‘कमाउने म नै थला परेपछि के गरुँ ? छोरी मरे मरोस्’

प्रेम सुनार

बुटवल – नियतिको बज्रपात पनि कस्तो हो ? जहाँ जहाँ घाउँ उहीँ चोट । विपन्न परिवारको घरमा एक जना सामान्य विरामी हुँदा त कति अलमल पर्छन भने परिवारमा तीन जना सदस्य थला पर्दा अवस्था कति कारुणिक होला ?

घरमा चरम गरिवी छ । दैनिक मजदुरी गरेर पाल्ने बाबु नै दुर्घटनामा परी उपचार गर्ने पैसा नभएर घरमै थला परेका छन् । उनैकी आमा लडेर सात वटा करङ्ग भाँचिएर थाल परेकी छिन् । अर्की १४ वर्षीया छोरी पनि लडेर खुट्टा भाँचिएर घरमै बसेकी छिन् ।

यस्तो विजोग गुल्मीको सदरमुकाम नजिकै रेसुङ्गा नगरपालिका वडा नम्वर १२ उर्लेनी गाउँका ४६ वर्षीया मुमबहादुर विकको घरको हो । पाल्पा प्रभास अस्पतालमा खुट्टा भाँचिएकी छोरीलाई उपचार गराउँदै थिए उनले ।

त्यति नै बेला घरमा श्रीमती सुत्केरी भईन । सन्तानमा ६ छोरी र १ मात्र छोरा थियो । तर छोराको आज भन्दा ४ बर्ष अघि दुबै किड्नी फेल भई उपचार गर्न नसकेर मृत्यु भएको थियो । छोरा गुमाएको पिडामा श्रीमतीले अर्को छोराको जन्म दिँदा छोरीले खुट्टा भाँचे पनि निकै खुशी हुँदै घर आए उनी ।

असार ७ गतेका दिन सदरमुकाम तम्घासबाट दुई दिन पछि हुन गईरहेको छोराको न्वारन गर्ने सरसमान किनेर ट्याक्टरमा राखेर घरै माथी आएका मुमबहादुरले घर झर्नु पर्नेमा फेरी एउटी छोरी ट्याक्टरमा चढ्न थाले पछि लड्ली भनेर लिन जाँदा ट्याक्टर गर्लामगुर्लुम्मै तल खस्यो ।

ड्राईभर हाम फालरे जोगिए भने उनी गम्भीर घाईते भए । उक्त ट्याक्टर थियो त्यसै वडाका वडाध्यक्ष कुलबहादुर टण्डनको । उनी निर्माण व्यवसायी पनि हुन् । उनैले तम्घास बजारमा ठेक्का लिएको घर निर्माण कार्य दिनैभर गरेर विक उनको ट्याक्टरमा साँझ आफनो घर फर्किएका थिए ।

थप विपद् निम्त्याउनुमा वडाध्यक्षको हेलचेक्राँइ

ट्याक्टर दुर्घटना भईसकेपछि र मानिस समेत घाईते भईसकेपछि उनी जस्ता जिम्मेवार जनप्रतिनिधीले प्रहरी बोलाएर मुचुल्का उठाउनु पर्नेमा त्यसो नगरी विकलाई अस्पताल पठाए । जिल्ला अस्पताल ल्याईएका उनलाई त्यहाँ उपचार नभए पछि पाल्पा पठाईयो । वडाध्यक्षले जम्मा पाँच हजार मात्रै दिएर पठाएका थिए । पाल्पा प्रभासमा पनि विकको उपचार सम्भव भएन ।

उनलाई भरतपुर पु¥याइयो । उनलाई त्यस अस्पतालमा लगेर जाने उनका आफन्त बिष्णुबहादुर विश्वकर्मा भन्छन् ‘भरतपुरमा लैजाँदा भर्ना गर्ने पैसा नभए पछि अस्पतालले मानेन ,पछि वडाध्यक्षलाई फोन गरेपछि बल्ल भर्ना गरिएको हो ।’ एक महिना त्यहाँ बसेर फर्किएको विकको खासै उपचार राम्रो हुन सकेन । हात, खुट्टा, शरिर केहि चल्दैन । पाईपको माध्यमबाट दिशा पिसाव गराईन्छ । पछाडी ढाडमा लागेको घाउ पाकेर बेहाल छ ।

बाँकी उपचारमा पन्छिने प्रयास
विक गहभरी आँशु पार्दै भन्छन्–‘ अस्ती एक दिन वडाध्यक्ष आउनु भएको थियो । उहाँ भन्दै हुनुहुन्थ्यो, ‘मैले गर्न सक्ने सम्मको उपचार गरे क्यारे अब के गरुँ त ? ’ भन्नु भयो , मेरो साथमा सुको छैन । एक महिना पछि बोलाएको हो, त्यहाँ पुगेर भर्ना हुन मात्रै २० हजार लाग्छ । त्यसैले यहि कुहेर बसेको छु ।

तीन जना त थला परेकै छन् । त्यस माथी केहि दिन अघि अर्की छोरी सिकस्त परिन् । विक भक्कानिदै भन्छन् –‘ उपाय नलागे पछि के गरौं ? कमाएर छोराछोरीको हेरविचार गर्ने म आफै नै थला परेको छु भनेँ, हुन्देओ, छोरी मरे मरोस भनेँ । अस्तीबाट भने हेरखोरा गरेर आँखा खोलेकी छ ।

तल भुईमा खुट्टा भाँचिएर गुहारको मुद्रामा टिलपिल आँशु पारेकी १४ वर्षिया छोरी सुनिता म आफुलाई भन्दा पनि हामीलाई काम गरेर पाल्ने बाबुको उपचार गर्न कसैले सहयोग गरी दिए आफ्नो आत्माले सबैलाई आशिष दिने बताउँछिन् । उनले भक्कानो छाड्दै भनिन, ‘दुई दुई पटक लडेँ, खुट्टा भाँचिदा स्कुल जान छाँडे ।’

धेरै पढ्ने मन थियो कक्षा सात भन्दा माथी जान नसक्ने भएँ । उनले दिदीबहिनी संगै रुँदै भनिन्–‘ बाबाको अवस्था त्यस्तो भए पछि कक्षा ६ मा पढ्दै गरेकी मैले पनि स्कलु छाँडे । पढ्न त त्यस्तै भयो खाने खर्च समेत घरमा छैन । मेरो बुवालाई बचाई दिनुस न, मैले नपढे पनि उहाँ बाचे हामीलाई सबै पुग्थ्यो ।

करङ्ग भाँचिएर लडेकी मुमबहादुरकी आमा पनि आफु मरे पनि छोरा बाँचे धन्य हुने विलौना गर्छिन् । मुमबहादुरका बाबु पनि बृद्ध बिरामी छन् । त्यो घरमा ती तीन जना विरामी नपरेको भए औषधी उपचार गर्न लैजानु पर्ने तिनै बाबु थिए । चकमग्न छ घर । स्याहार सुसार र सुत्केरी पोषणको अभावमा उनकी श्रीमती सुनिएर बेहाल छिन् ।

कहाँ गए चुनाव ताका चामल बाड्नेहरु ?
यस्तो विपदमा परिरहेको त्यो परिवारमा कुनै राजनैतिक दलका नेता कार्यकर्ता फर्केर नआएको त्यस परिवारको दुखेसो छ । त्यस गाउँ दलित समुदायको बाहुल्य भएको ठाउँ हो ।

जहाँ चुनाव ताका भोटका लागि चामलका बोरा ,मासुका थैला र ढोल ढोलमा घरेलु मदिरा देखि शिल्ड प्याक समेत पु¥याइएको र त्यस क्रममा एक देखि अर्को राजनैतिक दलले समातेका घटना पनि छन । तर अहिले त्यही गाउँमा त्यति ठुलो विपदमा परेको परिवारको लागि कहाँ गए ती चुनाव ताका चामल बाँड्नेहरु ? अलिकति पनि छ मानवियता र नैतिकता ? भनेर प्रश्न उठाउँछन सर्वसाधरणहरु ।

मुचुल्का त पछि उठाएको होः वडाध्यक्ष
त्यो परिवारको विपदको रिर्पोटिङ्ग संगै वडाध्यक्ष टण्डनलाई फोन सम्पर्क राख्दा उनले आफु विवाह पार्टीमा भएको प्रतिकृया दिए । दोश्रो दिन सम्पर्क राखेर के कारणले व्यक्ति यसरी जीवन मरणको दोसाँधमा पर्ने गरी तपाईको ड्राईभरले ट्याक्टर दुर्घना गराउँदा प्रहरी बोलाएर मुचुल्का उठाउनु भएन ? भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो–‘ त्यति बेला त सामान्य जस्तै लागेर त्यो गरिएन तर पछि प्रहरीको मुचुल्का उठाईएको छ ।

पछि नै सहि , मुचुल्का उठाईएको पक्कै हो ? भन्ने अर्को प्रश्नमा उनले भने उठाईया होला । खै ड्राईभर ? उसलाई बचाउनका लागि भगाउनु भो भन्ने गाउँवासीको आरोप छ नि ? भन्ने प्रश्नमा उनले भने, उ फोक्सीङ्ग तिरको हो , आफै गयो । ती थला परेका विकलाई थप उपचारको जिम्मा तपाईले नलिएर कसले लिने देख्नु भएको छ उनको अवस्था कस्तो छ ? भन्ने प्रश्नमा उनले भने, किन नदेख्ने हो अस्ति पनि गएर हेरेको हुँ ।

उनीहरुको घरमा अन्नको गेडो छैन । चुनाव ताका त विभिन्न राजनैतिक दल चामल , रक्सी र मासु बाँड्दैमा समातिएका थिए नि । यस्तो बेला उनीहरुलाई एक बोरा चामल लैजाउ खाउ भन्नु भयो ? भन्ने अर्को प्रश्नमा उनले भने, चुनावताका खै हामीले बाँडेनौ क्यारे कसले बाँडे कुन्नी । अहिले उनीहरुको रासन पानीको ख्याल भने गरिएन ।

स्थानियको सवाल यस्तो छ
विपदमा परेका नागरिकहरुको उद्धारमा वडाध्यक्ष टण्डनको ट्याक्टर दुर्घटना नभई अरुकै भए पनि वडा सरकारको हैसियतले लाग्नु पर्ने हो । वडा कार्यालयबाट हुने सहयोग देखि नगरपालिकामा सिफारिस गरेर पनि त्यो परिवारको उद्धार गर्नु जरुरी थियो । नगरप्रमुख डिल्लीराज भुसाल समेत पुग्नु पर्दथ्यो ।

एकै घरमा चार जना नागरिक थला पर्नु र उपचार पाउन नसकेर मृत्युको दुहाई माग्नु कम गम्भीर विषय होईन । हिजो चुनाव ताका कोही खर्चको अभावमा कोही उपचार नपाएर मर्न पर्ने छैन भनेर भाषण फलाक्ने उनै मेयरको पार्टी पुर्व एमाले, पुर्व माओवादी र कांग्रेसजनहरु पनि थिए ।

अहिले त्यस्तै प्रलोभनहरु देखाएर चुनाव जित्दै सरकारमा पुगेको नेकपाहरुले त्यसरी विपदमा परेका जनतालाई हेर्न पर्ने कि नपर्ने ? विक परिवारका छोरीहरुले खाने खर्च छैन भन्न साथ उर्लेनीका समाजसेवीहरु खेतबहादुर टण्डन, ओमबहादुर टण्डन, गिरीप्रसाद महाकिम , गंगादेबि बस्नेतले त्यो परिवारलाई एक एक बोरा चामल, तेल, चिनी लगायतको खाद्यान्न दिने घोषणा गरे ।

३ हजारका दरले नगद पनि दिने बताए । गंगादेवी बस्नेतले १० हजार दिने घोषणा समेत गरिन् । उनीहरु सवै हिजो देखि चन्दा संकलन अभियानमा लागेका छन् । त्यस परिवारका तीन जना मध्ये दुई जनाको उपचार आफुहरुले चन्दा उठाएर गर्ने र ट्याक्टरबाट घाईते विकको उपचारको जिम्मा वडाध्यक्षले नै लिनु पर्ने , त्यसरी पन्छिन नपाईने उनीहरुको भनाई छ । वडाध्यक्षले यो समाचार लेख्दा लेख्दै फोन गरे पछि बसेरै छलफल गर्ने बताएका छन् ।


प्रकाशित | १४ भाद्र २०७५, बिहीबार १५:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *