राष्ट्रिय सभामा वाम गठबन्धनको सिट बाँडफाँट

एमालेलाई २९ सिट, माओवादीलाई १४

काठमाडौँ,३ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेको छ ।

सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बुधबार दिउँसो भएको बैठकपछि दुई दलले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो गरेका हुन् ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङका अनुसार वाम गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने सहमति भएको हो । ‘हामीले ४३ सिटमा उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेका छौँ’, नेता नेम्वाङले भने, ‘७० र ३० को अनुपातमा दुई दलबीच सिट बाँडफाँट भएको हो ।’
दुई दलको संयुक्त कार्यदलले ४३ सिटमा वाम गठबन्धनको जित पक्का भएको भन्दै भागवण्डा मिलाएको हो । राष्ट्रिय सभामा जम्मा ५९ सिट हुने व्यवस्था रहेको छ ।

बाँकी रहेका १३ सिटमा मधेसवादीसहितका दलसँग परामर्श गरेर उम्मेदवारी तय गरिने नेम्वाङले बताए । राष्ट्रिय सभामा तीन सिट भने सरकारले मनोनयन गर्न पाउने व्यवस्था छ ।

सम्बन्धित समाचार