शहरले हुर्काएका गाउँले

शिव गाउँलेको जीवनकै भयानक यथार्थ हो– उनी परिवारका एघारौं सन्तान, उनीभन्दा अघिका १० सन्तान परिवारमा कोही जीवित छैनन् ! बालमृत्युदर उच्च हुँदा सबैलाई सोहोरेर लग्यो । यो कहालीलाग्दो विगत् सम्झँदा मात्रै पनि शिवको मनमा हुण्डरी चल्छ !

९ कक्षामा पढ्दा बा–आमा शिवको कुरा गर्दै खुसखुसु गरेको एकदिन उनले सुने, “अब यसले अरूको जस्तो बाटो लिँदैन होला ।”

१० सन्तान लगालग गुमाउँदाको पीडामा थिए, बा–आमा । शिव हुर्किन थालेपछि यस्तो आश लाग्नु स्वाभाविक त थियो नै ।

त्यो समय घरमै बच्चा जन्माउने चलन थियो । मृत्युदर उच्च । शिवभन्दा अघिका सन्तानले एक–डेढ वर्षभन्दा बढी यो संसार देख्नै पाएनन् ।

“आज पनि मलाई भन्न अप्ठ्यारो लाग्छ मेरो परिवारको कथा सुनाउन । त्यो बेला समय नै त्यस्तै थियो । बाँच्नेभन्दा बाल मृत्युदरको अनुपात उच्च थियो,” परिवारको वियोगान्त कथा सम्झिँदै उनी भन्छन् ।

जीवनले जतिसुकै क्रूरताको रेखामा धकेल्न खोजे पनि घस्रनु त जसरी पनि थियो नै । जीवनको छुकछुके रेल कुदिरह्यो–छुक…छुक…छुक…।

अनि, शिव हुर्किए ।

सपना देख्न न्यूनतम जग र कम्तीमा सन्तोषजनक अर्थतन्त्र भएको पारिवारिक पृष्ठभूमि चाहिन्छ । त्यो थिएन उनको परिवारमा, त्यसैले सुन्दर भविष्यको महत्त्वाकांक्षा बोक्ने आँट आओस् कसरी ! त्यसैले हो– शिव गाउँलेको परिवारले छोरोलाई ठूलो मान्छे बनाउने सपनै देखेन ।

शिव सम्झिन्छन्, “म ठूलो हुँदै गएपछि शायद मेरो जिन्दगीप्रति उहाँहरूमा आशा पलायो होला । त्यही भएर त्यो समयसम्म उहाँहरूमा मप्रति कुनै सपनै थिएन । केवल बाँच्छ कि बाँच्दैन भन्ने चिन्ता मात्रै थियो ।”

त्यो कालखण्डको कारुणिक कथा सुनाउँदा शिवको स्वर मधूरो थियो । उनका आँखा आफ्नो टेबलतिर एकोहोरिएका थिए ।

शिवको परिवार न्यून आर्थिक अवस्थाबाट गुज्रिरहेको थियो । झापाको गौरादहमा जन्मिएका शिवको पारिवारक पेसा खेतीकिसानी थियो । खनीखोस्री गर्न पर्याप्त जग्गा थिएन, त्यसैले अरूको खेतमा पनि काम गर्नुपथ्र्यो । परिवार बुझेका शिव बा–आमालाई सकेको सहयोग गर्थे । सिजनमा बिहानभर हलो जोतेर दिउँसो स्कुल गएको सम्झना शिवको दिमागबाट कसरी मेटियोस् ! स्कुलबाट आएर खेतमा काम गरेको पनि उनलाई आजै जस्तो लाग्छ ।

तर, यो कथा शिवको मात्रै भने होइन । हरेक न्यून आर्थिक अवस्था भएका परिवारका सन्तानको कथा हो । उनी त केवल प्रतिनिधि पात्र मात्रै थिए ।

धरान बसाइ

दुःखमा हुर्किएका शिवले ०४३ मा एसएलसी पास गरे । उनलाई भविष्यबारे उति ज्ञान थिएन । के पढ्ने र के गर्ने– केही मेसो पाइरहेका थिएनन् । साथीहरू कानुन पढ्ने भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरान पुगे । शिव पनि उनीहरूकै साथ लागे ।

गाउँका साथीहरूको आकर्षण नै उनको पनि आकर्षण बन्यो । धरानमा उनी कानुन लिएर पढ्न थाले । मनमा वकिल बन्ने सपना गड्यो । त्यसपछि उनी दिनरात घोटिन थाले ।

पञ्चायतको उत्तराद्र्धको समय थियो । बहुदल चाहियो भन्ने आवाज फराकिलो हुँदै थियो । कलेजमा राजनीतिक सरगर्मी मधेसको चर्को धूपभन्दा रापिलो थियो । विद्यार्थीहरू पढाइसँगै राजनीतिमा पनि उत्तिकै दिलचस्पी राख्थे ।

‘पञ्चायत चाहिँदैन, बहुदल ल्याउँछौँ, ल्याउँछौँ !’ भन्ने नारा कलेजमै लाग्थे । मरिचमान प्रधानमन्त्री थिए । प्रतिबन्धित नेपाली कांग्रेस र एमालेका गतिविधि बाक्लिँदै गएका थिए । विद्यार्थीहरू परिवर्तनका संवाहक बनिरहेका थिए । पञ्चायत ढल्छ र बहुदल पुनःस्थापित हुन्छ भन्ने मनोविज्ञानसहित हरेक विद्यार्थी राजनीतिमा समाहित भएका थिए ।

शिव पनि त्यसबाट अछुतो थिएनन् । कलेजमा विद्यार्थी युनियनले भित्ते पत्रिका निकाल्ने भयो । नाम अहिले उनलाई ठ्याक्कै याद छैन । तर, ‘सिर्जना’ या ‘कलम’ मध्ये एक हो ।

शिव त्यसको संयोजक भए । त्यसमा उनका कथा, कविता र हाइकू छापिन्थे । सिर्जनाको आत्मा सरकारविरुद्ध हुन्थ्यो । एकपटक उनको कविता पुरस्कृत पनि भयो । त्यसपछि उनले त्यो भित्ते पत्रिकामा पत्रकारिताको अंश देख्न थाले । शिवले कालान्तरमा थालेको पत्रकारिताको जग त्यही थियो ।

घरको आर्थिक अवस्था राम्रो पक्कै थिएन । आर्थिक रूपमा मितव्ययी हुनु थियो उनलाई । सस्तोमा बस्थे । १२५ रुपैयाँको कोठामा ५ जना अटाउनु पर्ने । घरको दुःख सम्झिएर पैसा ‘फुर्मास’ गर्दैनथे । चामल र दाल घरबाटै लैजान्थे । उनी तीन वर्ष धरान बसे । ३५ सय रुपैयाँमा आईएल अध्ययन सके । त्यो हिसाब उनले अझै पनि बिर्सन सकेका छैनन् ।

काठमाडौं यात्रा

“काठमाडौं कसरी आएँ म, आफैंलाई थाहा छैन । मेरो पारिवारिक पृष्ठभूमि हेर्दा म काठमाडौं आएर पढ्न सक्ने मान्छे नै थिइनँ,” शिव भन्छन्, “यसका पछाडि मेरो धरान बसाइ नै मुख्य कारण हो ।”

धरानमा रहँदा उनले राजनीतिलाई नजिकबाट अनुभूत गरे । संघर्ष गर्न सिके, घरबाट टाढा परिवारबिना एक्लै बस्न अभ्यस्त भए । त्योभन्दा पनि उनले त्यहाँ कमाएको सम्पत्ति दरिलो आत्मविश्वास थियो, जसले उनलाई हिम्मतिलो बनायो र काठमाडौसम्म डो¥यायो ।

०४७ कात्तिकको एक बिहान ।

बुवाले ऋणधन गरेर १३ सय रुपैयाँ जम्मा पारे । ४० किलो चामल बोरामा कसे र शिवलाई दिँदै भने, “यहाँभन्दा धेरै अहिले जुटाउन सकिएन ।”

मन भरिएको थियो । आँखाका डिलसम्म आँसु छल्किएको थियो । गला अवरुद्ध थियो ।

बिर्तामोडबाट काठमाडौंको नाइट गाडी आयो । गौरादहबाट उनी खल्तीमा १३ सय रुपैयाँ र बोरामा ४० किलो चामल लिएर काठमाडौंका लागि गाडी चढे । बाटोभरि गाडी एक तमासले गुड्यो, उनको मन पनि त्यही वेगमा घरतिर हुइँकिरह्यो । मनमा एउटै सपना थियो– वकिल बन्ने । त्योभन्दा अघि बीएल पास गर्ने ।

त्यतिबेला नयाँ बसपार्क बनिसकेको थिएन, पुरानो बसपार्कमै बस आउँथे, त्यहीँबाट जान्थे । शिवको गाडी आएर त्रिचन्द्र कलेजअगाडि रोकियो । तीन पांग्रे कालो टेम्पो चढेर उनी मीनभवन पुगे । मीनभवन ओरालोमा ओर्लिएर गोरेटो बाटो हुँदै खेतको बीचमा रहेको एउटा घरमा छिरे, जहाँ उनका गाउँलेसँगै उनी बस्ने चाँजोपाँजो मिलाइएको थियो ।

शिव ल क्याम्पसमा भर्ना भए । सपना पूरा गर्नु थियो– कानुनका ठेलीमा घोत्लिन थाले । तीन वर्षे कोर्स पूरा गरेर आङमा कालो कोट पहिरिनु र हातमा कालो ह्यान्ड ब्याग बोक्नु थियो ।

साढे दुई वर्ष पढिसकेका थिए । उनलाई अब भने गाह्रो हुन थालेको थियो । परिवारलाई काठमाडौं पैसा पठाउन हम्मेहम्मे पर्न थाल्यो । शिव एउटा भरपर्दो टेको खोजिरहेका थिए ।

संयोगले वरिष्ठ अधिवक्ता बासुदेव ढुंगानाको ल फर्ममा काम गर्ने मौका पाए । तलब थियो– एक हजार रुपैयाँ ।

“त्यो दुर्लभ अवसर नै मेरा लागि भाग्य थियो । अवसरसँगै मैले प्रतिमहिना एक हजार रुपैयाँ तलब पाएँ । त्यो नै मेरो पढाइ पूरा गर्ने माध्यम बन्यो,” उनी भन्छन्, “तीन वर्षे कोर्स पूरा गर्न ६ महिना बाँकी हुँदा घरमा ३५ हजार रुपैयाँ ऋण लागिसकेको थियो । त्यो समयको ३५ हजार भनेको निकै धेरै रकम हो । घरखेत बेचेरबाहेक अरु कुनै तरिकाले तिर्न सकिँदैनथ्यो ।”

एउटा मुद्दा ढुंगानाको ल फर्मसम्म आएको थियो । भक्तपुरका प्रजापति थरी एक व्यक्तिको त्यो मुद्दा भक्तपुर जिल्ला अदालतमा थियो । शिवले त्यो मुद्दामा बहस गर्न त्यससम्बन्धी अध्ययन गरे । नजिर खोजे । र, पूरै तयारीका साथ गाडी चढेर भक्तपुर जिल्ला अदालत पुगे ।

कालो कोट र हनुमन्ते खोला

बहस सुरु भयो । न्यायाधीशले फैसला शिवको पक्षमा सुनाए । उनले मुद्दा जिते । त्यो दिन शिवलाई संसार जितेझैं लाग्यो । आलोकाँचो उमेरको त्यो खुसी सुनाउँदै उनी भन्छन्, “ममात्रै होइन, शायद सुरुसुरुमा मुद्दा लडेर जित्ने सबैलाई यस्तै खुसी लाग्छ होला ।”

शिवसँगै प्रजापति थरका ती व्यक्ति पनि खुसी हुँदै भने, “वकिल सा’प, मुद्दा जिताइदिनुभयो, हजुरलाई धेरैधेरै धन्यवाद । ढुंगाना बाजेलाई म आइतबार आउँछु रे भन्दिनू है ।” यति भनेर उनी आफ्नो बाटो लागे ।

शिव घरबाट हिँड्दा उनीसँग भक्तपुर पुग्ने गाडीभाडा थियो । उनी त्यही पैसा तिरेर अदालत पुगे । फर्किंदालाई गाडी भाडा थिएन । उनले सोचेका थिए, बहस सकिएपछि पक्षधरले केही पैसा दिइहाल्छन् त्यही पैसाले गाडी चढेर कोठा आउँछु ।

तर, उनी त ‘धन्यवाद’ भन्दै पिठ्यू फर्काएर पो हिँडे । शिव विलखबन्दनमा परे । गाडी चढ्न पैसा थिएन । नचढूँ भक्तपुरबाट काठमाडौंको अनामनगर पुग्नु थियो । गाडीको सहचालकसँग याचना गर्न उनको नैतिकताले दिएन । उनी लुरुलुरु दुई गोडाले सडक नाप्न थाले । उनलाई जिन्दगीदेखि नै वाक्क लाग्यो ।

हनुमन्ते खोलामा आएपछि उनले सोचे– यही खोलामा यो कालो कोट र कालो ब्याग बगाइदिऊँ । कति गर्नू संघर्ष ! संघर्षको पनि त सीमा हुन्छ नि ! आजैदेखि यो पेसा छाड्छु ।

लगत्तै उनको अर्को मनले भन्यो– यो कोट र ब्यागको के दोष ? यो त नियति हो, भोग्नै पर्छ ।

उनी हिँडेर ल फर्म आइपुगे । बेलुका अधिवक्ता ढुंगानासँग भेट भयो । उनले भने, “सर म घर जानुपर्ने भयो । अब म यो काम गर्न सक्दिनँ ।”

यति भनेर उनले कोट र झोला बुझाइदिए । जवाफमा ढुंगानाले भने, “जान्छौ नै भने ठिकै छ तर तिमीले ल फर्म खोल्ने भए मलाई खबर गर्नू । म केही पुस्तक तिमीलाई दिन्छु ।”

आफ्नो फर्ममा काम गरेका व्यक्तिले राम्रो गरून् भनेर उनले सबैलाई पुस्तक दिँदा रहेछन् । शिवको मन साह्रै अमिलो भयो । दुःखमा दुलर्भ अवसर दिएर त्यो समय आकर्षक तलबसमेत दिने अधिवक्ता ढुंगानालाई ढाँटेर उनी छोड्दै थिए । गह्रुंगो मन लिएर उनी ल फर्मबाट वकिल पेसालाई बिदाइको हात हल्लाउँदै कोठातर्फ लागे । धमिलो आँखाले आफ्नो भविष्यलाई हेरे ।

पत्रकारिता

०५१ सालतिर प्रजातान्त्रिक ‘स्कुलिङ’बाट ‘देशान्तर’ र ‘विमर्श’ तथा वामपन्थी ‘स्कुलिङ’बाट ‘दृष्टि’ साप्ताहिक चलिरहेका थिए । त्यही बेला ‘दृष्टि’मा विभाजन आयो । फुटेर गएकाहरूले ‘जनआस्था’ निकाल्ने भएपछि ‘दृष्टि’का लागि पत्रकार चाहियो ।

शम्भु श्रेष्ठ, कुन्दन अर्याल र रघुजी पन्तले शिवलाई बोलाएर काम गर्न आग्रह गरे । वकालती पेसा छोडेर नयाँ केही गर्छु भनेर बसेका शिवले पनि काम सुरु गरे । धरान क्याम्पसको भित्ते पत्रिकामा सुरु गरेको लेखनले उनलाई साथ दियो । ‘दृष्टि’मा २५ सय रुपैयाँ तलबबाट सुरु गरेको पत्रकारिताको यात्रामा त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेन । पत्रकारिताको बाह्रखरी सिकाउने ‘दृष्टि’मा उनले दुई वर्ष यात्रा गरे ।

छोटै भए पनि उनले समाचारको अनुभव सँगाले । राजनीतिक नेतृत्वलाई नजिकबाट नियाले । समाचारका स्रोत थाहा पाए । पत्रकारितामा शिवका पखेटा लागे ।

तीर्थ कोइरालाको नेतृत्वमा ‘कान्तिपुर’बाट ठूलो समूह निस्किएर ‘सगरमाथा’ र ‘एभरेस्ट हेराल्ड’ नामक पत्रिका खोल्ने भयो । शिव पनि ‘सगरमाथा’ पत्रिकामा पुगे । ‘सगरमाथा’मा तीर्थ कोइराला, कार्टुनिस्ट राजेश केसीलगायतका थिए । ‘एभरेस्ट हेराल्ड’मा भने अमित ढकाललगायत पत्रकार थिए । किरण नेपाल, विष्णु सापकोटालगायत पत्रकारहरूको समूहमा शिव पनि पुगे र काम गर्न थाले ।

तीन वर्ष ‘सगरमाथा’मा काम गरेर शिवले ‘पत्रिका’ मा काम गर्न थाले । त्यसमा अजयभद्र खनाल र कसमस विश्वकर्मा पनि थिए ।

साप्ताहिक ‘पत्रिका’ ट्याब्लोइड थियो । शिवकै शब्दमा त्यो पत्रिकाले समाज, राजनीति, मनोरञ्जन र यौनका विषय उठान गथ्र्यो । काठमाडौंका मान्छेको यौन आदत कस्तो छ, ‘पत्रिका’मा त्यही आउँथ्यो । खोजमूलक सामग्री छाप्थे ।

अन्नपूर्ण राणाको समाचार उनीहरूकै ‘पत्रिका’मा छापिएको थियो । महिलाको यौनांग परीक्षण अदालतले गर्न पाउने कि नपाउने भन्ने मुद्दामा सर्वोच्चले ‘व्यक्तिको गोपनीयता हो, पाइँदैन’ भन्ने फैसला गरेको विषयलाई उनीहरूले ‘पत्रिका’को कभर स्टोरी बनाएर छापेका थिए ।

शिव भन्छन्, “मैले समाचारका भित्री तह खोतलेर डेफ्थ स्टोरी गर्न थालेको ‘पत्रिका’बाटै हो । बाहिर नआएका कुराहरू खोतलेर समाचार लेख्न त्यहीँबाट सुरु गरें ।”

‘पत्रिका’ साढे दुई वर्षमा बन्द भयो । उनको पत्रकारिता भने बन्द भएन । अनवरत चलिरह्यो । पत्रकारिता गरेरै उनले बीएल पढ्दा लागेको ३५ हजार ऋण तीन वर्षमै तिरे ।

‘हिमाल’ खबर पत्रिका

‘हिमाल’ खबर पत्रिका प्रकाशन हुने भयो । राजेन्द्र दाहालले शिवलाई बोलाए । कनकमणि दीक्षितको टिममा उनले काम गर्न थाले । शिव भन्छन्, “हिमाल खबर पत्रिका मेरा लागि पत्रकारिता करियरको विश्वविद्यालय हो । त्यहाँ मैले अन्त सिक्दै गरेको पत्रकारितालाई तिखार्ने मौका पाएँ ।”

रिर्पोटरबाट ‘हिमाल’ छिरेका शिव सम्पादक हुँदै ९ वर्षपछि बाहिरिए ।

उनले त्यहाँ जागिरमात्रै खाएनन्, पत्रकारिताको गम्भीरता बुझे । पत्रकारिताको प्रभाव र माइलेज बुझे र गहन स्टोरी गर्न थाले । ९ वर्षमा उनले ‘हिमाल’का लागि थुप्रै कभर स्टोरी गरे । थुप्रै खोजी रिपोर्टिङ गरे ।

राजस्वका नक्कली स्टिकरसम्बन्धी स्टोरी उनैले गरेका हुन् । अहिले प्रत्येक बोतल र सामग्रीमा लगाइने स्टिकर त्यो समय बोत्तलमा नभई कार्टुनमा लगाइन्थ्यो । त्यसले वार्षिक कति राजस्व हिनामिना भइरहेको छ र त्यस्ता स्टिकर कति नक्कली छन् भनेर उनले समाचारमार्फत सार्वजनिक गरे । उनको त्यही समाचारले परिवर्तन ल्याइदियो ।

सीडी काण्ड

नेपाली पत्रकारितामा एउटा ‘सीडी काण्ड’ भन्ने वाक्य प्रचलित छ । अदालती रिपोर्टिङ गर्ने पत्रकार यसबारे अझ बढी जानकार छन् । यो समाचार उनैले लेखेका थिए ।

राजेश महर्जन नामक व्यक्ति लामो समयदेखि मुद्दा लिएर सर्वोच्च अदालत धाइरहेका थिए । उनीसँग अदालतका कर्मचारी बाबुराम दाहालले टेलिफोनबाट ३ लाख दिए आफूले भनेको न्यायाधीशको बेन्चमा मुद्दा पार्ने र जिताउने प्रलोभन दिएका थिए ।

महर्जनले पैसा दिए पनि मुद्दा जितिन्छ भन्ने शतप्रतिशत विश्वास व्यक्त गर्न सकेनन्– पहिलो कुरा । दोस्रो कुरा– सर्वोच्चमा भइरहेको भ्रष्टाचारजन्य बेथितिलाई बाहिर ल्याउँछु भनेर उनले आफ्नो टेलिफोन संवाद सीडीमा रेकर्ड गरेका रहेछन् । त्यो सीडी उनले तत्कालीन प्रधानन्यायाधीश दिलीपकुमार पौडेललाई बुझाएका रहेछन् । त्यो कुरा थाहा पाएका शिवले आफ्नो स्रोत प्रयोग गरेर सीडीको एक प्रति डबिङ हात पारे । सात वटा कल रेकर्ड थियो सीडीमा ।

“तर त्यो स्वर राजेशको हो कि हैन भनेर मलाई शंका लाग्यो । क्यारिकेचर गरिएको पनि हुन सक्ने भन्दै क्रस चेक गर्नुपर्छ भन्ने लायो र मैले राजेशलाई फोन गरेँ । उनी सुरुमा त आत्तिए तर पनि उनले आफूले आदालतको विकृति बाहिर ल्याउन फोन रेकर्ड गरेको बताए,” शिव भन्छन्, “त्यो समाचारमा मैले उनलाई पनि कोट गरेपछि स्टोरी बलियो भयो । ‘सर्वोच्च अदालतमा घूस’ शीर्षकमा समाचार छापियो ।”

समाचार छापिएपछि उनलाई मानहानिको मुद्दा चलाउने गाइँगुइँ हल्ला पनि चल्यो । शिव भन्छन्, “टेलिफोन संवाद र टेलिफोन गर्ने व्यत्तिकै कोट भएपछि म माथि नै थिएँ । त्यसैले आँटै गरेनन् ।”

अहिलेको पत्रकारिता

भ्रष्टाचारमा बर्सेनि देश उकालो लाग्दै छ । तर, भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई जवाफदेही बनाउन नेपाली पत्रकारिताले सकेको छ कि छैन ? यो ‘इन्डिकेटर’ नै नेपालको पत्रकारिता कहाँनेर छ भनेर मापन गर्ने बलियो माध्यम भएको शिव बताउँछन् ।

“बलियो प्रश्नले शासक र सत्तालाई जवाफदेही बनाउँछ तर हामी अहिले पनि बलियो प्रश्न गर्न सकिरहेका छैनौं,” पत्रकार महासंघका पूर्वसभापति समेत रहेका शिव भन्छन्, “विश्वभर अब समाचारको स्रोत व्यक्ति हुँदैन, डाटा हुन्छ भनेर त्यहीअनुसारको प्राक्टिस हुन थालिसक्यो तर हाम्रोमा अझै पनि व्यक्ति नै समाचारको स्रोत हो भनेर व्यक्तिकै बोलीलाई समाचार बनाइरहेका छौं । सिक्काका दुई पाटा उत्तिकै महत्वपूर्ण हुन्छन् भन्ने तथ्यलाई बिर्सिएर एउटै व्यक्तिको भनाइलाई समाचार मानिरहेका छौं । कति त व्यक्तिलाई स्रोत बनाउनसम्म अल्छी गरिरहेका छौं ।”

उनको नजरमा अर्को एउटा डरलाग्दो तथ्य पनि छ । “नेपाली पत्रकारहरूले स्रोतको ढाडमा बन्दुक राखेर पड्काइरहेका छन्,” उनी भन्छन्, “स्रोतलाई भेट्ने, लामो कुरा पनि गर्ने । विषय पनि गलत होइन तर त्यसलाई तोडमोड गरेर आफ्नै भाषामा समाचार लेख्ने प्रवृत्ति हावी भएको छ, स्रोतको कोट पनि आफ्नै भाषामा कोटभित्रै लेखिन्छ यहाँ ।”

राष्ट्रका गम्भीर विषय छाडेर पत्रकारिता कर्पोरेट स्वार्थको पछाडि कुदिरहेको ठान्छन् उनी । त्यसैले प्रेसमाथि नागरिक हस्तक्षेप बढेको उनलाई लाग्छ ।

“विचार निर्माता भनेर आफूलाई दाबी गर्ने सम्पादक तथा पत्रकारका सामग्रीमाथि विवेक प्रयोग गर्दै त्यसलाई सही÷गलत खुट्याउन सक्ने अडियन्स तयार भएका छन्,” उनी भन्छन्, “अहिले घटना, दुर्घटना, उत्सवका समाचार स्रोत पत्रकार होइन, नागरिक हुन थालेका छन् । यसले पत्रकारलाई म कहाँनेर छु भनेर सोच्न बाध्य बनाइदिएको छ । पत्रकारको भूमिका सीमित हुँदैछ ।”

समाचार के हो भनेर खुट्याउन सक्ने पत्रकार सीमित भएको बताउँछन् शिव । भन्छन्, “पत्रकार खोज्दै आउने समाचार विज्ञापन हुन् । समाचार खोज्न पत्रकार स्वयं बाहिर निस्किनुपर्छ । प्रतिबद्धतापूर्वक काम गर्ने पत्रकारलाई नेपालमा आर्थिक असुरक्षा छैन, त्यस्तो पत्रकारलाई छ, जसको प्राथमिकतामा यो पेशा पर्दैन ।”

राष्ट्रको सुरक्षा र स्वाभिमानका लागि पत्रकारिताले सधैं निगरानी गरिराख्नुपर्ने उनी बताउँछन् । “स्मार्ट लाइसेन्स बनाइदिने नाममा नेपालका नागरिकको व्यक्तिगत विवरण भारतले राख्ने गरेको तथ्य हाम्रो खोज पत्रकारिता केन्द्रले बाहिर ल्यायो, त्यसपछि अदालतले भारतमा व्यक्तिगत विवरण पठाएर स्मार्ट लाइसेन्स बनाउने प्रक्रिया रोक्न आदेश दिएको छ,” हाल खोज पत्रकारिता केन्द्रको नेतृत्व गरिरहेका शिव भन्छन्, “पत्रकारले सधैं समाजमा सकारात्मक प्रभाव पार्ने समाचार गर्न सक्नुपर्छ ।”

रहर

लामो समय पत्रकारिता गर्दा दैनिक पत्रिकाको सम्पादक हुने रहर सबैलाई लाग्छ । शिवलाई के भयो ?

नेपालमा सीमित दैनिक पत्रिका छन् । रहर गर्दैमा सम्पादक भइन्छ जस्तो लाग्दैन उनलाई । सम्पादक भएपछि पत्रकारको ‘क्रियसन’ मर्दै जाँदो रहेछ ।

“हिमाल खबर पत्रिकाको सम्पादक हुँदा झन्डैझन्डै म पनि यही कुराको सिकार भइसकेको थिएँ । यहाँ सम्पादक हुनु भनेको आधी व्यवस्थापकीय जिम्मेवारी पनि ग्रहण गर्नु हो । सम्पादक भएपछि समाचार लेख्ने वातावरण हुँदैन, सिर्जनशीलता मर्दै जान्छ,” उनले व्यंग्य गरे, “सम्पादक भएपछि धेरै वरिष्ठ सम्पादक हुन्छन् । त्यसपछि उसले कामै गर्नु पर्दैन । काम गरेन भने नै ऊ वरिष्ठ सम्पादक हो ।”

मनको एउटा कुनामा दैनिक पत्रिकाको सम्पादक भन्दा पनि सम्पादकको जिम्मेवारी बहन गर्ने गरी लेख्न पनि सक्ने वातावरण भए काम गर्ने रहर उनलाई अद्यापि छ ।

कुनै बेला उनी ‘कान्तिपुर’को सम्पादक हुने कुरा चलेको थियो । एक चरणमा छलफल पनि भयो । उनी भन्छन्, “सानो सर्कल भएकाले यहाँ धेरै कुरा आउँछन् तर एकपटक भएको कुरा थप अगाडि बढेन ।”

स्रोत : बाह्रखरी 

सम्बन्धित समाचार