किन हुँदैन हिंसाको प्रतिरोध ?

मरेर सहिद हुनेहरू जिएर त हेर जिउन झन् गाह्रो छ । – भूपी शेरचन

नेपाली समाजमा बाँच्न कति गाह्रो छ, आत्महत्या गर्ने र गर्न खोज्नेहरूलाई जति अरू कसलाई थाहा होला ? मानवको जस्तो सार्थक जीवन जिउन कति दुस्ख, पीडा र अपमान झेल्नुपर्छ, पलपल मृत्यु बाँचिरहेका ‘अछूत’हरूले जति अरू कसले ब्यहोरेको होला ?

मानवीय जीवन बाँच्न कति प्रतिरोध र संघर्ष गर्नुपर्छ, आत्महत्या गर्न विवश पार्ने सामाजिक वातावरण विरुद्ध लडाइँ गरिरहेकाहरूलाई भन्दा अरूलाई कहाँ थाहा होला ?

मेडिकल माफिया विरुद्ध संघर्षरत डा. गोविन्द केसी र जातीय माफिया विरुद्ध लडेका बर्दिबास, महोत्तरीकी बुद्धमाया विश्वकर्माले व्यहोरेको ‘आत्महन्ता’ जीवन पढेपछि अनेक प्रश्न उठेका छन् । दुवैको जीवन–संघर्षको मिलनविन्दु हो– ‘आत्महन्ता’ । एकको उद्देश्य आफूलाई समाप्त पार्दै पर–हित गर्नु, अर्कोको नियत आफ्नो ज्यान लिई स्व–अहित गर्नु । केसीको लडाइँ आत्महत्या गर्न विवश पार्ने सामाजिक वातावरण विरुद्ध केन्द्रित छ भने बुद्धमाया विश्वकर्माको प्रयास त्यस्ता सामाजिक वातावरणले उत्पादन गरेको नियन्त्रणतिर आत्मसमर्पण जस्तो ।

फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खाइमका अनुसार आत्महत्या झट्ट देखिँदा कुनै व्यक्तिको निजी प्रयासजस्तो देखिन्छ, तर यो सामाजिक क्रिया हो । यसका जरा परिवार, समाज, देश–विदेश फैलिएका हुन्छन्, तिनकै परिणामस्वरूप आत्महत्या व्यक्तिबाट लागू हुनेमात्रै हो । आत्महत्या अहंकारपूर्ण, परहितवादी, मर्यादारहित र निराशाजनक र नियतिवादी आत्महत्याका रूपमा अभिव्यक्त हुन्छ ।

पर–हित र स्व–अहित
केसीले आशापूर्ण भविष्यका सुन्दर उद्देश्यका लागि आत्महन्ताको मार्ग अँगाले, जुन प्रतिरोधको हिस्सा हो । योगमाया न्यौपानेले १९९८ सालमा प्रयोग गरेको सामूहिक आत्महत्या भन्दा यो प्रतिरोध प्रभावशाली छ । बुद्धमाया विश्वकर्माले रोजेको बाटो भने नियतिवादी आत्महत्याको कोसिस सावित भयो । वर्णवादी समाजले बजारमा किनमेलमा नाकाबन्दी गर्नेदेखि सामाजिक जीवनका अन्य आयाममा विभेद र हिंसा लादेपछि झ्यांगिएको निराशाबीच उनले संघर्षको सट्टा विष खाइन् । छुवाछूत, भेदभाव र हिंसात्मक आक्रमणको मुद्दामा अदालतबाट ‘न्याय’ पाएको भोलिपल्ट समेत अन्यायको सिकार भएपछि आत्महत्या गर्न खोजेकी थिइन् ।

त्यसो त आत्महत्याको प्रयासमा पनि प्रतिरोधको विन्दु खोज्न नसकिने होइन, मानवीय जीवन बाँच्न नदिने समाजमा बाँच्न अस्वीकार गरेको व्याख्या गर्न नसकिने पनि होइन । बुद्धमायाको ‘प्रतिरोध’लाई सामाजिक प्रतिरोधसँग जोड्न सकिए सामाजिक रूपान्तरण हुनसक्थ्यो । कुनै सामाजिक प्रतिरोधबिना उनको प्रयास आत्महन्ता भन्दा उन्नत देखिएन ।

किन आफूलाई मानव अधिकारका मसिहा ठान्ने गैसस, मिडिया, नागरिक समाजदेखि दलित संघ–संस्थाले अनेक बुद्धमायालाई मर्न–मार्न उद्यत सामाजिक–सांस्कृतिक मूल्य–मान्यता, आचरण र संरचना–शक्ति विरुद्ध जेहाद छेड्दैनन् ? उनीहरूमा पनि गाई–गोरूलाई भन्दा मान्छेलाई तल राख्ने विभेदकारी प्रथासँगै जातीय हिंसालाई स्वीकार्ने मूल्य–मान्यता र मानसिकता प्रभावशाली रहेको त छैन ?

 

यस्तो मृत्युमुखी जीवन छाएका बेला किन व्यापक प्रतिरोध नभएको भन्ने प्रश्न किन उठ्दैन रु किन हामीले ल्याएको लोकतान्त्रिक गणतन्त्रको मुखुन्डो भिरेको राज्य, यही राज्यमा बनेको दुई तिहाइको ‘वाम’ सरकार, आफूलाई लोकतान्त्रिक समाजवादको पहरेदार सम्झने प्रतिपक्षले यस्ता सामाजिक दुरवस्थालाई राजनीतिक मुद्दा नबनाएका होलान् । किन आफूलाई मानव अधिकारका मसिहा ठान्ने गैसस, मिडिया, नागरिक समाजदेखि दलित संघ–संस्थाले अनेक बुद्धमायालाई मर्न–मार्न उद्यत सामाजिक–सांस्कृतिक मूल्य–मान्यता, आचरण र संरचना–शक्ति विरुद्ध जेहाद छेड्दैनन् रु उनीहरूमा पनि गाई–गोरूलाई भन्दा मान्छेलाई तल राख्ने विभेदकारी प्रथासँगै जातीय हिंसालाई स्वीकार्ने मूल्य–मान्यता र मानसिकता प्रभावशाली रहेको त छैन ?

हिंसात्मक छ वर्णव्यवस्था
हिन्दु समाजको वर्णव्यवस्था, जातप्रथा र पितृसत्ता हिंसात्मक छन्, तहगत श्रेणीको रूपमा विभेदी छन्, तिनका मूल्य–मान्यता र मानसिकता अमानवीय छ । यसैको ज्वलन्त उदाहरण बुद्धमायालाई विष खानुपर्ने वातावरण सिर्जना गर्ने द्विज–सवर्ण पुरुष–महिलाको दृष्टिकोण, संस्कृति, आचरणमा देखिन्छ । उनीहरू ‘सर्व–आहारा’ हुन् या ‘सर्वहारा’, यस्ता उत्पीडनकारी विचार र हिंसात्मक व्यवहारबाट नराम्ररी ग्रसित छन् । उनीहरू आफूलाई प्रजातान्त्रिक समाजवाद वा समृद्धियुक्त समाजवाद, जेजस्तो वादका हिमायती भए पनि प्रेम–विवाह–यौन, भात–पानी, जीवन र मृत्युमा तिनै विचार–व्यवहार अनुशरण गर्छन् ।

जंगबहादुरको मुलुकी ऐनले यस्ता विचार र व्यवहार अनुशरण नगरे सजाय दिने संरचना बसालेको थियो, जसको सिकार द्विज–सवर्ण पनि भए । १६५ वर्षको अभ्यासपछि अधिकांश पुरुष–महिलाले तिनै मूल्य–मान्यताका आधारमा आफूलाई श्रेष्ठ, शुद्ध, पवित्र, उच्च, छूत ठान्दै अरूमाथि हिंसा र उत्पीडन जारी राख्ने अवस्थामा खास फरक भएन । त्यसैले लोकतान्त्रिक गणतन्त्रको विपना र समृद्धियुक्त समाजवादको सपनाको जहाज हिंसा र उत्पीडनको संरचना र संस्कृतिको पहाडमा ठोक्किनु स्वाभाविकै हो ।

कसैलाई श्रेष्ठ, शुद्ध, पवित्र, उच्च, छूत त कसैलाई हीन, अशुद्ध, अपवित्र, नीच र अछूत मान्ने मूल्य–मान्यताले द्विज–सवर्ण इतरका समाजलाई पनि गाँजेकै छ । उनीहरूले पनि तागाधारीसँगै नमासिने मतवाली, मासिने जात, छोइछिटो हाल्नु नपर्ने र हाल्नुपर्ने जातलाई पनि सवर्ण शैली अँगाल्छन् । ब्राजिलका चिन्तक पाउलो फ्रेरेले भनेझैं हिंसा र उत्पीडनको अभ्यासको नेपथ्यमा प्रत्येक उत्पीडित मनुवाको अन्तरमनमा बास बसिरहेको उत्पीडककै देन छ । उत्पीडितहरूले आफ्नो मनमा रहेको उत्पीडकलाई चिन्न सकेनन् भने उनीहरू पनि त्यही चरित्रमा ढालिने हो । उनीहरूका संघर्ष पनि अन्ततस् नयाँ रूपरंगमा हिंसा र उत्पीडनकै पुन:उत्पादनको कारखाना हुने हो ।

कसैलाई श्रेष्ठ, शुद्ध, पवित्र, उच्च, छूत त कसैलाई हीन, अशुद्ध, अपवित्र, नीच र अछूत मान्ने मूल्य–मान्यताले द्विज–सवर्ण इतरका समाजलाई पनि गाँजेकै छ । उनीहरूले पनि तागाधारीसँगै नमासिने मतवाली, मासिने जात, छोइछिटो हाल्नु नपर्ने र हाल्नुपर्ने जातलाई पनि सवर्ण शैली अँगाल्छन् । ब्राजिलका चिन्तक पाउलो फ्रेरेले भनेझैं हिंसा र उत्पीडनको अभ्यासको नेपथ्यमा प्रत्येक उत्पीडित मनुवाको अन्तरमनमा बास बसिरहेको उत्पीडककै देन छ ।

वर्णव्यवस्था, जातभात र पितृसत्ताजस्ता हिंस्रक संरचना र संस्कृति कत्तिका बलिया रहेछन्, राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्रमा जीवनका सबैजसो अंगमा देखिन्छ । जातीय छुवाछूत, विभेद र हिंसात्मक घटनामा प्रहरी प्रशासन मूकदर्शक हुने, जननिर्वाचित संस्था बिचौलिया हुने, अदालत कमभन्दा कम सजाय दिएर पन्छिने, सरकार अछूतपना, विभेद र हिंसाको टुकुचामा समृद्धियुक्त समाजवादको पानीजहाज चलाउने पुडिया बेच्दै हिँड्ने राज्यमा हिंसा र उत्पीडनकै पुन:उत्पादन जारी रहन्छ ।

राज्य, सरकार, प्रशासन, समाज र परिवारमा वर्णव्यवस्था, जातभात र पितृसत्ता विरुद्ध सांस्कृतिक–राजनीतिक–आर्थिक संघर्ष नछेडिएकै कारण सरकारदेखि परिवार चलाउनेहरूको मनमा जातीय हिंस्रक संरचना र संस्कृतिको घरबार छ । हिजो पानी नचल्ने, छोइछिटो हाल्नुपर्ने, छोइछिटो हाल्नु नपर्ने भनिएका उत्पीडित समुदायका महिला र पुरुषको दिलदिमागमा पनि तिनले घर बसाएकै कारण हिंसा र उत्पीडनको समेत बलियो प्रतिरोध भएको छैन ।

उत्पीडितको मनमा उत्पीडक
अदालतबाट न्याय पाइएपछि पनि त्रसित रहेका बुद्धमाया जस्ताका शब्द पढ्दा पाउलो फ्रेरेले उठाएको उत्पीडितको भयभीत मानसिकताले झकझक्याउँछ । उनका अनुसार उत्पीडितहरूलाई स्वतन्त्रताको त्रासले सताउँछ । उनीहरू स्वतन्त्रतालाई अँगालो हाल्न डराउँछन् । त्यस्तो त्रासले दुईतिर लाने खतरा हुन्छ– १) उत्पीडककै भूमिका खेल्ने आकांक्षा पाल्न खोज्ने । २) उत्पीडितकै भूमिकामा टाँसिरहन खोज्ने । हामीले दुवै खतरा झेल्दै आएका छौं ।

जर्मन मनोविश्लेषक एरिक फ्रमले तेस्रो खतरातिर औंल्याउँदै सोधेका छन्– बीसौं शताब्दीले एक वा अर्को सर्वसत्तावादप्रति झुकाव देखाउनुको मूल कारण कतै स्वतन्त्रताको त्रास त होइन ? यस कालखण्डमा प्रजातन्त्रको उदय नभएको होइन, मानिसलाई स्वतन्त्र नबनाएको पनि होइन । तर यही बेला त्यस्तो समाज पनि बनायो, जहाँ मानिस स्वजनसँग समेत अलग–थलग भए, उनीहरूको सम्बन्ध निर्वैयक्तिक (इम्पर्सनल) भयो, माया र सुरक्षाको ठाउँमा असुरक्षा र भयले घेरा हाले । यही एकांकीपना, असुरक्षा र भयबीच विशाल संगठन, शक्ति, संरचना वा राज्यप्रति समर्पित हुने प्रवृत्ति बढ्यो । हामी यही अवस्थामा त बाँचिरहेका छैनौं  ?

नेपालमा बलात्कार, छुवाछूत, विभेद र हिंसा, जुनसुकै आपराधिक क्रियाकलापमा पनि विशाल संगठन, शक्ति, संरचना वा राज्यको संलग्नता टड्कारो देखिन्छ । स्वास्थ्य, शिक्षामा तिनको संलग्नता विरुद्ध प्रतिरोध नभएको होइन, तर त्यस्तै प्रतिवाद छुवाछूत, विभेद, बलात्कार र हिंसामा भएको छैन । बरु तिनकै शरण वा समर्पणको आधारमा ‘न्याय, सेवा, सहुलियत’ पाउने प्रवृत्ति प्रबल छ । त्यसको अर्थ सामूहिक प्रतिवादको बेसी जरुरत छ, जसको सम्भावना केसीको अनशनसँगै उर्लेको जनसमर्थन र संघर्षले देखाइसकेका छन् । अब यस्ता संघर्षलाई लोकतन्त्रीकरण र जनमुखीकरण जरुरी भएको हो कि रु अब उत्पीडित वर्ग–वर्ण–जात–लिंगविरुद्ध जारी हिंसाको प्रतिरोध आवश्यक भएको हो कि ?

 

साभार : कान्तिपुर दैनिकाबाट


प्रकाशित | १५ श्रावण २०७५, मंगलवार १०:३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *