मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मितव्ययी नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिने र कोही कसैलाई पनि छुट नदिइने स्पष्ट पार्नुभएको छ ।

नेपाल नगरपालिका संघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मितव्ययी नीतिअनुसार मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा कडाई गरिएको प्रधानमन्त्री ओलीको भनाइ थियो । विदेश जाने, घुमेर आउने मात्र गर्नाले ठूलो धनराशि खर्च हुने गरेको तर त्यसबाट उपलब्धि शून्य हुने आफ्नो निष्कर्ष रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

“गत वर्ष मन्त्रालयगतरुपमा कति कर्मचारी विदेश गएका छन्, त्यसबापत कति रकम खर्च भएको छ, त्यसको पूर्ण विवरण मैले मगाएको छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “साउन २० गते सम्ममा यो विवरण प्राप्त हुन्छ । त्यसपछि विदेश भ्रमणको उपलब्धि र क्षतिबारे समीक्षा गरिन्छ ।”

प्रधानमन्त्री ओलीले स्थानीय तहका जनप्रतिनिधिलाई पनि विदेश भ्रमण र खर्चमा कडाइ गरेको बताउनुभयो ।

दाताको खर्चमा विदेशमा जाँदा आन्तरिक खर्च नभए पनि सेवाग्राहीलाई दिनुपर्ने समयको क्षति हुने प्रधानमन्त्रीको कथन थियो । महासंघको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई स्थानीय तहको समस्या समाधानमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिनिधिमण्डलले कर्मचारी समायोजनमा तदारुकता देखाउनुपर्ने, विषयगत कार्यालयको हस्तान्तरण गर्नुपर्ने, एकीकृत सम्पत्ति करको निरन्तरता, जनप्रतिधिको सुरक्षाको प्रत्याभूतिलगायत १६ बँुदे ध्यानाकर्षणपत्र बुझाएको संघका संयोजक अशोक व्याञ्जुले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरुसँग छलफल गरेर समस्या समाधान गर्ने बताउनुभएको थियो ।


प्रकाशित | ११ श्रावण २०७५, शुक्रबार २०:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *