जातीय अपराधमा के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

दिलीप शर्मा

बैंकक- संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग्या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ ।

राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमा म्यान्मारका सैनिक प्रमुख मिन अङ लाइङसहित अन्य सदस्यले जातीय नरसंहारमा सम्लग्न भएको भन्दै उनीहरू सजायको भागीदार हुनुपर्ने दावी गरिएकोे छ । उनीहरूविरुद्ध दर्जनौँ रोहिङग्या मुसलमानको हत्या गरेको र करिब सात लाख नागरिकलाई विस्तापित हुन बाध्य पारेको आरोप छ । विस्थापित अधिकांश शरणार्थीको रूपमा बङ्गलादेश लागयतका एशियाली मुलुकमा बस्न बाध्य छन् ।

मार्च २०१७ मा राष्ट्रसंघीय मानवअधिकार परिषद्ले गठन गरेको राष्ट्रसंघीय मिसनले प्रतिवेदनमा भनेको छ, “म्यान्मार सेनाको कमान्डका उच्च सैनिक अधिकारीमाथिको अनुसन्धान र अभियोजन लगाउन पर्याप्त सूचना हामीले पाएका छौं । रखाइन राज्यमा भएका सैनिकका अपराधहरु जातीय नरसंहारको प्रकृति, गम्भीरता र क्षेत्रलाई आकर्षित गर्ने किसिमका छन् र तिनी तथ्यपूर्ण छन् ।”

म्यान्मारमा शरणार्थीमाथि सुरक्षाकर्मीले पटकपटक बलात्कार, हत्या र आगजनीजस्ता जघन्य अपराघ गरेको आरोप लगाइने गरेका छन् । घरबाट निकालिएका निहत्था नागरिकमाथि भएका हिंसात्मक आक्रमणको विश्वभर निन्दा भएको छ ।

राष्ट्रसंघीय प्रतिवेदनलाई म्यानमार सङ्कटबारे अहिलेसम्मकै सबैभन्दा गम्भीर तथा जिम्मेवारीपूर्ण कदमका रूपमा लिइएको छ यद्यपि विज्ञले प्रतिवेदनलाई अघि बढाउँदा कानूनी तथा कूटनीतिक अवरोध आउनसक्ने चेतावनी दिएका छन् ।

रोहिङग्याका लागि छिटो र न्यायपूर्ण बाटो 

द हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी) शुरुवातको प्रक्रिया हुनसक्छ । यसलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद््ले म्यानमारलाई उक्त अदालतसमक्ष पठाउनुपर्छ ।

तर भूराजनीतिले उक्त मुद्दालाई चीन र रूसलाई जोड्ने अवस्था रहन्छ । सैनिक जनरल लाइङलाई केही दिन पहिले आतिथ्यता दिएको मुलुकले राष्ट्रसङ्घको सुरक्षा परिषद््मा विशेष शक्तिको प्रयोग गर्न सक्नेछ ।

चीनले निरन्तर रोहिङग्या समस्या म्यान्मारको आन्तरिक समस्या भएको भन्दै राष्ट्रसङ्घमा हुने आलोचनालाई पन्छ्याउने गरेको छ ।

रखाइन राज्यको धेरै जटील ऐतिहासिक, जातीय तथा धार्मिक पृष्ठभूमि रहेको चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले मङ्गलबार सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताउनुभएको छ ।

त्यसो भए समस्याको समाधान वार्ता तथा सम्झौता कसरी निकाल्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, मलाई लाग्छ कसैमाथि दोष अथवा दवावले कुनै पनि कुराको समाधान निकाल्दैन । न्यूयोर्कस्थित सुरक्षा परिषद््मा म्यानमारबारे अगस्ट २८ मा छलफल भएको छ ।

दोस्रो योजना के हुन सक्छ 

यदि आइसीसीको कानूनी कदमबारे सुरक्षा परिषदमा छलफल जारी छ भने यसलाई रुवाण्डा, युगोस्लाभिया, लेबनान र कम्बोडियाका लागि गरेजस्तै अनौपचारिक वा मिश्रित न्यायाधिकरणमार्फत अघि बढाउन सकिन्छ ।

यसका लागि सैद्धान्तिकरूपमा म्यान्मारका राष्ट्रिय उच्चाधिकारीसँग समन्वयको आवश्यकता पर्दछ ।

अर्को सम्भावना भनेको आइसीसीका प्रमुख अभियोक्ता फताओ बेन्सोउडाले आइसीसीको क्षेत्राधिकारलाई म्यानमारमा विस्तार गर्ने देखिन्छ । म्यानमार अहिलेसम्म उक्त न्यायालयसँग जोडिएको छैन ।

आइसीसीको सदस्य राष्ट्र बङ्गलादेशमा म्यान्मारको जातीय हिंसाको प्रभाव परेकोले यसको अधिकार क्षेत्र नभएपनि आइसीसीको क्षेत्राधिकारलाई म्यान्मारमा जोड्नसक्ने आइसीसीका न्यायाधीश किङ्सले अवोटको धारणा छ ।

यदि अदालत सहमत भएमा अभियोक्ताले प्रारम्भिक अनुसन्धानलाई शुरु गर्न सक्छन् र अन्ततः म्यानमारको नागरिकलाई पक्राउ पूर्जी दिन सक्छ ।

तर यसले समय लिनसक्छ । अनुसन्धानमा बङ्गलादेशले सहभागिता जनाउनु र म्यान्मारले शङ्ककास्पद व्यक्तिलाई हस्तान्तरण गर्नु जरुरी हुनेछ ।

कसलाई सजाय दिन सकिन्छ 

अदालतले राष्ट्रलाई लक्षित गर्ने होइन त्यसका नागरिकमाथि लक्षित गरी अनुसन्धान अघि बढाउन सक्छ । सोमबार राष्ट्रसङ्घको छानविनले सैनिक प्रमुख जनरल मिन अङ्ग लाइङसहित छ जना सैनिक अधिकारीको नाम सार्वजनिक गरेको छ ।

अनुसन्धानकर्ताले भनेका छन्, “लाइङसहित छ जना सैनिक अधिकारीको रखाइन राज्यमा रोहिङग््या जातीय दङ्गा सफाया अभियानमा सहभागी भै कमाण्ड सम्हालेका कारण उनीहरूमाथि छानविन जरुरी छ ।”

तर आसीसीले विदेशबाट शङ्कास्पद व्यक्तिलाई सम्बन्धित देशको अनुमति विना अदालतमा अनुसन्धानकै लागि पनि खडा गर्न सक्दैन । आइसीसीको सदस्य राष्ट्रले भ्रमणका समय उनीहरूलाई पक्राउ गर्न सक्छ र अनुसन्धानका लागि आइसीसीमा बुझाउन सक्छ ।

तर यो पद्धति विगतमा विवादास्पद बनेको थियो । सन् २०१७ को डिसेम्बरमा युद्ध अपराधसम्बन्धी न्यायाधीशले द हेगको पक्राउपूर्जीको आदेशअनुसार सुडानी नेता ओमार अल–बासिरलाई पक्राउ गरी द हेगमा नबुझाएका कारण जोर्डनको आलोचना भएको थियो ।

सुकीले अनुसन्धानको सामना गर्नुपर्छ 

म्यानमारकी प्रजातन्त्रवादी नेतृ यस मुद्दामा अनुसन्धानको घेरामा ल्याइने सम्भावना निकै कम हुनेछ । अहिले अनुसन्धानका लागि लक्षित रहेका व्यक्तिमा सु कीको नाम छैन । तर सुरक्षाकर्मीको उच्च तहका अधिकारीलाई भने छानविनका लागि राष्ट्रसंघीय अनुसन्धान समितिले आवश्यक ठानेको छ ।

तर समितिले सुकीलाई रोहिङग्या हिंसा समाधानका लागि आफ्नो नैतिक अधिकारको प्रयोग नगरेकोमा छानविनको दायरामा ल्याउनसक्छ ।

छानविनले सुकीको प्रशासनले कुनै गलतकार्य नभएको भनी घटनालाई लुकाउन खोजेको, राष्ट्रसंघीय अनुसन्धानमा अवरोध पु-याएको र रोहिङग्याबारे गलत विवरण फैलाएको भनी आरोप लगाएको छ ।

लामो समयदेखि जातीय सफाया गरेको भन्ने आरोपको म्यान्मारले लामो समयदेखि अस्वीकार गर्दै आएको छ ।

म्यानमारले आइसीसीको अभियोक्ताको अनुसन्धानका लागि भएको अनुरोधमा भने आलोचित हुनबाट आफूलाई बचाएको छ ।

अगस्टमा सरकारले अनुसन्धानलाई ‘आधारहीन’ भनी यसलाई खारेज गर्नुपर्ने बताएको थियो । म्यानमार सरकारले रोहिङग््याबारे अनुसन्धानका लागि आफ्नै स्वतन्त्र आयोग गठनगरेको जनाएको छ ।

घरविहीन रोहिङग्या शरणार्थीमाथि म्यान्मारभित्र निकै कम सहानुभूति राखिने गर्छ र यसकै कारण म्यानमारका सैनिक प्रमुख मिन अङ लाइङले रोहिङग््या इतर स्थानीय बहुसङ्ख्यक सर्बसाधारणबाट समर्थन लिन सफल छन् । केहीले त रोहिङग््या विरुद्धको कारबाही विद्रोही लडाकूसँगको राज्यको प्रतिकारका रूपमा पनि प्रस्तुत गर्ने गर्छन् ।

रासस/एएफपी


प्रकाशित | १३ भाद्र २०७५, बुधबार २१:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *