देश तुन्ने दर्जी

यादव देवकोटा

 

पृष्ठभूमि
तीनधारेबाट गोर्खा कालिका आवातजावत गर्दा केही वर्षअघि देखेको हो बाटोमा– ‘गोर्खा दरबारको पुरानो नगर्चीको सिलाइ पसल’ । सोधेखोज पनि गरेको हो, बोर्डवालासँग गोर्खा दरबारको पुरानो नगर्चीको कुरा । ‘बिसे नगर्चीको नाम सुन्नुभएको छैन र ? हामी उनैका सन्तान त हौँ नि’ बाहेक तिनलाई न बिसेका हाँगाहरूको खुटखबर छ, न त आफ्नो पुर्खाको इतिहास । देशको लिखित इतिहासले नै नेपाली इतिहासको आधुनिक कालको एकजना समृद्ध चेतना भएका र राज्यलाई बुद्धि र धन दुवै दान दिने पहिलो नागरिकबारे छिटो बारेपछि आजको पुस्ताले अध्ययनको, ज्ञानको कुनै पनि पानामा बिसे दमाईलाई भित्र्याउन सक्दैनन्

ढुकुटी

जम्माजम्मी १२ हजार घर रहेको तत्कालीन गोर्खा राज्यको वार्षिक आयस्ता थियो, जम्मा आठ हजार हाराहारी । घर गिन्ती एक रुपैयाँ करको प्रचलन रहे पनि चार हजार हाराहारी घर गोर्खा राज्यका लागि काम गर्ने सैनिक, कर्मचारीका लागि दिइएको थियो । त्यसबखत सिपाहीमा जानेहरूले पाउने नै राज्यबाट जमिन र घर थियो । नगद तलब दिने चलनै थिएन, गोर्खा मात्रै होइन, अन्त पनि । मौजुद बाइसी, चौबिसी, नेपाल उपत्यकाका राज्यको तुलनामा अति विपन्न, पिछडिएको र निर्धो राज्यमा गनिन्थ्यो गोर्खा । आम्दानीको गतिलो स्रोत नभएको, सानो राज्य । कहिले कान्तिपुर त कहिले खस साम्राज्यको पालैपालो अधीनस्थ भएर स्वतन्त्र अस्तित्व निचोरिएको ।

शाहकालीन समयअघिको गोर्खा त अझ अनेक स्थानीय रजौटाहरूको भागमा विभाजित थियो । लिगलिगकोट, अजिरकोट, सिह्रानचोक, बारपाक, माझकोट जस्ता अलिक उल्लेखनीयबाहेक पनि थिए हरेक कोटैपिच्छे राजा र रजौटाहरू । द्रव्य शाहको समय हुँदै पृथ्वीनारायणको समयसम्म आइपुग्दा चेपेनदीदेखि नुवाकोटको सीमासम्म र मस्र्याङ्दीदेखि सामासम्म फैलिएको थियो गोर्खा । यति सबै गर्दा पनि हो, जम्मा ६ हजारदेखि आठ हजार वार्षिक कर उठ्ने गोर्खामा ।

तत्कालीन समयको एउटा घोषित पद्धति थियो, हरेक राज्यले आफ्नो सीमा बढाउने उद्योग गर्ने । सक्नेले नसक्नेलाई दपेट्ने र आफ्नो प्रभुत्व कायम गर्ने । पाइलैपिच्छेजस्तो अनेकन् राज्य र राजाहरू, कजाइँ र रजौटाहरूबाट शासित हुन विवश थिए जनताहरू । त्यसको तुलनामा अलिक फराकिलो र बलियो राज्य बनाउने उद्योग गर्नु आफैँमा प्रगतिशील कदम थियो, कबिलाकरणले मल्लयुद्धको सामना गर्न विवश नागरिकका लागि, समयका लागि । त्यस्तैमा गोर्खा राज्य विस्तारको अकल्पनीय र महवाकांक्षी सपना पालेर हुर्किंदै गरेका पृथ्वीनारायण शाह नुवाकोट लडाइँमा गोर्खाली फौजको पराजयपछि निष्कर्षमा पुगे– अनिवार्य फौजी स्तरोन्नतिका लागि हातहतियार खरिद र सैन्य तालिमका लागि तालिमे जुटाउन काशी जाने । ठीक त्यहीबेला गोर्खा राज्यकोषमा नुवाकोट युद्धका कारण कुचो लागेको थियो ।

आर्थिक संकटका बीच पृथ्वीनारायणले गोर्खा विस्तारको सपना उध्रिँदै, च्यातिँदै गरेको विषादपूर्ण अवस्थाको सामना गर्नुपरेको थियो । भूगोल विस्तार गर्दै ‘नेपाल खाल्डो’को समेत राजा हुने सपना उध्रिँदै गएपछि पृथ्वीनारायण आफ्नो सपना तुनिदिने कुनै भरोसाको खोजीमा थिए । पृथ्वीनारायणको त्यसरी उध्रिँदै गरेको राज्य विस्तार अभियानको सपनालाई तुनिदिने पात्रका रूपमा फेला परेका थिए, गोर्खा दरबारकै बालीघरे दर्जी विशेश्वर (योगी नरहरिनाथ, गोर्खालीहरूको सैनिक इतिहास) नगार्ची अर्थात् बिस्या (पृथ्वीनारायणको उपदेश) अर्थात् बिसे दमाई ।

छोइछिटो

इतिहास लेखनको सीमा कति कठोर भइदिने भने त्यसले दमितहरूलाई शासकहरूसँग उभिन पनि दिँदैन । दमितहरूले राजालाई सल्लाह दिएको भन्दा ज्योतिषहरूले चिना हेरेर अनुहारमा कस्तो भंगिमा पैदा गरे भन्ने ‘रेकर्ड’ हाम्रो इतिहासको मूलधारको रुपमा स्थापित छ । विजेताहरूको इतिहासको सवाई र पराजितहरूको लोककर्खा संसारभरको प्रचलित पद्धति हो ।

जब हामी नेपाली इतिहासको थोत्रामोत्रा पानाहरूको धुलो टक्टक्याउन थाल्छौँ, त्यहाँ विजेता सबैको होइन, शासकहरूको प्रवरावली मात्रै भेटिन्छ । जस्तो कि बिसे नगार्ची इतिहासको कुनै पराजित पात्र थिएनन् । उनी त गोर्खा राज्य विस्तारको नेतृत्व गरेका पृथ्वीनारायण शाहको दरबारका एकजना बालीघरे दर्जी, कालिका मन्दिर, गोर्खा दरबारका पदीय नगार्ची थिए, जसले खर्च जुटाउने उपाय निख्रिएर गोर्खा विस्तार गर्ने अभियान नै उध्रिँदै गरेको अनुभव गरेर सल्लाह माग्न आएका राजालाई सल्लाह मात्रै होइन, नगद दान समेत दिएका थिए ।

लिखित इतिहासको बहिखातामा राज्यबाट लिने अनेक पात्रहरूको विवरण देशले धान्नै नसक्ने संख्यामा छ, अलिखितहरूको त कुरै नगरौँ । तर, आधुनिक नेपालको इतिहासमा राज्यलाई, राजालाई बुद्धि र धन दान दिने पहिलो नागरिक बिसे दमाई, विजेता गोर्खाली फौजमा राजासँगै सामेल भएर, अनेक मोर्चाहरूमा आफ्नै हैसियतमा लडेका एकजना योद्धा पनि थिए । तर, तिनै विजेता फौजका अग्रणी लडाकुको नामसमेत ‘रेकर्ड’ बाट गायबैको हालतमा छ ।

मूलकथा
गोर्खामा द्रव्य शाहको कालपछि नगार्ची पद खडा भएको देखिन्छ । भन्नुपरेन पहिले नगरा बाजा बनाइयो र त्यो बजाउन नगार्ची पद सिर्जना गरियो । वि.सं. १६६६ को छत्र शाहको नगरा भेटिएकाले त्यसअघि नै नगरा प्रचलनमा रहेको ठम्याउन सकिन्छ, खालि यति सालदेखि भन्ने प्रमाण नभएको चाँहि हाम्रो इतिहासको अभिलेख प्रणालीको दुःख हो । नरभूपालको पालामा नगार्चीलाई संक्रान्ति खर्चबापत भनेर एक–एक मोहर दिएइको लालमोहरमा उल्लेख भए पनि त्यसरी मोहर पाउनेहरूको नाम भने भेटिन्न । सम्भवतः बिसे नरभूपालकै पालादेखि गोर्खा दरबारमा जागिरे हुँदा हुन् । ‘तँ मेरो बुवाको पालादेखिको काँठो–भोटो गर्ने दमै’ भन्ने जुन शब्दावली भीमनिधिले एकांकीमा लेखे, त्यो फगत साहित्यको परिकल्पना मात्रै थियो पनि कसरी भन्नु ?

न्वारनको नाम विशेश्वरनौवाग थियो । जन्म वि.सं. १७४६ तिर भएको अनुमान गर्न सकिन्छ । तत्कालीन समयमा गाउँलेहरू विभासको धुनमा ब्युँझन्थे र आरतीको धुनमा निदाउँथे । प्रातकालीन समयमा सहनेमा राग्र विभास बजाएर मानिसलाई ब्युँझाइन्थ्यो । राग्र विभास भालेको प्रातकालीन वाग (डाँक) सँगै बजाइन्थ्यो । त्यसरी वाग (डाँक) हाल्ने पेसा गर्नेहरूको थर त्यसबखत नववाग (नौवाग) थियो । यसरी बिसे दमाई जातका नौवाग थरका नागरिक थिए (दर्नाल, बिसे नगर्ची, पृ. ५) ।

नगरा बजाउने जो पेसा थियो, त्यो जागिर पाउनेलाई नगार्ची (अहिले नगर्ची लेखिने गरिएको) भनिन्थ्यो, जस्तो कि आज खरदार, सुब्बा भनिन्छ । नभन्दै २००७ सालपछिको परिवर्तनपछि नगार्ची पदलाई खरदारमा परिवर्तन गरियो । दिलबहादुर सुनाम नगार्ची पदका आखिरी अधिकारी बने ।
छँदै थियो गोर्खा दरबारमा प्रशस्ती गाउने भाटदेखि सगुनी फुक्ने दमाईसम्म, साइत निकाल्ने ज्योतिषदेखि गाथा फलाक्ने गाइनेसम्मको दरबन्दी । धारापानी, पस्लाङ, कोखे, आँपपिपल र आसपास जति पनि गाइने, दमाईहरू छन्, तिनको इतिहास गोर्खा दरबारसँग जोडिन्छ, जसरी जोडिन्छ गोर्खाका मुसलमान र कामीहरूको सम्बन्ध ।

बिसेपछि उनको छोरा दुब्ल्याहा दमाई नगार्ची पदमा जागिरे रहेको वि.सं. १८४६ को लालमोहरमा उल्लेख छ । दुब्ल्याहाका छोरा सगुने, सगुनेका छोरा जमाने हुँदै गजमाने, डम्बरे, चखते, गणेशे र मछिन्द्रसम्मको नाम थाहा हुन आएको छ (दर्नाल, उही) । मछिन्द्र बिसेको नवौँ पुस्ताका हुन् ।
विसे नगार्चीले पृथ्वीनारायणलाई काशी खर्चको बन्दोबस्त गर्न गोर्खामा रहेका घरैपिच्छे एक रुपैयाँका दरले रकम सहयोग लिन सल्लाह दिँदै आफूले एक रुपैयाँ चन्दा दिएर त्यसको सुरुवात गरेका थिए ।

यताका दिनमा हामी बितिगएका पृथ्वीनारायण एक्लैलाई राष्ट्रनिर्माताको भारी बोकाउने चाकडीमा समय बितायौँ । सत्ता रिझाउन पृथ्वीनारायणको यति धेरै देवत्वकरण गरियो कि त्यसले उनको महŒवपूर्ण योगदानसमेत विद्रूप बनाइदिने अवस्था आयो । देश न कुनै अमुक व्यक्तिले एक्लै निर्माण गर्ने काम हो, न यो कसैले बनाएर कसैलाई हस्तान्तरण गर्ने कुरा हो । राष्ट्र निर्माण, अझ लडाइँमार्फत राज्यको सीमा बढाउने काममा अनेकन् मानिसहरूको बुद्धि, बल, जीवन, रगत, पसिना, तागत, जोवन खर्च भएको हुन्छ, कुर्बानी भएको हुन्छ । हो, त्यस महान् अभियानको कसै न कसैले थालनी र नेतृत्व भने गरेको हुन्छ नै । पृथ्वीनारायणले स्वाभाविक रूपमा गोर्खा राज्य विस्तारको अभियान जो अन्तत आजको नेपाल निर्माणको परिणामको रूपमा टुंगियोको थालनी र नेतृत्व गरेका थिए । उनीपश्चात् पनि उनको अभियान निरन्तर रह्यो । भौगोलिक सीमाको हेरफेरबाहेक आज पनि नेपाल निर्माणको कार्यभारहरू निरन्तर चलिरहेका छन्, चलिरहन्छ ।

आजको नेपाल निर्माणको सुरुवातमै जब पृथ्वीनारायणको अभियान अर्थात् आजको नेपाल निर्माणका लागि उनको समयमा भएको गोर्खा राज्य विस्तारको अभियान उध्रिन, च्यातिन थालेको थियो, त्यसलाई तुन्ने काम गरेका थिए, बिसे दमाईले । अर्थात् उनी देश तुन्ने दमाई थिए । उनी जस्तै कति मानिस थिए, जसले छपनी लगाएका छन्, आफ्नो शरीरलाई देशको सीमा बढाउन, कायम गर्न, बचाउन । तिनमा अलिकति कालु पाँडे (वंशीधर पाँडे), वंशराज पाँडे, दामोदर पाँडे, बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा, झागल गुरुङ, सर्व्जित रानाहरूको विवरण भेटिन्छ । या, यसमा केही व्यक्तिहरूको पनि विवरण थप होला तर के केही दर्जन मानिसहरूको नामले मात्रै विस्तारित भएको थियो त गोर्खा राज्य ? या, बनेको थियो गोर्खा विस्तार अभियानको परिणाममा आजको नेपाल ?

थप तथ्य १
जस्तो कि हराएका छन्, इतिहासबाट कालु खड्गामगर । उसैगरी बिलाएका छन् बांगे सार्की, जुठे गुरुङ, चामु गुरुङ, जय गुरुङ, बन्दु राना, धनवन्त सिंख्वालहरू । हामीलाई अमुक व्यक्तिको जन्मदिनलाई राष्ट्रिय एकता दिवस भन्ने भारी बोक्दैमा फुर्सद छैन ।
घर–सम्पत्ति जे मागे पनि दिउँला, तर बाटो देखाइदेउ भन्दा ‘देशभन्दा धन ठूलो हैन’ भनेर ललकारेका थिए, बांगे सार्कीले अंग्रेजलाई । आज त उखान टुक्का हालेर लोरी फलाक्नेहरू देशभक्त कहलिएका छन् । यस्तोमा स्वाभाविक छ, बांगेहरूको इतिहास राष्ट्रवादको पहिरोले पुरिन्छ र कहिल्यै इतिहासको पानामा प्रकट हुन सक्दैन ।

अर्काथरी हामी नसक्ने भयौँ बिसेलाई, बांगेहरूलाई लेखेर उभ्याउन । पृथ्वीनारायण मात्रै हैन, बिसे दमाईहरू पनि राष्ट्रनिर्माता हुन् भनेर पृथ्वीनारायणको सालिकसँगै बिसे दमाई या बांगे सार्कीको सालिक उभ्याउन जति गाह्रो छ, त्योभन्दा सजिलो छ, बिसे या बांगेहरूको त छैन, तेरो मात्रै किन भनेर पृथ्वीनारायणको सालिक ढाल्न । सजिलो तर उल्टो बाटोमा छौँ– उभिएकालाई ढाल्ने । हामीले ढाल्यौँ, गोर्खामा पृथ्वीनारायणलाई, कतै देवकोटालाई, कतै भानुभक्तलाई, कतै लखन थापालाई र भन्यौँ नयाँ नेपाल । कसैलाई उभ्याउन नसकेपछि उभिएकालाई लडाइदिने र आफूसरह बनाउने । समानताको, सरोवरीको हाम्रो यात्रा यसरी बहादुरीपूर्वक, क्रान्तिकारी तवरले अघि बढेकै छ । यही अघि बढाइलाई हामीले भनेका छौँ, अग्रगामी छलाङ ।

लेख्न, खोज्न नसकेपछि बिसे, बांगेहरूको वीरताको इतिहास, हामीलाई सजिलो सूत्र थाहा लागेको छ– बलभद्र, अमरसिंह, झागल, द्रब्रे, कालुहरू त कहाँ वीर हुन् र त्यो त सत्ताले लेख्न लगाएको पो त भनेर आफूसरह झार्ने । त्यसो गर्नेमा वीरता देखाउने बखत आएका बेला छाला जोगाएर बस्नेको सूची कति छ, यो बेग्लै कुरा हो ।
यहाँनेर थप, बांगे गोर्खाकै थिए । तिनी मारिएका थिए बाटो नदेखाइदिएबापत अंग्रेजहरूबाट, रूखमा दुई हातमा किला ठोकेर गोली हानेर भन्छन् लोकस्मरणहरूले । बांगे सार्कीहरूलाई चिन्ने नै लोकस्मरणमा हो, लिखित इतिहासमा तिनी पनि छिटा हालेर मन्साइएका छन् ।

थप तथ्य २
नुवाकोटमा पनि छ, सामरीभञ्ज्याङ । पनि किनभने, अन्यन्त्र पनि छन्, सामरी नाम जोडिएका भञ्ज्याङहरू । नुवाकोट सामरीका खड्गामगरहरू द्रव्य शाहले माझकोटमा हराएका मानसिंह खड्गामगरका सन्तानहरू हुन् (मगर, गोर्खाका मगरहरू, पृ.४३) । पृथ्वीनारायणले गोर्खा विस्तारको धपेडीमा पटकपटक आर्थिक संकटबाट गुज्रनुपरेको थियो । आर्थिक अभावबाट पृथ्वीनारायण र गोर्खाली फौज तड्पिएका बेला कालु खड्गामगरले पृथ्वीनारायणलाई चार हजार ऋण दिएका थिए ।

उनी थिए नै तिनै मानसिंह खड्गामगरका सन्तान, सामरीका नागरिक । त्यसरी आर्थिक अभावमा छटपटिएर बुमराङ खान आँटेको पृथ्वीनारायणको अभियानलाई निरन्तरता दिन ऋण दिने कालु (कालो) खड्गा पछि काजी या कपर्दार भएको देखिन्छ (पन्त र अरु, पृथ्वीनारायणको उपदेश, वि.सं. १८३० को लालमोहर) । कालु खड्गासँग लिइएको ऋण पछि उनका सन्तानलाई पृथ्वीनारायणका सन्तान राजा महेन्द्रले वि.सं. २०१५ सालमा तिरेका थिए । त्यसबखत, पृथ्वीनारायणलाई त्यसरी कालुले ऋण नदिएको भए पृथ्वीनारायणको अभियान कता भौँतारिन्थ्यो के हिसाब ? अरुहरूजस्तै कालु खड्गामगर पनि यो देशको एकजना निर्माता हुन् ।

थप तथ्य ३
गोर्खालीहरूले कीर्तिपुरमा गरेको आक्रमणमा भारी मात्रामा हतियार र सैनिक गुमाउनुपरेको थियो । दहचोकमा बसेको गोर्खाली फौजमा कीर्तिपुर आक्रमणलाई लिएर चर्को मनमुटाव बढेको थियो । लडाइँको साइत निकाल्न पृथ्वीनारायणले आदेश दिएपछि हुँदै नभएको साइत निकाल्न सक्दिन भनेपछि कुलानन्द ढकाल लमजुङ लघारिए र उनको ठाउँमा बालकृष्ण जैसीले साइत निकाले ।

वंशीधर पाँडे (कालु पाँडे)ले फौजी हिसाबमा किन कीर्तिपुरमाथि अहिले आक्रमण गर्नु अनुचित छ भन्ने तर्क राखेपछि पृथ्वीनारायणले पाँडेलाई मर्नबाट डराएको भनेर अपमानित गरिदिएपछि पाँडेलाई मोर्चा सम्हाल्न कर लागेको थियो ।

कीर्तिपुरमाथि आक्रमण गर्न चाहनेका लागि कीर्तिपुरको डाँडो चुनौतीका रूपमा खडा थियो । कीर्तिपुरको सम्पूर्ण बस्ती भएको सहरलाई गढ पर्खालले घेरिएको थियो । सहर प्रवेश गर्नका लागि बाह्रवटा प्रवेशद्वार बनाइएको थियो र ती प्रायः सैनिक पहरामा थुनिएको हुन्थ्यो । सागल, पालिफल, नायत्वा र बाहिरी गाउँका ढोका तलसम्म आए पनि तत्झो, भरियांपुखु, चिथु, बाघभैरव, गःछें, समलको ढोकाहरू ठाडो उकालोमा र केही बीच भागमा पथ्र्यो । बल्खु खोला पार गरेर गढको चारैतिरको पर्खाल भत्काएर कीर्तिपुरमा हमला गर्ने जोखिम लिन निकै चुनौतीपूर्ण रहेको व्यहोरा पाँडेले विस्तारमा बताएका थिए ।

पाँडे नेतृत्वको गोर्खाली फौजले दहचोकबाट आई कीर्तिपुरको पश्चिमी पाखोको ढोका हान्न थालेका बेला पाटन र भक्तपुरको सैनिक टुकडीले भाजंगलतिरबाट गोर्खाली फौजलाई ठोक्यो भने कान्तिपुरको सैनिक टोलीले हालको सिनास भवनतिरबाट हमला खोलिदियो । अन्ततः हालको स्टेडियमदेखि दक्षिण, सुन्दरीघाटदेखि पश्चिम, कीर्तिपुर डाँडाबाट उत्तरतिरको झःख्यः (हालको मानविकी भवन र पश्चिम कीर्तिपुर फेदीसम्मको भाग) र नारल फाँटमा भीषण लडाइँ भयो, (श्रेष्ठ, कीर्तिपुरको सांस्कृतिक र पुरातात्त्विक इतिहास, पृ. १६) । यस युद्धमा गोर्खाली सेनापति कालु पाँडेसहित लाटा खत्री, ज्युन खान, सोठ्या दनुवार, रणसुर कार्की, उत्तम घर्ती, भुसया ठाकुरलगायत १२ सय बढी गोर्खाली फौज मारिए । हालको पुरुष छात्रावास र विश्वविद्यालय भवन भएको ठाउँमा त्यसरी मारिएका गोर्खाली फौजलाई गाडिएको थियो । भुसया ठाकुर एक उदाहरण हुन् नै, गोर्खाली फौज पहाडेहरूको मात्रै संगठन थिएन, त्यतिबेला पनि ।

दोस्रो लडाइँमा गोर्खाली फौजका फिल्ड मार्सल शुरप्रताप शाहको आँखा फुटेको थियो । यसरी दुईपटकको भीडन्तमा पराजित भएको गोर्खाली फौज अब भने आक्रामक फौजी रणनीतिको सबैखाले गोटीहरू खेलाउँदै अघि बढेको थियो । कीर्तिपुरमाथि महिनौँ लामो घेराबन्दी र नाकाबन्दी यति कसिएको थियो कि फिटिक्क आँखाकान छलेर केही सामान लैजानेलाई काटेर मूलबाटोमा फालिदिने गरिएको थियो । कीर्तिपुरको नेतृत्व गरिबसेका काजी धनवन्त सिंख्वालका छोरा वीरनरसिंहलाई गोर्खाली फौजले कब्जा गरी नुवाकोट पुर्याएका थिए । नेतृत्व गरेका धनवन्त सिंख्वालले गोर्खाली फौजसँग भीडन्तको सट्टा समपर्णको बाटो रोजे ।

धनवन्तले भीडन्तको बाटो रोजेर कान्तिपुर, भादगाउँ र पाटनसँग सहायताको माग गरेर कीर्तिपुरे जनतालाई परिचालित गरेको भए कीर्तिपुरमा फेरि ठूलो मात्रामा रगत बग्ने थियो र सयौँको ज्यान जाने थियो । गोर्खाली फौजको फेरि हार भएको भए गोर्खा विस्तार अभियान नजाने अझै कति वर्ष लम्बिन्थ्यो । त्यो लम्बिएको भए गोर्खा विस्तारित भएर आजको नेपालको स्वरूप लिन पो सक्थ्यो, सक्थेन के हिसाब ? त्यसैले सहजतापूर्वक गोर्खाली विस्तारलाई कीर्तिपुरमा बाटो खोलिदिने धनवन्त आजको जो नेपाल छ, त्यसको कुनै न कुनै प्रकारले निर्माणमा संलग्न पात्र होइनन् र ?

पृथ्वीले नकाटेको नाक
इतिहासले मात्रै होइन, तत्कालीन समयले पनि धनवन्तहरूको सम्मान गरेन बरु बदलामा नाक लियो । पृथ्वीनारायणले नै कीर्तिपुरेको नाक लिए, त्यो क्रिस्चियन पादरीहरूको झूटको साभार मात्रै हुनेछ । झूट किनभने, कीर्तिपुरमा गोर्खाली विजय भएको तीन वर्षपछि कीर्तिपुर पुगेका जिस्सेपीले लेखेका छन्, ‘म १७६९ मा कीर्तिपुर पुग्दा अनेक मानिसको नाक काटिरहेको देखेँ । जब कि कीर्तिपुर १७६६ मै गोर्खालीले जितिसकेका थिए ।

नाक त काटियो नै कीर्तिपुरमा । अर्थात् कीर्तिपुरको कीर्ति घटाउन, बदला लिन । फौजी भीडन्तको कमान्डर भएर फिल्ड कमान्ड गरिरहेका थिए, दोस्रो लडाइँमा आँखा गुमाएका शुरप्रताप शाह र पहिलो लडाइँमा बाबु गुमाएका तर सद्गद् गर्न टाउको समेत नपाएका काजी कालु पाँडेका छोरा काजी वंशराज पाँडे थिए, फौजी कमान्डर ।

तिनले कीर्तिपुरमा गोर्खाली सर हुनासाथ कीर्तिपुरेको नाक काटिदिए, बदला लिन । काटिएका नाकबारे पृथ्वीनारायणकालीन दरबारिया कवि ललितावल्लभले वि.सं. १८२७ मंसिरमा लेखेको मानिएकोे पृथ्वीन्द्रोदयको छयालिसौँ श्लोकमा उल्लेख छ–
…हत्वा शत्रुमनश्विनः कति पुनः प्रच्द्यिय नासादिकं
कृत्वा कांश्च विरुपिणः कुपुरुषान् कीर्तिम्बरुपा द्धिषः ।।
‘अर्थात्–शत्रुका केही साहसी मानिसलाई मारिदिनुभयो, केहीको नाकहरू काटी, शत्रुका मानिसहरूलाई विरूप पारिदिनुभयो । यसरी शत्रुको कीर्ति नै हरियो ।’
त्यसमा नुवाकोटमा रहेका पृथ्वीनारायणको हातमा तरबार भिराएर कीर्तिपुरमा नाक काट्न ल्याइपु¥याउने दुःखको निबन्ध पादरीहरूले किन लेख्नुपरेको हो ? बुझ्न सकिन्छ ।

पुनश्च

यी केही प्रसंग जोडिएर आए, देश निर्माता कसरी एकजना शासक मात्रै होइनन्, थिएनन् भन्ने लहरो तान्दा । मूल प्रसंग बिसे दमाईकै हो । तिनी पृथ्वीनारायणलाई सल्लाह दिएर उनको तुहिन लागेको गोर्खा विस्तार अभियानलाई तुनिदिएर आजको नेपाल तुनिदिने दमाई मात्रै थिएनन्, तिनले अनेक गोर्खाली मोर्चामा लडाकुका रूपमा पनि सहभागिता जनाए ।

नुवाकोट भीडन्तमा उनी पृथ्वीनारायणसँगै तीनधारेतर्फको मोर्चाबाट सामेल थिए । उनीसँगै थिए, धार्ने कामी, कालु सार्की, मणिराम गाइने, बनादार दमाई पनि सोही मोर्चामा । विजयपछि बिसे र वानादारले नगरा बजाए भने मणिरामले विजय सवाई गाए । बिसेले नालदुम भीडन्त, सिह्रानचोक र अजिरकोट भीडन्तमा पनि भाग लिएका थिए (नेपाल देशको इतिहास सङ्ग्रह, प्राचीन नेपाल, २२–४) । गोर्खा र लमजुङबीच सिह्रानचोकमा भएको भीडन्तमा पराजित लमजुङे फौजलाई मानमर्दन गर्न बिसे दमाईको धोती टाँगेर लमजुङे फौजका सर्दार महिधर शाही र फौजलाई त्यसमुनिबाट छिर्न लगाइएको थियो (गोर्खालीहरूको सैनिक इतिहास, पृ.३) । त्यसका अलावा स्याङ्जासम्मको भीडन्तमा पनि बिसे सामेल भएको अनुमान गर्न सकिन्छ, जहाँको बहाकोटमा छँदै छ, बिसे नगर्ची चोक । बिसेको मृत्युको तिथिमिति ठ्याक्कै पाउन सकिएको छैन । तर उनी वि.सं. १८२८ तिर ८२ वर्षको उमेरमा मरेको अप्रमाणित लोकस्मरणहरू भने भेटिन्छ ।

बुढेसकाल लागेपछि बिसेले राजालाई स्वतन्त्रपूर्वक सल्लाह दिन थालेको देखिन्छ । ‘नगरा बजाउने बूढो बिसे नगर्चीले राजालाई स्वतन्त्रपूर्वक सल्लाह दिन थाल्यो (विष्ट, शाही सैनिक इतिहास, पृ १९) ।’ कालु पाँडेलाई काजी दिने अन्तिम सल्लाह पनि बिसेले नै दिएका थिए, पृथ्वीनारायणलाई ।

उपदेशमा पृथ्वीनारायणले त्यसलाई संकेत गर्दै रैतीले मन खाएकोलाई कज्याइँ दिएको उल्लेख गरेका छन् । श्रीहर्ष मिश्रलाई काशी लिएर गई हतियार ल्याउने सल्लाह दिने पनि बिसे नै थिए । बिसे दमाईले गोर्खा विस्तार हुँदै बनेको आजको नेपाल निर्माणलाई तग्न, सिउन, टाल्न बुद्धिले, बलले, धनले सकेको गरे । तर इतिहासले उनलाई एउटा सग्लो अनुहार लिएर उभिने जमिन पनि दिएन । अनेक बिसे दमाईहरूलाई ।

 

 

साभार : नागरिक दैनिकबाट


प्रकाशित | १० असार २०७५, आईतवार १६:१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *