दलित समुदायको गुमनाम सांस्कृतिक सम्पदा

डिवी नेपाली

कला र संस्कृती सम्वन्धी विगतमा गरिएका अध्ययन
सीमान्तकृत दलित समुदायको ऐतिहासिक राजनीतिक, आर्थिक, सामाजिक अध्ययन हुँदै आएता पनि साँस्कृतिक पक्षका विषयमो हालसम्म विस्तृत अध्ययन–अनुसन्धान हुनसकेको छैन । राज्यले पुरातन हिन्दूवादी तहगत जातीय वर्णव्यवस्थालाई वैधानिक दिने काम मात्रै गरेको छ । दलित समुदायहरुको परम्परागत मानवीय पुख्र्यौली पूँजीका रुपमा रहेको ज्ञान, सीप, कला, कौशल, प्रविधि र मौलिक सँस्कृति पनि राज्यको सम्पदा हुनसक्छन् भनेर गहन अध्ययन अनुसन्धान हुनैसकेको छैन । भएका केही अध्ययन–अनुसन्धान समेत विदेशी विद्धानहरुबाट गरिएको हुँदा तिनीहरु अंग्रेजी भाषामा छन् । र, भाषाको समस्याले ती सर्वसाधरणका पहुँचभन्दा बाहिर छन् ।

केही अध्ययनहरुलाई हेर्दा जर्मनीका विद्धान अन्ड्रस होफरले सन् १९७९ मा प्रकाशन गरेको नेपालमा जातीय श्रृंखला र राज्य (Caste  Hierarchy and State in Nepal) नामक पुस्तकमा नेपालको जातीय विभाजनलाई राज्यले दिएको कानूनी मान्यताबारे विस्तृत रुपमा व्याख्या गरेका छन् । त्यसैगरी, अमेरिकाका ग्रेगरी मास्का रिनेकले नेपालका धामी झाँक्रीहरुको अध्ययन गर्ने क्रममा कामी जातिका धामी झाँक्रीहरुको बढी अध्ययन गरेका छन् । उनले सन् १९९५ मा प्रकाशन गरेको पुस्तक रातको शासन (Rulling of the Night) मा बढी कामी जातिको धामी झाँक्रीको चर्चा गरिएको छ । बेलायती अनुसन्धान टोलीमा संलग्न ब्लार्की क्यामरेन र सेडानले नेपालको राजमार्गको अध्ययन गरी सन् १९७९ मा नेपालमा किसान मजदूर (Caste  Hierarchy and State in Nepal) नामक पुस्तक प्रकाशन गरी भारतीय औद्योगिक पूँजीवादको विस्तारले नेपालका कालीगढ सीमान्तकृत समुदाय (दलित) को परम्परागत कला सँस्कृति तथा पेशामा परेको नकारात्मक प्रभाव बारे विश्लेषण गरिएको छ । त्यसमा पनि विशेषगरी छालाको काम गर्ने सार्की जातिलाई बढी नकारात्मक असर पुर्याएको कुरा उल्लेख छ । पञ्चैबाजा र नौमतीबाजा बादक दमाई जातिबारे सर्वप्रथम प्रकाश पार्ने श्रेय फ्रेन्च सङ्गीतशास्त्री मेरियम् हेल्फरलाई जान्छ । उनले यो जातिबारे गहिरो अध्ययन गरेकी छन् । सन् १९६९ मा पेरिसबाट उनले दमाई जातिबारे एक लेख फ्रेन्च भाषामा प्रकाशित गरेकी थिइन् । मेरियम् हेल्फरले सन् १९६५÷६६ मा गन्धर्व जाति र डोटी र बैतडी जिल्लाका हुडके (दमाई) जातिको बारेमा अध्ययन गर्नुभएको थियो । त्यसैगरी जर्मन सङ्गीतशास्त्री फेलिक्स होर्बगरले सन् १९७५ मा जर्मन भाषामा नेपालको सङ्गीतबारे एउटा पुस्तक प्रकाशित गरेका थिए । उक्त पुस्तकमा धेरै अध्याय दमाई जातिको पञ्चैबाजा र नौमतीबाजामा रहेको थियो । पछिल्लो खोज–अनुसन्धानका क्रममा सन् १९९० मा बेलायती सङ्गीतशास्त्री डा. क्यारोल टिङगीले दमाई सङ्गीतबारे गहन अध्ययन गरी प्रज्ञा प्रतिष्ठान र बेलायतको क्इब्क् बाट सन् १९९४ मा अर्को पुस्तक प्रकाशन गरेकी थिइन । अंग्रेजी भाषामा लेखिएका यी दुई ग्रन्थले पञ्चैबाजा र नौमतीबाजा बारे र तिनका वादकहरुको सामाजिक, राजनीतिक र आर्थिक अवस्था बारे राम्ररी चित्रण गरेकी छन् । डा. क्यारोल टिंगीले विश्वसङ्गीतमा पञ्चैबाजा र नौमतीबाजालाई परिचित गराउनेक्रममा ती ग्रन्थ प्रकाशमा ल्याएकी थिइन् । खासगरी, २०४६ सालको राजनीतिक परिवर्तनपछि दलित तथा जनजाति बारे थुप्रै लेख रचना प्रकाशित भएको छ । तर, दलितका बारेमा प्रकाशित लेख, रचना प्रायः जातीय विभेदमा आधारित नै बढी प्रकाशन गरिएको छ । यी लेखहरुले सीमान्तकृत दलित समुदायको मौलिक कला सँस्कृतिको बारेमा अझै पनि प्रकाश पार्न सकेको छैन् ।
नेपाली अध्येताहरुले केही नगण्य अध्ययन गरेका छन् । नेपालका स्वं. प्रा.जयराज पन्त, डा.राजाराम सुवेदी, सँस्कृतिविद्द्वय सत्यमोहन जोशी, स्वं. रामशरण दर्नाल, वासुदेव भाइसाव, डा. मोतीलाल पराजुलीलगायतले उत्पीडित दलित समुदायको मौलिक कला र सँस्कृतिको बारेमा केही खोज, अध्ययन तथा अनुसन्धान गर्नुभएको छ ।
दलित समुदायसम्बन्धी केही रोचक प्रसंगहरुः
सहलेश राजा किरातीहरुका पनि पुज्य थिए । शिवले चेलाको रुपमा गन्र्धवलाई सारंगी दिएका थिए । उपत्यकाका नेवारले समेत विश्वकर्मालाई पुजा गर्दथे । शंखधर साख्वालाई केहीले शृ्द्र त्यो पनि विश्वकर्मा भनी उल्लेख गरेको पाईन्छ । सुदूपरश्चिम नेपालको चर्चित गौरापर्व पहिला कामी जातिहरुकै थियो । श्री ३ चन्द्रशम्शेरका पालामा भारतमा विश्वकर्माका आदिपुरुष देवताका वास्तुविशारद विश्वकर्मा हुन् भनिन्छ । यसै कुरालाई मिलाएर “जांगिलोत्पति” पुस्तक प्रकाशन गरियो । विश्वकर्माका सन्ततीलाई सामृ्हिकरुपमॉ “जांगिलोत्पति” पनि भनिन्छ, जसको अर्थ हो ‘ योगशास्त्रका ज्ञाता’ । हुम्लाको सिञ्जामा चौथीको दिन सुमाल गाँउमा कामीहरुले पुजा गर्छन् । पाशुपातशास्त्रमा समेत शिवले विश्वकर्मालाई शक्ति प्रदान गरिएको थियो भनिन्छ । डोटी जिल्लाको उदम्वरपुरी (डुम्राकोट) दमाई र कालीकोट, कामी, बझाङ्को भृ्लकोट र कास्कीको साराङ्कोट (साराङ् देवल) सार्की, जाजरकोटको दमाहा चौरमा दमाई, कर्णालीमा दलितहरुको कोटको रुपमा राज्य भएको विभिन्न ऐतिहासिक सन्दर्भहरुको गर्भभित्र उल्लेख गरिएको पाईन्छ । दमाईहरुले विकट गाँउमा सृ्चना आदन—प्रदान गरी अर्थात, खुट् हानेको लयमा एकअर्कालाई के भनेको हो सृ्चना दिन्छन् र, जसलाई खुटहान्नु भनिन्छ । विश्व थर्काउने गोर्खाली खुकुरीका नामले चर्चित नेपाली खुकुरीको इतिहास लगभग ७ औ शताब्दिभन्दा अघि लिच्छवी शासनदेखि भएको मानिन्छ । यी तथ्यहरुले सीमान्तकृत दलित समुदाय नेपालकै मुलवासी भएको पुष्टि भएको छ । सो कुरालाई डा. केशवमान शाक्यले “नेपालमा खसजाति र बुद्धधर्म“ लेखमा उल्लेख गर्नुभएको छ ।

सीमान्तकृत दलित समुदायको गुमनाम सांस्कृतिक सम्पदाः
संयुक्त राष्ट्रसंघको महासभाद्धारा सन् १९६६ डिसेम्बर १६ मा जारी आर्थिक, सामाजिक, तथा साँस्कृतिक अधिकार सम्बन्धि अनुबन्ध सन् १९७६ जनवरी ३ देखि लागू भएको र नेपाल सरकारले सन् १४ मे १९९१ मा अनुमोदन गरी पक्ष राष्ट्र भएको हो । नेपालको संविधान २०७२ को धारा ४० को उपधारा ४, मा व्यवस्था गरिएको दलित समुदायको जीविकोपार्जन तथा साँस्कृतिक अधिकार सम्बन्धि संवैधानिक व्यवस्थाले दलित समुदायको परम्परागत पेशा, ज्ञान सीप र प्रविधिको प्रयोगका साथै त्यसलाई आधुनिक व्यवसायमा आवश्यक पर्ने सीप र श्रोत उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ । यूनेस्कोले अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण विषयलाई अझ बढी विस्तृतीकरण गर्ने । नयाँ स्ट्याण्डर्ड निर्माण गर्ने कुरामा सेप्टेम्बर २००२ र जुन २००३ मा पक्ष राष्ट्रहरुबीचमा सहमती जुटाई अमूर्त साँस्कृतिक सम्पदा सम्बन्धि महासन्धि (मूर्त, अमूर्त र अभिलेखात्मक साँस्कृतिक सम्पदा) सन् २००३ घोषण गर्यो । नेपाल सरकारले यो महासन्धिलाई सन् २०१० मा अनुमोदन गरिसकेको छ । युनेस्कोले गरेको परिभाषा अनुसार सीमान्तकृत दलित समुदाय १)मृ्र्त (भौतिक) साँस्कृतिक सम्पदा  ( Tangible cultural heritage) अमृ्र्त (अभौतिक) साँस्कृतिक सम्पदा (Intangible cultural heritage) अभिलेखात्मक साँस्कृतिक सम्पदा (documentary cultural heritage) मालिक हुन् । जस्तो की, सीप, कला , प्रविधिका सर्जक आम दलित समुदाय मृ्र्त साँस्कृतिक सम्पदाका सुत्रधार, सृर्जनाकार र सर्जक हुन् । अमृ्र्त (अभौतिक) साँस्कृतिक सम्पदालाई बौद्धिक सम्पदा पनि भन्ने गरेको पाईन्छ । लोक सँस्कृति, अभिनय कलाहरु, संस्कार, जात्रा, परम्परा, पर्व, नृत्य, मेला पर्वहरु आदिलाई समग्रमा अमृत साँस्कृतिक सम्पदा भनिन्छ । दलित समुदायको गीत–सङ्गीत, नृत्य लगायत सम्पृ्र्ण सङ्गीतशास्त्र अभौतिक साँस्कृतिक सम्पदा अन्र्तगत पर्दछन् । अभिलेखात्मक सम्पदालाई memory of the world)   पनि भनिन्छ । यस अन्र्तगत हस्तलिखित ग्रन्थ, वंशावली लगायत सबै प्रकारका अभिलेखात्मक सामग्रीहरु पर्दछन् । हामी सबै जाति र समुदायहरुको आ–आफ्नै इतिहास र सँस्कृति रहिआएको छ । हामीसँग वर्तमान अवस्थासम्म अस्तित्वमा रहेका सीमान्तकृत दलित समुदायका केही मौलिक साँस्कृतिक सम्पदाहरु यसप्रकार रहेका छन् ।

दलित समुदायको लोपोन्मुख नाच साँस्कृतिक सम्पदाहरुः
क्रं.सं. जाति नाच जिल्ला कैफियत
१ मुसहर नेटुवा (नाच) बारा लोपोन्मुख
२ कामी कामी (ढालतलवार) नाच जुम्लाको सिंञ्जा÷हुम्लाको गल्पादरा लोपोन्मुख
३ कामी लाठी, सारंगी, मारुनी खुकुरी, सरायँखेल, नाच सल्यान, दाङ्ग र अन्य जिल्लाहरु लोपोन्मुख
४ बादी कथननाच, झुर्मा नाच, थालीनाच कैलाली र कञ्चनपुर
५ दुसाध (पासी र पासवान) कल्ली, घोडी नाच बाँके र बर्दिया लोपोन्मुख
६ सार्की सारङ्गे नाच जाजरकोट उखानः सार्कीको सारङ्गेमा मरौला ।

८ डोम हुड्का र नरसिंहा नाच
पूर्वी तथा मध्य तराई लोपोन्मुख
९ गन्धर्व जैलपत्ता नाच कास्की, पोखरा श्रीपञ्चमीलगायत खासअवसरमा नाच्ने गरिन्छ ।
१० दमाई भुवा, रनपुतला, किरिप, चाँचडी, चोपाउँदाको नाच सुदूरपश्चिम लोपोन्मुख
११ दमाई ढोलीनाच, थालीनाच हुम्लाको गल्पादरा
५ नं. प्रदेश लोपोन्मुख
१२ दमाई पञ्चैबाजा सहितको झ्याउरे÷बेठी नाच, दमाहा लोकनाच, दमाई लोकनाच देशको विभिन्न भाग लोपोन्मुख
१३ चमार डफबसुली नाच मिथिलाक्षेञ÷जनकपुर लोपोन्मुख

१४ कामी सरायँखेल नाच पाल्पा जिल्लाको जोगीपानी लोपोन्मुख
१५
दमाई पाटानाच, हुड्के, छलिया, वसन्त, भृ्इँचम्पा, धुलौट, भडा नाच, हिलेनाच
मध्यपश्चिम ÷सुदूरपश्चिम लोपोन्मुख
१६ बादी टेम्कूली नाच राप्ती र भेरी

१७ दुसाध¬(पासवान) राजा सहलेश नाच तराईका सबै जिल्ला
१८ मुसहर दिना÷राम भद्रीनाच (दाजुभाई) तराईका सबै जिल्ला
१९ चमार कारिक महाराज नाच तराईका सबै जिल्ला लोपोन्मुख
२० चमार पखाउँज नाच पश्चिम तराईका जिल्ला लोपोन्मुख
२१ खत्वे सोसिया महाराज नाच तराईका सबै जिल्ला लोपोन्मुख

निष्कर्षः
नेपालका विभिन्न जातिको मौलिक सँस्कार र सँस्कृति रहे जस्तै २६ वटा उत्पीडित दलित समुदायको समेत आफ्नै मौलिक कला, सँस्कृति रहेका छन् । एक अध्ययनका अनुसार नेवारपछि सबैभन्दा बढी बाजागाजा भएको जाति दमाईलाई नै उल्लेख गरिएको छ । गन्धर्व, वादी, सार्की, डोम, मुसहर, चमार आदि समुदायको साँँस्कृतिक सम्पदाको अथाहा भण्डार नै रहेको छ । तर, राज्यले पहिचान दिनसकेको छैन् । ती सँस्कृतिहरु अहिले लोपोन्मुख अवस्थामा रहेका छन् । थुप्रै लोप पनि भैसकेका छन् । यदि राज्यले दलितहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरु प्रति व्यवहारमै क्रियाशिल र प्रतिवद्धतासहित संरक्षण नगर्ने हो भने विदेशी दाताहरुको सहयोगमा मात्र यो कार्य त्यति सम्भव हुँदैन् । राज्यले नै यसको संरक्षण, विकास र प्रवद्र्धनको लागि पहलकद्मी लिन जरुरी छ । तसर्थ, सर्वप्रथम दलित समुदायको लोपोन्मुख साँस्कृतिक सम्पदाहरुको वस्तुस्थितिको आंकलन गर्न देशव्यापी रुपमा प्रथम आधारभूत सर्वेक्षण र अनुसन्धान तत्कालै शुरुवात् गरिनुपर्दछ । विगत सात दशक देखि दलित समुदायको सिंगो पुस्ता नै चार वटा मुद्धामा लड्दा लड्दै सकियो । पहलिो, जातीय भेद्भाव, दोस्रो, मन्दिर प्रवेश, तेस्रो, अन्र्तजातीय विवाह र चौथो हो, सहभोज ! अझै केहि दशक, केहि पुस्ता पनि यहि विषयमा रुमलिएर सकिने निश्चित छ ।

हाम्रो सीपको पहिचान त सिद्धिनै सक्यो । बाँकी रहेको हाम्रो साँस्कृतिक पहिचान पनि हाम्रो गैरजिम्मेवार र वेवास्ताका कारणले लोप हुने अवस्थामा रहेको छ । यसमा हामीले वेलैमा सोचेनौ भने हाम्रै अघि इतिहास बन्ने पक्का छ । विभेदकारी राज्यसत्ताको अपमान, युवा विदेश पलायन र हाम्रै वेवास्ताका कारणले यो समुदायको लोकबाजा, लोकसँस्कृतिमाथि दिनमा दुई गुणा र रातमा चौगुणाका दरले लोप एवं हस्तछेप भैरहेको छ । कुनैपनि जातिको जातीय अस्तित्वको आधार भाषा तथा सीप, कला, सँस्कृति हो भन्ने तथ्यलाई बुझेनौ । मानवको जन्मेदेखि मृत्युसम्मको संस्कार र शैली नै सँस्कृति हो भन्ने तथ्यलाई बिर्सियौ । सँस्कृति र पहिचानविनाको मान्छे नै हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई चुनौती दियौ । मुख्य कुरा विगत ३५ सय वर्ष देखि मनुवादी दर्शनमा आधारित विभेदले हामीलाई पुरै निर्जिवीकरणको भट्टीमा खरानी बनाएको छ । यहाँसम्मकी हामीलाई जन्मदेखि मृत्युसम्मै स्वतन्त्र मानव अस्तित्वविहिन बनाईयो । परिणामस्वरुप हाम्रो मौलिक अमूर्त साँस्कृतिक सम्पदाहरु लोप भईसकेका छन् । अव लोप भइसकेकालाई खोजी पुँजीकृत गर्ने र हामीसंग रहेकालाई संरक्षण एवं प्रवद्र्धन गर्नेतर्फ हामी उन्मुख हुन जरुरी छ । त्यही नै हाम्रो भविश्य हो, भावी पुस्ताको पुँजी हो ।

सन्दर्भ सामग्री :
१) नेपालमा जातीय छुवाछुत, प्रकाशकः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) २०५२)
२) नेपाली बाजा, रामशरण दर्नाल, रत्न पुस्तक भण्डार : काठमाण्डौ, २०६१
३) हाम्रो समाज एक अध्ययन, जनकलाल शर्मा, साझा प्रकाशन, तेस्रो संस्करण, २०५८
४) प्रज्ञा, अंक ९३
५) समकालिन साहित्य, अंक ६७, २०६८
६) नेपालका प्रचलित नृत्य र नृत्यनाटिकाहरु— डा. मोतीलाल पराजुली, साझा प्रकाशन,२०६३
७) दलित लेखन प्रवृति, समता समिक्षा सन् २०१२
८) कर्णाली लोकसँस्कृति, भाग–५, प्रदिप रिमाल, साझा प्रकाशन, दोस्रो संस्करण, २०५३
९) डोटी प्रदेशको लोकवाङमय कोश, वासुदेव भाइसाव, साझा प्रकाशन,२०६५
१०) चितवन डटकम
११) नेपालको संविधान, २०७२
१०) यृ्नेस्को बुलेटिन–वर्ष ३८, अङ्क १
११) लिच्छवीसम्वतको निर्णय—५१२
१२) आधुनिक नेपालको सामाजिक इतिहास, डा. प्रेम कुमार खत्री, डा. पेशल दाहाल, साझा प्रकाशन, २०५३
१३) किराँत मगर इतिहास, नरबहादुर नरुथापा, निरन्तर प्रकाशन बागबजार काठमाडौ, २०६७
१४) रात्रिका निर्देश, अक्सफोर्ड इन्ट।नेसनल पब्लिकेशन प्रा.लि, २०६९
१५) राष्ट्रिय सँस्कृति नीति, २०६७, नेपाल सरकार, सँस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, सिंहदरबार
भेटवार्ता तथा सूचना :
१) पूर्वसांसद् खड्ग बस्याल
२) पूर्वसांसद पुरनसिंह दयाल
३) शंकर रामदाम,
४) हिरा विश्वकर्मा,
५) रणेन्द्र बराईली
६) पूर्वसांसद शम्भुहजारा पासवान
७) मिना स्वर्णकार,
८) मोतीलाल नेपाली
९) पूर्ण बहादुर गान्धारी
१०) रमा वादी
११) प्यारु आऊजी
१२) गोपी दमाई
१३) राम प्रसाद कँडेल
१४) राष्ट्रिय सभाका सांसद् रामलखन हरिजन
१५) शत्रुधन पासवान
१६) पूर्व सांसद, रामप्रित पासवान

 

सिमान्तकृत समुदायको लोपोन्मुख अमूर्त साँस्कृतिक सम्पदको बाँकी भाग


प्रकाशित | १६ श्रावण २०७५, बुधबार २१:०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *