चौबिस वर्षमै सिन्दुर पुछिएकी देवी नेपालीको कथा

बाबुआमाको खुशीका लागि १६ वर्षको कलिलो उमेरमा डोली चढेकी साविकको रामपुर गाउपालिका –२ दाङकी देवी नेपालीको २४ वर्षको उमेरमा सिउँदो पुछियो ।

आम मानिसमा जस्तै जिन्दगी रंगीन बनाउने सपना उनमा पनि थिए । तर छोरी भएकै कारण देवीले आफ्ना लागिभन्दा पनि परिवारको खुशीका लागि समर्पित हुनुपथ्र्यो । अभाव र गरिबीका कारण पढाइ ४ कक्षामै रोकियो । जिन्दगी नितान्त आफ्नो थियो तर देवी सधैँ अरुकै लागि बाँचिरहनु प¥यो । जबर्जस्ती डोली चढेकी देवीको जबर्जस्ती सिउँदो पुछियो । उनले परिवारको खुशीका लागि सधैँ आफ्ना खुशी सुम्पँदै जानुपरेको बताउछिन् ।

विसं २०५८ मा १६ वर्षीया देवी नेपालीको तुलसीपुर नगरपालिका–९ बेलुवा दाङका २३ वर्षीय चित्रबहादुर बस्यालसँग मागी विवाह भएको थियो । विवाहपछि जिन्दगीका सुन्दर सपना बोकेर नवविवाहित जोडी छाला जुत्ताको पसल सञ्चालन गर्न रोल्पा आएको थियो ।

रोल्पामा छाला जुत्ताको व्यवसाय सन्तोषजनक रुपमा सञ्चालन भयो । देवीले घरधन्दा गर्थिन । श्रीमान् पसल सञ्चालन गर्थे । पसलबाट राम्रै तरिकाले दैनिकी चलिरहेका बेला देवीको जीवनमा अकस्मात् ठूलो बज्रपात भयो । आफन्त भेट्न दाङ गएका बस्यालको मोटरसाइकल दुर्घटनामा परी निधन भयो ।

श्रीमानको निधनको खबरले देवीलाई मर्माहत मात्र बनाएन उनमा जिम्मेवारी पनि थपियो । यतिबेला देवी दुई सन्तानकी आमा बनिसकेकी थिइन । श्रीमानको निधन हुँदा देवीको नत आर्थिक अवस्था सवल थियो न हातमा कुनै किसिमको सीप थियो ।  श्रीमानको काजकिरिया सकेर देवी आफन्तको साथमा पुनः रोल्पा फर्किन ।

शुरुशुरुका दिनमा देवीका दिन निकै कष्टकर बने । काखका सन्तानले बाबा खै भनेर प्रश्न गर्दा धेरैपटक उनी भक्कानिन्थिइन  । तर यसरी सधैँ रोएर बिलौना गरेर आफूलाई कमजोर बनाउनुभन्दा बरु केही गर्छु भन्ने धारणाको विकास भएपछि उनले श्रीमानले गर्दै आएको कामलाई निरन्तरता दिन थालिन ।

यसले विस्तारै उनको जीवनस्तरमा पनि सकारात्मक परिवर्तन हुन थाल्यो ।   श्रीमानको निधन भएको करिब एक महिना पछि  साढे दुई लाखको तमसुकसहित साहु उनीकहाँ आए । करिब एक वर्षको अवधिमा उनले श्रीमानले लगाएको ऋण पनि चुक्ता गरिन ।

“शुरुशुरुमा धेरै रोएँ केही जान्दैनथेँ, कसैसँग बोल्न पनि आउँदैनथ्यो । जुत्ता तथा पसलमा भएका अन्य सामग्रीको मूल्य पनि थाहा थिएन । तर केही गर्छु भन्ने हिम्मत आएपछि सबै सहज बन्दै गयो” उनले भनिन ।

सानो लगानीबाट सुरु भएको उनको व्यवसायले हाल मध्यम रुप लिइसकेको छ ।  हाल उनका दुवै छोरा सदरमुकामकै विद्यालयमा कक्षा ४ र कक्षा १ मा अध्ययनरत छन् । सम्पूर्ण घरखर्च कटाएर मासिक रु २०÷२२ हजार बचत हुँदै आएको उनी बताउँछिन् । यही रकमबाट उनले  कोहलपुरमा एउटा घडेरीसमेत जोडिसकेकी छिन् ।

“आफूलाई नीला ड्रेस लगाएर झोला बोकेर विद्यालय जाने रहर थियो पूरा हुन सकेन, अब यिनै छोरालाई पढाएर आफ्नो रहर पूरा गर्छु” उनले भनिन् । सधैँ परनिर्भर बन्दै आएकी देवीलाई आफैँले कमाएर खर्च गर्न पाउँदाको मज्जा बेल्दै लाग्न थालेको छ । “समाजमा धेरै दिदीबहिनी आँशुमै डुबेर बाँचिरहनुभएको छ । उहाँहरुलाई पनि जीवनमा केही गरेर आत्मनिर्भर बन्न सल्लाह दिन्छु” देवीले भनिन ।

उनको संघर्षको कदर गर्दै  महिला तथा बालबालिका कार्यालय, रोल्पाले महिला दिवसका अवसरमा विहिबार  देवीलाई रु पाँच हजार नगद प्रमाणपत्र र दोसल्लासहित सम्मान गर्दैछ ।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले देवीको प्रशंसनीय कामको खु्ल्ला हृदयले प्रशंसा गरे  । उनका अनुसार जिल्लामा देवीजस्ता अरुकै खुशीमा रमाउनु पर्ने बाध्यता बोकेका महिलाको संख्या ठूलो छ । विभिन्न कारण तथा विभिन्न बाध्यतामा महिला आत्मनिर्भर बन्न सकिरहेका छैनन् ।


प्रकाशित | ११ असार २०७५, सोमबार ११:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *