रेखा थापा लागिन् बालविवाह रोक्ने अभियानमा

गोविन्द देवकोटा 

नेपालगन्ज : नायिका रेखा थापाले आफूले पनि बालविवाहकै कारण विभिन्न पीडा सामना गर्नु परेको भन्दै आगामी दिनमा बालविवाह हुन नदिने संकल्प गरेकी छन् । ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’ भन्ने नारासहित गत वर्षदेखि सुर्खेतबाट सुरु भएको संकल्प सम्मेलनमा छोरीको भविष्य सुनिश्चित गराउन बाँकेमा एक कार्यक्रमबीच संकल्प गरियो ।

शुक्रबार भएको सोही कार्यक्रममा नायिका थापाले बालविवाह हुन नदिने संकल्प गरिन् । सिनेमामा प्रायः नारीमाथि हुने हिंसाको आवाज उठाउने नायिका थापा वास्तविक जीवनमा पनि महिला हिंसा अन्त्यका लागि महाअभियानमा सरिक भएकी हुन् ।

विगत एक वर्षदेखि बालविवाह अन्त्यका लागि विभिन्न ठाउँमा प्रवचन र प्रतिबद्धता गराउँदै आएका अन्तर्राष्ट्रिय लाइफ कोच नरबहादुर कार्कीको अभियानलाई नायिका थापाले साथ दिएकी हुन् । महिला हिंसाको मूल जड नै बालविवाह हो । चर्चित कलाकारबाट हिंसा अन्त्यका लागि अभियान थाल्दा प्रभावकारी हुने भन्दै नायिका थापालाई महाअभियानमा सरिक गराएको कार्कीले बताए ।

rekhathapa

कार्यक्रममा अभियन्ता कार्की र नायिका थापाले नेपालगन्जवासीलाई पनि बालविवाह अन्त्य गर्न संकल्प गराए । ‘महिला हिंसाका कारण कति महिलाले अकालमै ज्यान गुमाउनु परेको छ’, कार्कीले भने, ‘अब हाम्रा छोरीचेलीको भविष्य र जीउज्यानको सुरक्षा हुनुपर्छ, सबैले हिंसाको जड बालविवाह अन्त्यका लागि आआफ्ना ठाउँबाट संकल्प गरौं ।’

नायिका थापाले पनि महिलालाई आफ्नो जीवनमा भविष्य बनाउने बाटोको मुख्य बाधक नै बालविवाह भएको बताइन् । कार्यक्रमको निम्तो पाएसँगै फेसबुक अभियानमा सहभागी हुन पाएकोमा भाग्यमानी महसुस गरेको पोस्ट गरेकी थापाले नेपालगन्जमा भएको संकल्प सम्मेलनमा सहभागी हुन पाउनु आफ्ना लागि पुण्य भएको बताइन् । ‘छोरीचेलीको भविष्यसँग जोडिएको महाअभियानमा संलग्न हुन पाउनु मेरो लागि निकै ठूलो अवसर हो, सिनेमामा मात्रै होइन वास्तविक जीवनमा समेत औपचारिक रूपमा नारीको अधिकारको पक्षमा बोल्ने मेरो उपयुक्त मञ्चको रूपमा मैले पाएकी छु’, उनले भनिन् ।

थापाले परिवारले छोरीका लागि उचित वरभन्दा पनि उचित शिक्षाका लागि ध्यान दिनुपर्ने बताइन् । ‘हाम्रा अभिभावक छोरीका लागि राम्रो दुलहाको खोजीमा मात्रै ध्यान दिन्छन् तर छोरीको भविष्य कहाँनेर सुरक्षित हुन्छ भन्ने हेर्दैनन्’, कार्यक्रममा उनले भनिन्, ‘आजैदेखि एउटा नारीले गर्वका साथ आफ्नो पहिचान स्थापित नगरेसम्म विवाहका बारेमा परिवारले सोच नबनाउन आग्रह गर्छु ।’

अभियानलाई सम्बोधन गर्दै कार्कीले भने, ‘आउनुस् यो अभियानको महत्वपूर्ण हिस्सा बन्नुहोस्, साठी वर्षको हुँदा यो कुरामा गर्व गर्न चाहन्छु कि म नेपाली छोरीहरूको सवालमा निःस्वार्थ हिँडे र रूपान्तरणको हिस्सा बनेँ ।’

बालविवाहको अवस्था बाँकेमा निकै जर्जर छ । कार्यक्रममा सहभागी सरकारी निकायका कर्मचारी, नागरिक समाजका अगुवा, सामाजिक अभियन्ता, संघसंस्था, बालबालिकाका क्षेत्रमा काम गर्ने निकायहरूले जिल्लामा बालविवाह अन्त्यका लागि संकल्प गरेका छन्।

सम्बन्धित समाचार