’

उनको कुरा सुन्दा पसिनाले हात लछप्पै भिज्छ। स्वास फेर्न अप्ठेरो हुन्छ। आवाज निस्किँदैन। बेजोडले ज्यान तात्छ। सायद रक्तकोषको तापक्रम सय डिग्री पुगेको छ। उनलाई सोध्छु, ‘दाइ, छोरासँगै वंश जान्छ भन्छन्। अनि तपाईंको बुवा ढकाल हुँदा तपाईं कसरी मिजार हुनुभयो त रु’

उनी भन्छन्, ‘खै उसबेलादेखि चलिआएको चलन रे ! हामीलाई त अछूतमा राख्या छन् नि ! बुवा ढकाल भए पनि आमा मिजार भएपछि अछूत नै भन्छन्।’

तिनै कथित अछूतका नाति अजित मिजार ढकाल र कल्पना पराजुलीबीचको अन्तरजातीय प्रेमविवाहले फेरि जात मात्रै घटुवा गरेन, ज्यानैसम्म लियो। र, प्रेम गर्नेहरूका लागि अँध्यारो दिन बन्न गयो– २०७३ असार ३०।

आफैंलाई सोध्छु– जात कसरी घट्छ ?

जात घटुवा स् अपमानको जिलेटिन

जात घटुवा वा जात–च्यूत हुनु हिन्दु समाजमा अपमानको सबैभन्दा डरलाग्दो स्वरूप मानिन्छ। अपमानको रोगले जोर्नी नदुखाएका दलित सायदै होलान्। त्यसैले नारीवादी इतिहासकार भी। गीता भन्छिन्, ‘दलितको शरीर अपमानको खेलमैदान हुन्छ। दलित मानिसका लागि दलित शरीर नै जेल हुन्छ र आफैंलाई सानो ठान्न आफ्नै शरीर प्रमाण हुन्छ।’ यसलाई उनी सत्ता मीमांसासम्बन्धी घाउ (अन्टोलनिकल वन्ड) भन्छिन्।

इतिहासको ढुंगामा कुँदिएको छ– बाहुनीहरूसँग प्रेम गर्दा ‘अछूत’हरूमध्ये कयौं काटिए, अछूतसँग बिहे गर्दा कैयौं बाहुनको जात घटुवा गरियो। ‘माथिल्लो’ र ‘तल्लो’ वर्ण तथा जातबीच प्रेम र बिहे हुँदा कयौंको सर्वस्वहरण गरियो।

हजारौं वर्षदेखि अपमानको गहिरो नीलडाम बोकी हिँड्न किन बाध्य छन् तथाकथित अछूत ? अपमानको अवधारणालाई सैद्धान्तीकरण गरेका प्राज्ञ गोपाल गुरु भन्छन्, ‘अपमान भौतिक र शारीरिक चोटभन्दा बढी मानसिक र मनोवैज्ञानिक चोट हो जसले हृदयमा स्थायी रूपमै दाग लाग्छ।’ उनको तर्क छ, मानिसलाई मानसिक र नैतिक रूपमा चोट पुर्‍याई उसलाई सांस्कृतिक रूपमा घटुवा गर्दा प्राकृतिक रूपमै उनीहरू सानो र तल्लो श्रेणीका हुन् भन्ने भावमा पारिन्छ। यसरी सभ्य शरीरलाई विघटित शरीरको रूपमा घृणित व्यवहार गर्दा मानव अधिकार र अपमानबीच स्पष्ट भिन्नता देखिन्छ।

यस सिद्धान्तको अभ्यास नेपालमा खास फरक छैन। अझै पनि ‘बडा नागरिक’हरूसँग जातप्रथाबारे प्रश्न सोध्दा उत्तर आउँछ– दलितहरू आफैंमा हीनभावना राख्छन्। आफैंलाई सानो ठान्छन्। त्यस्तो सोचभन्दा अलि माथि उठ्नुपर्‍यो भन्ने निःशुल्क सल्लाह पाइन्छ। कम्तीमा तीन हजार वर्षदेखि निरन्तर रूपमा अपमानको जिलेटिनमा उभ्याइएका दलितहरूले प्रत्येक क्षण यस आरोपको प्रतिरोध गरिरहेकै हुन्छन् आफ्नै शैलीमा। अछूतको नाममा अपमान भोग्नु सामान्य मानिन्छ। तर, यसको आयतन गैरदलितलाई जात–च्यूत गर्दा एक्सरे हेरेझैं छर्लंगै देखिन्छ। हेर्दा अपमानको प्रकृति सामाजिक देखिए पनि यसको राजनीतिक स्वरूपको इतिहास डरलाग्दो छ।

के जात–च्यूत गरी अपमान गर्नु हिंसा नै होइन ?

क्रान्तिले नउखेलेको जातको मियो

नेपालको इतिहास भन्नु खासमा जातको इतिहास रहेछ। यहाँका संस्था र व्यक्तिको इतिहास पल्टाएर हेर्दा जातको उही पुरानो जाँतोमा पिसिएका मानिसका क्रन्दन बढी भेटिन्छन्। कहिलेकाहीँ लाग्छ, यहाँ लोकतन्त्रको अवधारणा र अभ्यास जातकै कारण अपूरो रह्यो। राजनीतिक क्रान्तिका हरेक चरण यही जातको चुकुलमा कैद भए।

प्रजातन्त्रका लागि लडेका टंकप्रसाद आचार्य क्रान्तिकारी नेता हुन्। तर, उनको जीवन र उनले गरेको क्रान्तिमा आएर ढसमस्स बसेको ‘जात’ नहेरी उनको जीवनी कसरी बुझिएला र ? राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि आचार्यको नेतृत्वमा नेपाल प्रजा परिषद् गठन गरिएको थियो। प्रजा परिषद् नेपालकै पहिलो राजनीतिक संगठन हो। प्रजा परिषद्ले गरेको प्रजातान्त्रिक आन्दोलको क्रममा १९९७ सालमा धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री (नेवार जोशी) सँगै दशरथ चन्दलाई झुन्ड्याइँदा र गोली हानिँदा टंकप्रसाद आचार्यलाई कैद र जात–च्यूतमात्रै गरियो। उनलाई मुडेर पानी नचल्ने ‘अछूत’ बनाइयो। राणा शासनले ‘जात’ लिँदा विचलित भई उनी राणा शासकलाई दाम तिरी, बिन्तीपत्र लेखी पानीसम्म चलाउन चुकेनन् भन्छन् आचार्यका समकक्षी धर्मरत्न यमी ‘नेपालका कुरा’ पुस्तकमा।

जात घटुवाबारे घुमेको मेरो मथिंगल थप रनाहमा पर्‍यो, जब थाहा पाएँ– टंकप्रसाद आचार्य प्रजा परिषद्को सभापति भएको रोचक कथाबारे। इतिहासकार डा। राजेश गौतम ‘राणाकालीन नेपालको प्रशासनिक, शैक्षिक र सामाजिक सुधारहरू’ पुस्तकमा धर्मरत्न यमीलाई उद्धृत गर्छन्, ‘प्रजा परिषद्को सभापतिका लागि दशरथ चन्द र धर्मभक्त माथेमा उम्मेदवार थिए। तर, हिन्दु राज्यमा गाई र बाहुन नकाटिने जात भएकाले धेरै छलफलपछि टंकप्रसाद आचार्य नै सभापति तानिए।’

प्रजातन्त्रको निम्ति सँगै ज्यान आहुति दिनेहरू जातकै कारण कोही बाँच्न पाउने छुट र कोही मर्नैपर्ने बाध्यता कसरी हुन सक्छ रु क्रान्तिका निम्ति लडेका, अगुवाहरूका ‘अगुवा’ टंकप्रसाद आचार्य केही समयका लागि राणाशासकबाट ‘जात’ खसाइँदा किन त्यति साहै्र विचलित भए ?  पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने ‘अमान्छे’ बनाइएका ठूलो समूह पुस्तौंपुस्तादेखि बिटुलो भई कसरी बाँचे होलान् रु प्रजातन्त्रका लागि लडेका नेताबारे यस्तो प्रश्न उठाइनु अप्रजातान्त्रिक हो ?

यसबारे डा.गौतमको टिप्पणी छ, ‘त्यसबेलाको समाज त्यस्तै थियो। यदि समाजका सदस्य र राजनीतिक बन्दीहरूले जात–च्यूत नभएझैं गरी व्यवहार गरिदिएका भए सायद आचार्यले राणासामु झुक्नुपर्ने थिएन।’ यस टिप्पणीको अर्थ हुन्छ, एक क्रान्तिकारीले शिर झुकाएरै भए पनि पानी चलाउने चलन स्वीकार्नु स्वाभाविक हो। यस्तो किसिमको लेखनले कतै ब्राह्मणवादी इतिहासलाई नै निरन्तरता दिन खोजेको भान हुन्छ।

आचार्य जातवादी राणाशासनसामु झुके– झुकेनन्, त्यो मुख्य विषय होइन। कुन मुद्दामा उनले बिन्ती चढाए, त्यो मुख्य विषय हो। कुनै पनि हालतमा स्वेच्छाचारी राणाशासन सामु नझुकेको शिर केही समय जात–च्यूत हुँदा झुकाउने ‘क्रान्तिकारी योद्धा’ कसरी ब्राह्मणवादी नै बने होलान् ? के ब्राह्मणवादका सबै अवयव जस्ताको तस्तै लागु गर्दै एक ब्राह्मण क्रान्तिकारी बन्न सम्भव छ ? यति बिघ्न जातप्रथाले गलाएको समाजमा के जातभातमा आधारित छुवाछूत तथा जातीय विभेदको विरोध नगरी कोही कसरी क्रान्तिकारी बन्न सक्छ रु उनीहरूले परिकल्पना गरेको प्रजातन्त्र कुन वर्ण र जातका ‘प्रजा’को तन्त्र हुन्छ ? यो घटना हेर्दा ‘सुन्दर शान्त, विशाल’ नेपालमा जात–च्यूत गरिनुभन्दा ठूलो दण्ड मृत्युदण्ड पनि होइन कि भनेझैँ लाग्न सक्छ। एक ‘पवित्र’ र ‘शुद्ध’ जातको मान्छे ‘अशुद्ध’ र ‘अपवित्र’ भई मर्नुजस्तो हीन र तल्लो मृत्यु अरू के हुन्छ ?

सोच्छु, मेरो कान्छो दाइले सधैंजसो हान्ने गरेको घन त इतिहासले ‘अछूत’हरूको आत्मसम्मानमाथि पो हानेको रहेछ। यस्तो जातको गर्भ बोकेको राजनीतिक आन्दोलनमा जातीय हिंसा र त्यसको उन्मूलनको मुद्दा कसरी केन्द्रीय बन्न सक्छ ? कतै यो मुद्दा उठाउँदा सबै क्रान्तिकारी राजनीतिकज्ञहरूको प्रश्नको कठघरामा उभिनुपर्ने त होइन रु उनीहरूले लगाएका प्रजातन्त्र र समाजवादको नारा प्रश्नभन्दा माथि कसरी हुन्छ ?

नेपाली समाज र राजनीतिमा फलामे किलोजस्तै गाडिएको रहेछ– जात। यो दलित राजनीतिज्ञहरूको आँखामा मात्रै होइन, ब्राह्मणहरूको व्याकरणमा पनि कठोर रूपमा देखिन्छ। शंकर तिवारीद्वारा सम्पादित ‘फ्रम इन्डियास् फ्रिडम टु नेपाल्स डेमोक्रेसी स् मेमोयर्स अफ डीबी परिहार’मा पनि यो विषय पढ्न सकिन्छ। जेलमा रहेका टंकप्रसाद आचार्यको सभापतित्वमा गठन गरिएको नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाकालमा पार्टीको मुखपत्रमा डीबी परिहार (देवव्रत परियार) लाई सम्पादकको रूपमा राखिएन, जबकि उनको अंग्रेजी ज्ञान बीपी कोइरालाका लागि पनि अब्बल थियो।

डा. गौतम भन्छन्, ‘डीके शाहीको अंग्रेजी भाषा पत्रिकाको सम्पादक हुने तहको थिएन। तर, पनि उनैलाई सम्पादक बनाइयो।’ दलित भएकै कारण आफ्नो क्षमताको कदर नहुँदा असम्मानित महसुस गर्दै परिहारले भनेका छन्, ‘कांग्रेसका नेताहरूको समाजवादप्रतिको निष्ठा झुटो हो।’ थाहा छैन, कांगे्रसले कस्तो समाजवादको परिकल्पना गरेको थियो, जुन ठाउँमा श्रमिकबीचको तगारो नै जातप्रथा हुन्छ, जुन व्यवस्थाले क्षमता र प्रतिभालाई मार्छ र सामूहिकताको भावनालाई नै रछ्यानमा फाल्छ। कुनै जात–समुदाय प्रश्नभन्दा माथि हुन्छन् भने कुनै जात–समुदायको प्रश्नको संहार गरिन्छ।

मेरो गाग्री देख्नेबित्तिकै अरू मानिस आफ्नो गाग्री पर सार्थे। किन उनीहरू आफ्नो गाग्री पर सार्थे ? मैले लामो समय मेसो पाइनँ। सायद मेरी आमाले पनि मेसो पाउनु भएन।

यसरी कसैको प्रश्नलाई निषेध गरेर, कसैलाई प्रश्नभन्दा माथि राखेर कस्तो प्रजातन्त्र लागु गरियो होला रु कस्तो समाजवादबारे चिन्तन र विमर्श गरियो होला रु लेखक आहुति भन्छन्, ‘नेपाली समाज चिन्तनको दुश्मन समाज हो। यो समाज चिन्तन परम्पराविरोधी समाज हो। यो ठाउँमा चिन्तन नगरी विचारको सहज क्रिया गरेर बस्नेको भीड ठूलो छ। यस्तो समाजका बुद्धिजीवी र लेखकले पनि विचारको सहजक्रिया गरिदिने खतरा हुन्छ। यस्तो भयो भने नयाँ चिज जन्मिने सम्भावना हुँदैन।’ कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि सक्रिय उनै आहुतिले कम्युनिस्ट पार्टीलाई पनि जातले हदैसम्म गाँजेका थुप्रै उदाहरण पेस गर्ने गरेका छन्। कम्युनिस्ट पार्टीसमेत जातको त्यही जाँतोमा पिसिनु आफैंमा हाम्रो भयंकर ठूलो विडम्बना होइन र ?

प्रश्न–संहारको इतिहास

जातप्रथाले प्रश्न गर्ने संस्कारलाई निषेध गर्छ। प्रश्न गर्दा महँगो मूल्य चुकाउनुपर्छ। यहाँ धर्म, जातभात र देवीदेवताका नाममा प्रश्नको संहार र अमानवीय हिंसा गरिन्छ। यसकै गतिलो उत्तर माधवराज जोशीको इतिहासबाट पाउन सकिन्छ। माधवराज जोशी शुक्रराज शास्त्रीका पिता हुन्। उनी नेपालको आर्य समाज ९१९५३ साल का संस्थापक थिए। हिन्दु धर्ममा सुधारको पक्षमा उनले उठाएका प्रश्न सत्ताधारीहरूका लागि अप्रिय थिए। उनको विचार दरबारिया पुरोहित, राजगुरु, पण्डित र ब्राह्मणहरूको एकाधिकारविरुद्ध भएकोले उनीहरूले जोशीको विचारलाई खतरा ठाने।

त्यसैले उनलाई १९६२ साउन ११ गते ‘शास्त्रार्थ’को निहुँमा सिंहदरबार बोलाइयो। त्यहाँ बडागुरुज्यू प्रयागराजलगायत सयौं पण्डित एकातिर थिए, अर्कोतिर थिए जोशी एक्लै। कथित शास्त्रार्थमा जोशीले नेपाली समाजमा पुरोहित वर्गले लादिरहेको बोझ, श्राद्ध, मर्दापर्दा पुरोहितलाई दिइने दान, जातपातबारे तर्कद्वारा खण्डन गरे। डा. गौतम ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका’मा लेख्छन्, ‘मूर्तिपूजाको विरोध गर्दा बडागुरुज्यूले श्री ३ महाराज चन्द्र शमशेरसँग बिन्ती गरे,– नेपालमा राजादेखि मानिआएको पशुपतिनाथलाई ढुंगा भन्नेलाई कुट्न पाऔं महाराज।’

बडागुरुज्यू र पुरोहितहरूले बरखी लुगामा भएका जोशीलाई लठ्ठीले मरणासन्न हुनेगरी कुट्दै सिहंदरबारबाट बाहिर ल्याए अनि सहर घुमाएर थुने। उनका दुवै छोरा अमरराज र शुक्रराजलाई दरबार हाइस्कुलबाट निकालेर ‘पानी’ बाहेक गरिएको इतिहास कोट्याउँछन् डा. गौतम।

यसै घटनाबाट थाहा हुन्छ, प्रश्न र चिन्तन गर्नेलाई हिन्दु राज्यले कसरी ‘पानी’ बाहेक गर्दो रहेछ। आज पनि यस किसिमको प्रश्न गर्ने र आधुनिक जदौ नगर्नेहरूको आवाजलाई अनेक तरिकाले दबाइन्छ।

हजारौं वर्षदेखि यस्तो हिंसात्मक र अपमानकारी संरचना चलायमान बनाउने जातप्रथा कसरी बन्यो होला ? यसले म र मजस्ताको जीवनमा हिंसा र अपमानले शासन कसरी कायम गरे, यो प्रश्नले चिमोटिरहेकै हुन्छ। टंकप्रसाददेखि आहुति हुँदै, प्रजातन्त्र र जनयुद्धसमेत भोगेको हाम्रो पुस्तासम्म आउँदा, त्यो पुरानो जातको जाँतो मक्किन नसकेकोमा कसरी लाज नमान्नु ? कसरी क्षुब्ध नहुनु ?

मैले जातप्रथा बुझ्नुअघि नै भोगेकी थिएँ छुवाछूत। म त कसैको गर्भमै भइसकेकी थिएँ एक ‘अछूत’। र, ठहरिसकेकी थिएँ एक ‘अपराधी’। ‘अछूत’ हुनु हिन्दु समाजमा एक पूर्वघोषित अपराधी हुनुसरह हो। किनभने उनीहरूलाई बिनाकसुर समाजबाट तिरस्कार गरिन्छ। मसिनो ढंगबाट बोध गराइन्छ– ‘अमान्छे’ हुनुको आभास। एकनासले सम्झिन्छु, झिसमिसेमा आँखा मिच्दै इनारमा पानी लिन जाने गरेको घटना १ मेरो गाग्री देख्नेबित्तिकै अरू मानिस आफ्नो गाग्री पर सार्थे। किन उनीहरू आफ्नो गाग्री पर सार्थे रु मैले लामो समय मेसो पाइनँ। सायद मेरी आमाले पनि मेसो पाउनुभएन। जातभातको मेसो नपाए पनि आफ्नो आमाले आत्मसम्मानको मेसो राम्रै पाउनुभएको भन्ने बुवाको मुखबाट सुन्थेँ।

बुवा भन्नुहुन्थ्यो, ‘पानी थाप्न जाँदा अपमान भएपछि तिम्री आमा रातको १२ बजे भए पनि राप्ती खोलाबाटै पानी ल्याउँथिन्।’ थाहा छैन, आमाले अ‍ैंनचोपैँचो के गर्नुहुन्थ्यो १ गाउँलेसँग खाने–बस्ने गर्नुहुन्थ्यो वा गर्नुहुन्नथ्यो रु तर, मैले छरछिमेको घरमा खाएको सायदै सम्झिन्छु। म भोकाएको पक्कै हुन्थेँ, तर बिरलै ‘भोको छु’ भन्थेँ। किनकि म भोक सहन सक्थेँ तर अपमान सहन सक्दिनथेँ। मान्छे थिएँ, तर प्रत्येक समय मान्छे नै हुँ भनी प्रमाणित गरिरहनुपर्ने बाध्यता थियो।

जातको नाभी र विशेषाधिकार

जात प्रथा बुझ्न सजिलो पनि, गाह्रो पनि। यो मानव सभ्यताको सबैभन्दा जटिल र तहगत संगठन भएर हो कि रु आम नेपालीमा जातभात र छुवाछूत ‘देवता’द्वारा बनाइएको परम्परा हो। यो प्रथा नमाने ‘मरेपछि स्वर्ग नपुगिने’ बलियो बुझाइ छ। तर, ‘नेपालमा वर्णव्यवस्था र वर्ग संघर्ष’मा आहुति लेख्छन्, ‘दक्षिण एसियाली उपमहाद्वीपमा मूलतः आजको भारतमा पाँच हजार वर्षभन्दा पहिले गोरो वर्ण (रङ) का आर्य युरोपबाट आजको इरान प्रवेश गरेका थिए। भारतको कालो, पहेँलो र रातो वर्णका अस्ट्रो द्रविड मूलका जातिका सभ्यता थियो। युद्धमा हारेका आदिवासी दासमा परिणत हुन पुगे भने विजयी आर्य मालिक बन्न पुगे। यसरी भारतमा दासयुग सुरु भयो। विजयी आर्यको रङ गोरो र विजित आर्यको रङ कालो, रातो वा पहेँलो थियो। त्यसैले शासक आर्य जातिले वर्ण र रङकै आधारमा भेदभाव सुरु गर्‍यो। सुरुमा वर्ण शब्दको प्रयोग रङ विभेदको अर्थमा प्रयोग भएको थियो।’

अजित मिजारको चिसो लासले सोध्दैछ– ‘अछूत’हरू ‘छूत’ हुन कतिवटा तन्त्र फेरिनुपर्छ रु कति वटा हिंसात्मक वा अहिंसात्मक संघर्ष लड्नुपर्छ ?

तत्कालीन शासक वर्गले श्रम विभाजनलाई अनुल्लंघनीय रूपमा निश्चित कुलमाथि श्रम क्षेत्र लाद्यो। स्वाभाविक रूपमा पेसाको छनोटमा अंकुश लगाउँदा त्यसविरुद्ध कथित ‘अछूत’हरूले संघर्ष गरे। त्यस्ता संघर्षमा हिन्दु समाजले ‘अछूत’हरूमाथि हिंसा गर्‍यो। पछि हिंसा प्रयोग गर्न नपर्ने गरी श्रम विभाजनलाई जन्मजात बनायो। बनाइयो, जन्म र जातकै आधारमा कोही अपराधी र अधर्मी त कोही धर्माधिकारी हुने प्रथा। परिणामस्वरूपः धर्माधिकारी राज्यद्वारा नियुक्त ब्राह्मण हुन्थे। धर्माधिकारी पदमा ब्राह्मणहरूको विशेषाधिकार थियो। यसरी जातअनुसारको अनुल्लंघनीय पेसाको कारण हिन्दु समाजलाई चलायमान राख्ने संगठन हो– जातव्यवस्था। त्यसैले ब्राह्मण टाउकोबाट जन्मिएकोले माथि हुने, सोच्न सक्ने हुने, चोखो हुने र धर्मशास्त्रअनुसार न्याय–अन्याय छुट्ट्याउन सक्ने हुने अनि पैतालाबाट जन्मिएकोले नै अछूतहरू सोच्न नसक्ने, तलको तलै हुने, अशुद्ध र अपराधी हुने ‘मिथकको राजनीति’ नै धुरी खाबो बनेको छ।

‘अपराधी’ वा ‘न्यायाधीश’ बन्ने नेपाली इतिहास हेर्दा जन्म र जातका आधारमा अपराधी वा न्यायाधीश बनाइने क्रममा खासै कायापलट भएको रहेनछ। गोबधबारे अध्ययन गरेका अध्येता शिवहरि ज्ञवालीका अनुसार, आर्थिक वर्ष २०७३र७४ मा मात्रै सर्वोच्च अदालतमा लगत रहेका गोबधसम्बन्धी मुद्दाको संख्या ३४ देखिन्छ भने प्रतिवादी संख्या ४३ छ। प्रतिवादीमध्ये सबैभन्दा धेरै दलित ५१ प्रतिशत छन्। ती मुद्दामा फैसला गर्ने जिल्ला अदालतका ३४ जना न्यायाधीशमध्ये ७६ प्रतिशत, पुनरावेदनका ६७ जनामध्ये ६९ प्रतिशत र सर्वोच्चका ३४ जनामध्ये ६२ प्रतिशत न्यायाधीश पहाडी ब्राह्मण रहेछन्। नेपालका जम्मा तीन सय ७७ न्यायाधीशमा ब्राह्मण क्षेत्री न्यायाधीशको संख्या तीन सय ३२ (८८ प्रतिशत) रहेको छ भने दलित न्यायाधीशको संख्या जम्मा २ जना (०.५३ प्रतिशत)।

छिमेकी देश भारतमा हेर्दा दलित र अन्य अल्पसंख्यकको अपराधीकरणको अभ्यास भयावह नै देखिन्छ। अनेक नाममा मृत्युदण्ड पाउनेहरूमा (३.५) प्रतिशत त दलित तथा अन्य अल्पसंख्यक नै रहेछन्। मृत्यदण्ड पाउने उनीहरूको विशेषाधिकार नै रहेको देखिन्छ। त्यस्तै अमेरिकामा पनि ‘अपराध’ र बन्दी–जीवनमाथि अफ्रिकी अमेरिकीहरूको विशेषाधिकार नै रहेको देखिन्छ। अमेरिकाका मुख्य–मुख्य सहरमा ८० प्रतिशतको वरिपरि अफ्रिकी–अमेरिकी युवामाथि धेरैजसो लागुपदार्थ दुव्र्यसनको आरोप लगाइएको पाइन्छ, जबकि त्यही अनुपातमा गोरा युवाहरू पनि लागुपदार्थको किनबेच र दुव्र्यसनमा संलग्न नभएका होइनन्। त्यही ‘आपराधिक रेकर्ड’को बहानामा अफ्रिकी– अमेरिकीलाई जीवनभरि कानुनी विभेद गरिन्छ। उनीहरूलाई तल्लो जातमा खसालिन्छ, आजीवन जेलमा सडाइन्छ र मूलधारको समाजबाट बहिष्कृत गरिन्छ।

नागरिक अधिकारवादी वकिल तथा लेखिका मिसेल एलेक्जेन्डरका अनुसार, ‘पहिले अफ्रिकी अमेरिकीहरूलाई अलग कानुनी व्यवहार गर्ने जिम–क्रो कानुन र दासप्रथाको रूपमा ‘जातप्रथा’ थियो, अब चाहिँ अफ्रिकी अमेरिकीहरूलाई आमरूपमा बन्दी बनाउने व्यवस्थाको रूपमा त्यही प्रथा लागू गरिएको पाइन्छ। सिंगो नश्ललाई कलंकित पार्ने, स्थायी रूपमा सीमान्तीकृत गर्ने तथा कानुन र रीतिरिवाजको आधार कमसल ठहर्‍याउने आपराधिक न्याय व्यवस्था भनेकै ‘नश्लीय जातप्रथा’ (रेसियल कास्ट) हो।’ हामीकहाँका अपराध र जेलका रेकर्डले पनि त्यही कथा त भन्दैनन् ?

धेरै राजनीतिक नेताले भन्ने गरेझैं पक्कै पनि नेपालमा ‘कायापलट’ भएको छ। हिजो बाटो छाड्नेहरू आज हातै मिलाउन आउँछन्। हिजो लबेदा बेर्नेहरू आज विष्टझैं कोट–प्यान्ट लाउँछन्। हिजो ‘जदौ बराजु’ भन्ने दलित महिलाहरू कानुन लेख्ने ठाउँमा पुग्याछन्। उनीहरू ‘जदौ बराजु’ भन्दैनन्, आँखामा आँखा मिलाई बात मार्छन्। तर, मसिनो ढंगले हेर्दा शक्ति–संरचना र सम्बन्धमा खास फरक भएको रहेनछ। उदाहरणका लागि, नेपालको शक्ति संरचनामा सबैभन्दा बढी हालीमुहाली ब्राह्मण–क्षेत्रीको छ। तर, तिनै समुदायका महिला पनि पुरुषको तुलनामा पछाडि नै छन्। तीन सय ३२ जना ब्राह्मण–क्षेत्री न्यायाधीशमा पनि महिलाको संख्या जम्मा ११ मात्रै रहेको छ अर्थात् ३।३१ प्रतिशतमात्रै छ भने दलित महिला न्यायाधीश छैनन्। न्याय दिने उद्देश्यले बनाइएको अदालतको अनुहारमा पनि नेपाली समाजकै कुरूप प्रतिबिम्ब सीधै देखिन्छ। सहजै बुझ्न सकिन्छ, (अ) न्यायालयमा दलितको नगन्य प्रतिनिधित्व हुनुको पछाडि लामो समाजशास्त्रीय कारण छ। तर, ब्राह्मण–क्षेत्री महिलाको प्रतिनिधित्व पनि असाध्यै कम हुनुको कारण के होला रु यसमा ब्राह्मणवादी पितृसत्ताको भूमिका त छैन ?

हिंसाको मानसरोवर ब्राह्मणवादी पितृसत्ता

के हो ब्राह्मणवादी पितृसत्ता ? हिंसा र ब्राह्मणवादी पितृसत्ताको अन्तरसम्बन्ध के छ ? नारीवादी इतिहासकार उमा चक्रवर्तीका अनुसार, ब्राह्मणवादी पितृसत्ता भनेको भूमि, महिला र धार्मिक रीतिरिवाज–संस्कारमाथिको अधिकार आफैंभित्र सुरक्षित गर्ने संयन्त्र हो। यसले महिलामा पनि ‘उच्च’ र ‘तल्लो’ वर्णका महिलाको विवाह यौनिकता, श्रम र शिक्षालाई नियन्त्रण गर्छ, पुरुषलाई नै केन्द्रमा राखेर। उनी भन्छिन्– जातीय श्रेणी र लैंगिक श्रेणी भनेको ब्राह्मणीय सामाजिक व्यवस्थाका सांगठनिक सिद्धान्त हुन्, जुन एकअर्कासँग सम्बन्धित छन्। ‘उच्च’ जातका महिलाहरू पुरुषहरूको अधीनस्थ बनाइनुको उद्देश्य पितृसत्तालाई मात्रै होइन, जातप्रथालाई पनि कायम राखिछाड्नु हो। ब्राह्मण–क्षेत्री–वैश्यजस्ता वर्ण र त्यसका जातलाई केन्द्रमा राख्ने पितृसत्ता कत्तिको हिंस्रक छ, नेपाली समाजले दिनदिनै भोग्दैछ। यसको सिकार हुँदैछन्, हिजो अछूत भनिने दलितहरू।

उच्च भनिएका वर्ण र जातका लागि अरूलाई अपमान र हिंसा गर्नु पनि ग्लानि र अपराधबोधको विषय नहुने रहेछ ! वर्ण र जातको ‘श्रेष्ठता, शुद्धता र पवित्रता’ रक्षा हुने भयो भने हत्या, आत्महत्या, क्रमशः मृत्यु सबै–सबै हिंसा पनि अनुचित नहुने रहेछ ! त्यसलाई राज्य, राजनीतिक दल, अदालत, प्रहरी प्रशासन र वर्णवादी समाजले पनि क्षम्य ठान्ने रहेछ। यसको अर्थ अजित मिजार ढकालको ‘आत्महत्या’, बुद्धमाया विश्वकर्माको आत्महत्या प्रयास, बलात्कारसँगै माया विकको हत्या तथा मना सार्कीको वध पनि शास्त्र र शासनसम्मत भएकै कारण हत्या नठहरिने भयो।

उनीहरूको मत र मतिअनुसार ‘वैदिकी हिंसा हिंसा न भवती’ (वेदमा भनिए अनुसार हिंसा–कर्म गरियो भने हिंसा नै ठहरिँदैन)। यसको अर्थ जातभात र छुवाछूतमा आधारित हिंसा गर्नु हिंसा नै होइन। न्याय नपाएकै कारण चिसो बरफमा टिचिङ हस्पिटलमा छ, अजित मिजारको लास। कसैले आफ्नो प्रेम छनोट गर्दा झुन्डिनुपर्छ, कसैले गाडिनुपर्छ र कोही सात सय ४८ दिनदेखि बरफमा चिसिनुपर्छ।

त्यसैले होला, अजित मिजारको चिसो लासले सोध्दैछ– ‘अछूत’हरू ‘छूत’ हुन कतिवटा तन्त्र फेरिनुपर्छ ? कति वटा हिंसात्मक वा अहिंसात्मक संघर्ष लड्नुपर्छ ? ’

साभार : अन्नपूर्ण पोष्ट दैनिक


प्रकाशित | १६ भाद्र २०७५, शनिबार १९:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *