संस्कृतिको विकासका लागि प्रदेशबाट वार्षिक बजेट राखिने आशा

काठमाडौँ- वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कला, संस्कृति, भाषा तथा सभ्यताबाट नै नेपाललाई विश्व समुदायमा आफ्नो छुट्टै पहिचान गराइरहेकाले यसको संरक्षणका लागि सरकारको विशेष ध्यान जानुपर्ने बताउनुभएको छ ।

“काठमाडौँ, ललितपुर तथा भक्तपुरमा नेवारी कला, संस्कृतिको उद्गमस्थलमा पूर्वजले छाडेर गएको अमूल्य मठमन्दिर, जात्रा पर्वजस्ता चिनारीको संरक्षण गर्न सके भावी पुस्तालाई हस्तान्तरण गर्न सक्छौँ”, उहाँ भन्नुहुन्छ ।

जोशीका अनुसार विसं १९९७ अघिसम्म राजतन्त्र तथा जहानियाँ राणाशासनको समयमा नेपाल भाषालाई प्रतिबन्ध गरिएको तथा त्यसबेला नेपाल भाषामा किताब छाप्न अनुमति नदिइने गरिएको र छाप्नैपर्ने अवस्थामा सरकारले गठन गरेको समितिबाट स्वीकृति लिएर मात्र पुस्तक प्रकाशन गर्न पाइने स्थिति थियो ।

विसं १९९७ देखि नेपालमा निरंकुशता विरोधी जागरण शुरु भएको र २००७ सालको जनक्रान्तिपछि नेपालमा संघसंस्था खोल्न पाइने भयो । कोलकातामा स्थापना भएको प्रेमबहादुर कंसाकार नेतृत्वको ‘च्वसा पासा’ नामक संस्थाले नेपालमा नेपाल भाषाको विकासका लागि गतिविधि शुरु ग¥यो ।

त्यसपछि क्रमशः चित्तधर हृदय संयोजक रहेको नेपाल भाषा परिषद् तथा नेपाल भाषा एकेडमीजस्ता संस्थाको गतिविधिले नेपाल भाषा क्षेत्रको विकास तथा पुस्तक प्रकाशनमा इँटा थप्नाका साथै युवालाई जागरण गर्ने काम गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान तथा साँस्कृतिक संस्थान जस्ता संस्थाले बेलाबेलामा नेपाल भाषाका फाट्टफुट्ट केही पुस्तक प्रकाशन गरे पनि नेपाल भाषा, नेवारी कला र संस्कृतिको उत्थानका लागि वार्षिक बजेट नै व्यवस्था गरी विकास, उत्थान तथा संरक्षणको काम हुन नसकिरहेको शताव्दी पुरुष जोशीको भनाइ छ ।

अब ३ नं प्रदेशका बहुमूल्य कलासंस्कृतिको संरक्षण, अनुसन्धान तथा विकासका लागि राज्यस्तरबाट नै महत्वपूर्ण काम हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । काठमाडौँ उपत्यकाका कुमारीको रथ, रातो तथा सेतो मच्छिन्द्रनाथको रथ जात्राजस्ता केही जात्रा सरकारी क्षेत्रबाट सञ्चालन हुँदै आए पनि नेवार समुदायका पुराना तथा परम्परागत अरू धेरै जात्रा तथा पर्व अझै स्थानीय जनस्तरबाट नै सञ्चालन हुँदै आएको छ । ती जात्रा, पर्व तथा संस्कृतिको विकास तथा संरक्षणका लागि प्रदेशले वार्षिक बजेट नै राखेर संरक्षण गर्नेतर्फ ध्यान जाने आशा उहाँमा छ ।

उहाँ आगामी २०७६ साल वैशाख ३० सय वर्ष पुग्नु हुनेछ । विसं १९७७ वैशाख ३० मा ललितपुरको बखुँबहालमा जन्मनुभएका जोशीलाई सरकारले वाङ्मय शताब्दी पुरुष घोषणा गरेको थियो । जोशीले भन्नुभयो, “मलाई ९५ वर्षको उमेरमा नै शताब्दी पुरुषबाट सम्बोधन हुँदै आएकोे छ । त्रिमूर्ति निकेतनजस्ता शुभेच्छुक संघसंस्थाले ९५ वर्षको उमेरमा नै पाँच वर्ष कृपाङ्क दिएर १०० वर्ष पु¥याई शताब्दी पुरुषको सम्मान दिएको उहाँको भनाइ छ । साँच्चिकै

दैनिकी

जोशी पहिलेजस्तो लामो हिँडाइ त छाडिसक्नुभएको छ । केही शुभेच्छुकले कार्यक्रममा बोलाउन आएमा उनीहरुको मन राख्न जाने गर्नुहुन्छ । दैनिक गाईको शुद्धद ूध खाने, फाट्टफुट्ट मासु खाने र अरू सामान्य खाना नै उहाँलाई मन पर्छ । आफ्नो अगाडि गिलासमा राखिएको एक चुस्की कोक तान्दै जोशीले थप्नुभयो, “मलाई अहिलेसम्म सुगर, प्रेसरजस्ता कुनै रोग छैन । मैले अहिलेसम्म औषधि खाएको पनि छैन । बेला बेला कोकजस्ता पेय पदार्थ पिउन पनि अप्ठ्यारो छैन ।”

सरल स्वभाव र हृदयका धनी जोशी पुराना बहुमूल्य पुस्तक व्यवस्थापन तथा बगैँचामा फूलबिरुवामा रमाउन चाहनुहुन्छ ।

गौरवको क्षण

कर्णाली अञ्चलको सिँजा खोलामा नेपाली भाषाको व्युत्पत्ति तथासभ्यताको अध्ययन गर्दा पाएको सफलताप्रति उहाँमा गौरवको अनुभूति हुन्छ । “मेरो जीवनमा यो नै सबैभन्दा महत्वपूर्ण काम गरेको जस्तो लाग्छ”, उहाँले भन्नुभयो । जोशी आफैँले नेतृत्व गरेको समितिका डा चूडामणि बन्धु, विहारीकृष्ण श्रेष्ठ, प्रदीप रिमाल तथा स्थिरजंगबहादुर सिंह सहितको टोलीले कर्णालीजस्तो दुर्गम क्षेत्रमा पुगेर त्यस बेलाका अञ्चलाधीशले दिएको एक सहयोगीसँग दुई दिन हिँडेर जुम्लाको सिँजा नदी पुगी लोकसंस्कृति, भाषा, साहित्य, जन्मदेखि मृत्युसम्मको संस्कार, शैव धर्म, मष्टो धर्म, इतिहास, जंगल, खेतीपाती, चराचुरुङ्गी आदिको अध्ययन सर्वेक्षण गरी प्रतिवेदन तयार गरिएको उहाँले बताउनुभयो ।

आआफ्नो विधानुसार पाँचै जना सहकर्मी सदस्यले तयार पारेको पुस्तक प्रदर्शनी गर्दा तत्कालीन युवराज वीरेन्द्रले ६ महिना दुर्गम भेगमा बसेर गरेको कठिन कामको मुक्तकण्ठले तारिफ गरेका थिए । विसं २०२८ मा उक्त कृतिका लागि शताब्दी पुरुष जोशीसहित पाँच सदस्यलाई मदन पुरस्कार प्रदान गरिएको थियो ।

जोशीको नेपाल भाषाका ‘जय प्रकाश’ तथा ‘अरनिकोकृत श्वेतचैत्य’ महाकाव्य, ‘सिद्धार्थ गौतम’, ‘वैद्य बा’ पूर्णाङ्की नाटकसहित ३८ पुस्तक तथा नेपाली भाषामा २४ पुस्तक,नेपाली भााषामा सम्पादित आठ र अंग्रेजीमा एउटा पुस्तक प्रकाशित छन् ।

पुरस्कार तथा सम्मान

जोशीले तीन पटक मदन पुरस्कारसहित थुप्रै पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ । ‘हाम्रो लोकसंस्कृति’का लागि पहिलो पटक विसं २०१३, ‘नेपाली राष्ट्रिय मुद्रा’ नामक ग्रन्थका लागि दोस्रो पटक विसं २०१७ र ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि तेस्रो पटक विसं २०२८ मा मदन पुरस्कारबाट उहाँ सम्मानित हुनुभयो ।

त्रिचन्द्र कलेजबाट स्नातक जोशी विसं २०१५ मा पुरातत्व र संस्कृति विभागका पहिलो निर्देशक हुनुभयो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकासमा लागिपरेका हुनाले उहाँलाई सुप्रबल गोर्खा दक्षिणबाहु, विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार र काठमाडौँ विश्वविद्यालयबाट विद्यावारिधिको मानार्थ प्रमाणपत्र प्राप्त भएको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले उहाँलाई सम्मान गरेको छ ।


प्रकाशित | १ श्रावण २०७५, मंगलवार ००:११

Leave a Reply

Your email address will not be published. Required fields are marked *