राजनीतिक र सामाजिक अगुवा

पार्वती बिशुन्खे कर्णाली प्रदेशको दैलेख जिल्लामा जन्मिनुभएको हो । उहाँ सानैदेखि हक्की स्वभावकी हुनुहसन्थ्यो । उहाँले सानैदेखि विभेद देख्नु र भोग्नुभएको थियो । सार्वजनिक धारामा पानी भर्दा गरिएको फरक व्यवहार विभेदसँगको उहाँको पहिलो जम्काभेट थियो । सानैदेखि उहाँमा आफ्नो समुदायलाई जातका कारण फरक व्यवहार गरिएको हेक्का सम्झिन्थ्यो । र, त्यो फरक व्यवहार कुनै जात–विशेषमा जन्मेकै कारण मात्र गरिएको ज्ञान पनि ।
ठाउँ फरक थियो, विभेदको रूपरंग पनि फरक थियो, तर गुदी फरक थिएन । धारामा पछि उनले विभेद भोगेको स्कुलमा हो । छोरीलाई पढाउनुपर्छ भन्ने सोच नहुँदा समयमै स्कुल जान पाउनु भएन । १० वर्षको हुँदा मात्रै उहाँले स्कुल भर्ना हुन पाउनु भयो । पढ्नमा भने निक्कै अगाडि हुनुहुन्थ्यो ।
कक्षा एकमा पढ्दा विभेदका नयाँ रूप देख्नुप¥यो । सबै विधामा अब्बल भए पनि कक्षाको मनिटरमा छानिनुभएन उहाँ । स्कुलमा दिवा–खाजा दिइँदा दलित बालबालिकाले परैबाट कागजमा खाजा थाप्नुपथ्र्यो । एक दिन उहाँले खाजा थाप्ने मनिटर केटालाई छोइदिनुभयो । मनिटरले शिक्षकलाई कुरा लगाएपछि उहाँहरू दुवैलाई अफिस–कोठामा बोलाइयो । अफिसबाहिर आएपछि भने पार्वतीले मनिटरलाई हपारनुभयो । उहाँ सम्झिनुहुन्छ , सानै उमेरको केटामा पनि छुवाछूतको भावना थियो । यति सानैमा विभेदकारी भावना आउनुले हाम्रो समाजले कस्तो खाले सामाजिक शिक्षा र पाठ पढाइरहेको छ भन्ने देखिन्छ ।
उहाँलाई सानै हुँदादेखि विभेद सहन हुन्न भन्ने लाग्थ्यो । बुबा राजनीतिमा भएका कारण पनि उहाँले अन्याय र विभेद शब्द सुन्दै आउनु भएको थियो । घरमा पार्टीको छलफल हुँदा यस्ता विषयले उहाँलाई तान्थ्यो । त्यसैले उहानी स्कुलमा हुने वादविवाद र वक्तृत्वकलाजस्ता प्रतियोगितामा जातीय विभेद, छुवाछूत, अन्तरजातीय सम्बन्ध आदिलाई विषय बनाउनुपर्ने माग राख्नुहुन्थ्यो ।
पढाइमा अब्बल पार्वतीले छात्रवृत्तिको अवसर पाउनुभयो । २०५८ सालमा एसएलसी पास गरेपछि दलित बालबालिकालाई पढाउन सहजकर्ताको काम गर्न थाल्नुभयो । उहाँले सामाजिक न्यायको क्षेत्रमा हात हाल्दै अघि बढन थाल्नुभयो ।
आफै दलित समुदायको सदस्य भएका कारण पनि उहाँमा दलितउपर हुँदै आएको जन्मको आधारको छुवाछूतको होस या बहिस्करण र बञ्चितिकरणबारे , अत्याचार र असहिष्णुताबारे गहिरो असर र ज्ञान हासिल गर्ने मौका मिल्यौं । विभेद र असमानता अन्त्यका लागि उहाँले निरन्तर आवाज उठाउँदै आउन भएको छ ।
दलित सेवा सङ्घको जिल्ला सदस्य, दलित जनवकालत सञ्जालको जिल्ला सदस्य, नेपाल उत्पीडित जातीय मुक्ति समाजको केन्द्रीय सदस्य भएर दलित आन्दोलनमा निरन्तर लागिपर्नुभएको छ । उहाँले २०६२ सालमा आफ्नै अध्यक्षतामा दलित जागरण केन्द्र स्थापना समेत गर्नुभएको थियो ।
उहाँ झन्डै एक दशकदेखि दलित महिला सङ्घको अध्यक्ष भएर दलितका सवालमा मात्र होइन, अन्य सवालमा पनि सक्रिय हुनुहुन्छ । विशेष गरी उहाँले दोहोरो शोषण र दमनमा परेका महिलाको लैङ्गिक समता र समानताको मुद्दामा काम गर्नुभएको छ । त्यसमा पनि दलित महिलाका सवालमा आवाज उठाउँदै आउनुभएको छ ।
त्यस्तै पार्वती बिशुन्ख महिला मानव अधिकारकर्मी, बाल अधिकारकर्मी भएर पनि सक्रिय रूपमा समेत चिनिनुहुन्छ । उहाँले द्वन्द्वको बेला कर्णाली क्षेत्रमा मनोवैज्ञानिक परामर्शदेखि शान्ति स्थापनासमेत काम गर्नुभयो । आमसंचारको माध्यमबाट पनि उत्पीडित समुदायको अधिकारका लागि लागि पर्नुभयो ।
२०६८ सालको जनगणनाअनुसार दैलेखमा २४ प्रतिशत दलित समुदाय छन् । उनीहरूमाथि जातमा आधारित शोषण, दमन र अत्याचार व्यापक छ । दलित महिला र अरु समुदायका महिलामाथि शोषण, दमन र अत्याचारसँगै लैंगिक विभेद व्याप्त छ । छाउपडी चलनले कयौं महिलाको ज्यान जाने क्रम जारी छ । राज्यका अंगमा दलित र महिलाको पहुँच नगन्य छ । सत्ता–शक्तिमा प्रभुत्व भएका माथिल्लो जातका भनिनेहरूको मनस्थितिमा परिवर्तन आएको छैन । यस्तो पृष्ठभूमिमा पार्वती भने उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिनुभएको छ ।
चरम जातीय अत्याचारको घटना हो दैलेखका ५४ वर्षीय सेते दमाईको हत्या प्रकरण । २०६८ सालमा सेते दमाईका छोराले अन्तरजातीय विवाह गर्दा उनको हत्या गरिएको थियो । उक्त हत्याको विरोध गर्न र पीडितलाई न्याय दिलाउन संघर्ष समिति गठन गरिएको थियो । त्यस संघर्ष समितिको सक्रिय सदस्यका रूपमा पार्वतीको महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सेते दमाई सहिद संघर्ष समितिले जिल्लामा गरेको आन्दोलनलाई केन्द्र स्तरमा दलित राजनीतिक संघर्ष समितिसम्म जोडदार रूपमा उठाएर सघाएको थियो । त्यसकै परिणामस्वरूप गठित अनुगमन समितिको अध्ययन प्रतिवेदनको आधारमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई सजाय सुनाएको थियो । तिनै संघर्ष र सजाय राष्ट्रिय स्तरमै दलित आन्दोलनको सशक्त उदाहरणका रूपमा स्थापित भएको छ ।
त्यस्तै, पार्वतीकै अगुवाइमा दैलेखकै एक दलित महिलामाथि भएको यौनशोषणबाट जन्मेका छोरालाई नागरिकता दिलाइएको थियो । उहाँले सशस्त्र द्वन्द्वको समयमा द्वन्द्वपीडितका लागि मनोविमर्श सेवा र ससाना भौतिक विकासका लागि सहजीकरण गर्नुभएको थियो ।। त्यस्तै, विस्थापित परिवारलाई पुनःस्थापनामा पनि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
उहाँले दलित समुदाय र दलित महिलाका लागि शिक्षामा पहुँचका लागि अभियान पनि चलाउनुभएको थियो । यसले गर्दा साक्षर र शिक्षित दलित महिलाको संख्या बढेको छ । जिल्लामा मानव अधिकार, महिला संजाल, खाद्य अधिकारसँगै नेतृत्व विकासमा पनि उहाँको योगदान छ । उहाँले विभिन्न समयमा विभिन्न पुरस्कार समेत प्राप्त गर्नुभएको छ ।
राजनीतिक कामसँगै सामाजिक न्यायका क्षेत्रमा पार्वतीको अनुभव लामै रहेको छ । आफ्नो दृढ अठोट र नेतृत्वकारी क्षमताका कारण उहाँ प्रतिनिधिसभा सदस्य समेत हुनुभएको छ । उहाँ एक दलित महिला राजनीतिकर्मीको रूपमा मात्रै होइन, सामाजिक न्यायको क्षेत्रमा नेतृत्वकारी महिलाको रूपमा पनि स्थापित हुनुहुन्छ ।


प्रकाशित | ३० श्रावण २०७५, बुधबार ०१:१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *