१०२ वर्षकी कुसुमदेवीको एक जीवन गाथा

सइन्द्र राई

रौतहटको लक्ष्मीपुरस्थित दोस्तियामा भेटिइन्, कुसुमदेवी माझी मुसहर। उमेर १०२ वर्ष। मधेस आन्दोलनले हल्लिरहेको मधेसकी यी मुसहर आमा इतिहासको साक्षी हुन्। अनुभवकी खानी हुन्। उनलाई नसुनी अग्रज पुस्ताप्रति कसरी सम्मान हुन्छ?

कुसुमदेवीलाई आफैं यति धेरै बाँचेकोमा आश्चर्य लाग्दो रहेछ

संविधानप्रति उत्पन्न असन्तुष्टिको रापले एक वर्षअघि मधेसलाई भत्भति पोलेको थियो। नाकाबन्दी र उदेकलाग्दो आमहड्तालको पीडा काठमाडौंले भन्दा मधेसले बढी झेलेको थियो। तर, विद्रोहको राँको उचाल्ने राजनीतिक दल र तिनका नेता आजभोलि काठमाडौंमा छन्। बेलाखबत सभा र समारोहका लागि मधेस झर्छन् पनि।

भदौको तेस्रो साता आन्दोलनपछिको मधेस मुडबारे स्थलगत रिर्पोटिङ गर्न देहातका गाउँ पुगेको थिएँ। एक वर्षअघि देहातमा देखिएका आक्रोश मत्थर हुँदै गए नि सकिएको भने थिएन।

लहैलहैमा आन्दोलनमा कुद्ने ठूलो तप्का वर्तमान राजनीतिक घटनाक्रमप्रति पूर्णतः बेखबर थियो। त्यसपछि, बेखबरहरुको खबर खोज्दै मुसहर वस्तीतिर लम्किएँ। जहाँ जनाति पुस्ताका लालाबालासँग भुन्भुनाइरहेकी थिइन्, कुसुमदेवी।

लठ्ठीको साहरा लिएर थमथम हिँड्न सक्ने। बोली लर्बरिएको छैन। खानापानीमा रुचि राम्रै छ। झनक्कै रिसाउने तर हृदय नपग्लने होइन। स्मृतिको सुदूर कुनासम्म पुग्न नसके पनि निकट इतिहास नभुल्ने कुसमदेवी आफ्नै समुदायको मानक भत्काउन काफी छिन्।

७० वर्ष पार गरेकालाई सरकारले दिने जेष्ठ नागरिक भत्ता प्रायः मुसहरहरु लिदैनन्। कारण, मानव विकास सूचकांकको पिँधमा परेका मुसहर समुदायमा त्यो उमेरसम्म बाँच्ने मानिस भेट्नै मुस्किल। तर, कुसुमदेवीको परिवार मात्रै त्यस्तो भेटिए जहाँ आमाछोरा दुबै भत्ता बुझ्छन्।

कान्छो छोरा ककनसँग बस्ने कुसुमदेवी मध्यान्हको चर्को घामबाट छेलिएर शीतल तापिरहेकी थिइन्। शताब्दी लामो समयसाक्षी उनको जीवनअनुभवमा आधारित सम्वादको मनासायले प्रश्नका पोको खोल्न थालेँ।

तर, संयोग पहिलो प्रश्न नै उनलाई मन नपर्ने परेछ। सिधै नबोल्ने प्रतिक्रिया जनाइन्। दोहोर्‍याएर आग्रह गरेपछि भनिन्, ‘मलाई थाहा छैन।’

तीन दिनअघि मात्रै छोरासँग भनाभन परेको रहेछ। त्यसैले उनीबारे सोधनी हुनासाथ रिसाइन्। र, अर्कोतिर फर्किइन्। सँगै बसिरहेका १८ वर्षीय पनाति दीपकले रहस्य खोलिदिए।

दीपकले आफ्नो आनीबानी र जीवनशैली बताइरहँदा चुपचाप सुनेर बसिरहिन्। केही समयपछि उनको मन पग्लियो। बोल्न थालिन्। मुसहर समुदायले भोग्दैआएको दर्दहरु सुनाइन्। बुढौलीका पीडा कहिन्। परिवारको अवस्थाबारे बताइन्। संभव भएसम्म बुझेजानेको कुरा भनिन्। दुख पोखिन्, ‘भोक लागेको बेला खान पाइँदैन, अरू समस्याका के कुरा?’

देहातको गाउँ। फुसको घर। दिनभर मजदुरी नगरे बेलुकी भोकै। त्यसमा पनि यो उमेरका बुढौलीमा समस्या नहुने कुरै रहेन।

भन्छिन्, ‘पहिलेजस्तो अव काम गर्न त सक्दिनँ। ल्याएर दिएको खाएर बस्ने त हो।’

उनकै जीवनकालमा देशमा आधा दर्जन राजा फेरिए। दुई दर्जन बढी प्रधानमन्त्री। तर, उनी कसैलाई चिन्दैनन्, जसरी उनलाई देशले चिन्दैन। कुसुमदेवीले चिन्ने गाविस सचिव हो। जसले जेष्ठ नागरिक भत्ता ल्याइदिन्छन्।

मरिहाल्छन् भनेर ग्वार्ग्वार्ती बच्चा जन्माउने मुसहर समुदायको मनोविज्ञान उनले मानेनन्। धेरै बच्चा जन्माएनन्। यो उमेरसम्म यत्तिको तन्दुरुस्त हुनुमा उनको खानपिन र जीवनशैलीले काम गरेको पनाति दीपकले अनुमान गरे।

कुसुमदेवीका छोरा अकल ७० नाघिसके। नाति प्रह्लाद ५० पुगे। यो उमेरमा कुनै नयाँ रहर नभएको बताइन्। रौतहटकै डमरियामा १९७२ मा जन्मिएकी कुसमदेवीले आफ्नै श्रीमान् बितेको भन्न सकिनन्। भनिन्, ‘धेरै साल भो।’

आफ्ना समकालीनहरुका सम्झना धेरै हराए। नाति पुस्ताका धेरै बितेको आँखैले देखिसकेका उनले सय वर्षअघिका घटना सम्झन सक्ने कुरा पनि भएन। त्यही पनि सम्झने प्रयत्न गरिन्, ‘धेरै राम्राहरू भगवानको घर गइसके।’

त्यसपछि दुई/चार जना साथीको नाम सम्झने कोशिस गरिन्।

छिमेकी नथुनी माझीले मुसहरमै बढी बाँचेको इतिहास कुसुमदेवीले रचेको सुनाए। कुसुमदेवीलाई पनि आफैं यति धेरै बाँचेकोमा आश्चर्य लाग्दो रहेछ। ठट्टा गरिन्, ‘हमरा के नाम यमराजके खातामे नै खे, हमनी के काल भुलागेली।’

सम्बन्धित समाचार