भोजपुरमा दलित बालिकाकाे बलात्कारपछि हत्या

गणेश लम्साल

बिराटनगर  १८ मंसिर ।  आँखा फोरेर १४ बर्षिया दलित बालिकालाई तीन हप्ता पहिले बलात्कार गरिएको भोजपुरको आमचोक गाउँपालिकामा अर्की एक सोही उमेरकी दलित बालिकालाई बलात्कार गरि हत्या गरिएको आशंका बढेपछि प्रहरीले अनुसन्धान थालेको छ ।
आमचोक गाउँपलिका १० धारापानीमा हजुरबा हजुरआमासँगै बस्दै आएकी १४ बर्षीया बालिका शर्मीला परियारको बलात्कार गरेर हत्या गरेको घटना ढाकछोप भएको भन्दै गाउँलेहरुले माथिल्लो तहमा उजुरी गरेपछि भोजपुर प्रहरीले उक्त्त घटनाको अनुसन्धान थालेको हो ।
सिलाईको काम गरिरहेकी बालिका शर्मीलाको शवचैत २०७३ मा दिउँसो घरमा झुण्डिएको अवस्थामा फेला परेको थियो । अनुहार र शरिरमा चोट भएको र दिउँसो रहस्यम तरिकाले झुण्डिएको अबस्थामा शर्मीलाको मृत शरिर फेला परेकोले उनको बलात्कार पछी हत्या गरिएको दाबी गाउँलेहरुको छ ।
उक्त्त घटनाको तत्काल नजिकै रहेको प्रहरी चौकीका सई गणेश श्रेष्ठले हतारमा बालिका भुण्डिएर मरको हो भन्ने मुचुल्का बनाएकाले घटना ढाकछोप भएको आरोप गाउँलेहरुको छ । उक्त्त घटना आत्महत्या नभै हत्या नै भएको र शर्मीलामाथि बलात्कार भएको दाबी गर्दै आफन्त र गाउँलेहरुले पटक पटक भोजपुर प्रहरीसँग आग्रह गरेपनि अनुसन्धान अगाडी बढेको थिएन । तर ११ कार्तिक २०७४ मा आमचोकमै १४ बर्षिया अर्की दलित बालिकाको आँखा फोरेर बलात्कार भएपछि गाउँलेहरुले संघिय प्रहरी इकाई धरानमा गरेको उजुरी पछि भोजपुर प्रहरीले शर्मीला परियार घटनाको पुन अनुसन्धान थालेको हो । शर्मीला घटनाको चुस्त अनुसन्धान गरेर दोषीलाई पक्राउ गरि कार्बाही गरेको भए दोस्रो घटना नघटने आमचोकबासीहरुले बताएका छन । आमचोक गाउँपालिका उपाध्यक्ष सिता राइले शर्मीला परियार घटनाको अनुसन्धानमा प्रहरीले प्रारम्भमै अनुसन्धान बिगारेको र शंकास्पद व्यक्त्तिलाई पक्राउन गर्न बेवास्ता गर्दा घटना ढाकछोप भएको हुनसक्ने बताइन ।
भोजपुर प्रहरी प्रमुख डिएसपी दिपेन्द्र पंन्जियारले घटना भएको समयमा आफु बहाल नरहेको तर माथिल्लो निकायबाट निर्देशन भएपछि शर्मीला परियार घटनाको पुन अनुसन्धान सुरु गरेको बताए ।

यसरी भएको थियो शर्मीला परियार घटना

स्थानियहरुका अनुसार आम्चोक गाप १० धारापानी स्थित एउटा सानो पराले घरमा हजुरबा रमेश र हजुर आमा कला परियारसँग बसेर १४ बर्षे बालिका शर्मीला स्थानिय जनता निमाबिमा कक्षा ८ मा पढदै थिइन । सुकुम्बासी परिवार भएकोले हजुरबा र हजुर आमाले गर्दै गएको लुगा सिलाउने काममा उनले पनि सघाउने गरेकी थिइन । हजुरबा आमा बालिघरे प्रथामा सिलाई पेशा गरेर जीवन चलाउँथे । जमिनका नाममा एक चिम्टी माटो पनि थिएन । उनिहरु अर्काको जमिनमा शरण लिएर बसेका थिए । शर्मीलाका बषौपहिले बाबु बेपत्ता भएका थिए । आमाले अर्केसँग बिबाह गरेपछि उनी आम्चोक धारापानी स्थित हजुरबा हजुरआमासँग बसेर पढदै आएकी थिइन ।
२०७३ चैत महिनामा अर्को गाउँका एक जना १८ बर्षिय मगर केटा लुगा खुटाउने बहानामा शर्मिलाको घरमा दिउँसो आएका थिए । हजुरबा गाउँमा लुगा सिलाउन गएका थिए । हजुरआमाले केटाको सर्ट खुटिदिन नातिनी शर्मीलालाई आग्रह गर्दै उनी गाउँमा मकै पिध्न हिँडेकी थिइन । तर जव उनि घरमा फर्किन शर्मीलाको शव घरको घुरीमा रक्ताम्मे अबस्थामा झुडिण्एको थियो । अनुहार भरि रगत थियो । लुगा च्यातिएका थिए । गाउँलेहरुले ती बालिकालाई कुनै यौन पिपासुले बलात्कार गरेर मारेको हो भन्ने शंका पक्का गरे । तर नजिकै रहेको प्रहरी चौकीका सई गणेश श्रेष्ठले बालिका भुण्डिएर मरको हो भन्ने मुचुल्का बनाए । लुगा खुटने बहानामा आएका मगर थरका ती केटालाई नत पक्राउ गरियो नत कुनै सोधपुछ गरियो । अन्य शंकास्पद मानिशहरुलाई पनि सोधपुछ गरिएन । गाउँलेहरुका अनुसार प्रहरीले शंकास्पद व्यक्त्तिलाई नियन्त्रणमा लिएर सोधपुछ सम्म गरेको भए ती बालिकाको हत्यारा तत्काल पक्राउ पर्न सक्थे । तर गरिब र निमुखा भएकै कारण एउटा हत्यारा त्यसै जोगियो भने बलात्कारको घटना गुपचुप भयो ।
इता नातिनी मारिएपछि बिरक्त्तिएर हजुरबाआमाले पनि उक्त्त ठाउँ छाडेर हिँडे । उनिहरु हाल तल रानीटार भन्ने ठाउँमा आएर सिलाई पेशा गरि जीवन धानिरहेका छन ।

दोस्रो घटनाका आरोपीलाई दुई मुद्दा

घाँस काटन गएको बेला भोजपुरको आमचोक गाउँपालिका ९ दुम्मानामा भोजपुर क’ नामकी १४ बर्षिया दलित समुदायकी बालिका १९ बर्षिय सन्तोष श्रेष्ठबाट बलात्कारकृत भएकी थिइन । सन्तोषले आँखा फोरी बलात्कार गरेर ज्यान मार्ने प्रयास गरेको भएपनि पिडित बालिका जसोतसो घरमामा आइपुगेपछि ज्यान जोगिएको थियो । हाल सम्म उनको धरान स्थित बिपी प्रतिष्ठानमा उपचार भैरहेको छ । उनको देब्रे आँखा काम नलाग्ने भएको छ । घटना सार्बजनिक भएपछि मोरंग , सुनसरी भोजपुरका मात्र नभएर देश बिदेशका बिभिन्न दलित र महिला अधिकारबादी संस्था र संचार माध्यमले चासो दिएका थिए । प्रहरीले आरोपी सन्तोषलाई पक्राउ गरेर ज्यान मार्ने उद्योग र जर्बदस्ती करणीको मुद्दा दर्ता गराएर अनुसन्धान अगाडी बढाएको छ ।

बलात्कारले बदनाम बन्दै भोजपुर

आमचोक गाउँपालिकामा मात्र नभएर भोजपुर अरुण गाउँपालिका ५ याकुकी ११ बर्षिया श्रेष्ठ थरकी बालिकालाई स्थानिय २० बर्षे दुर्गाबहादुर श्रेष्ठले बलात्कार गरेर एक बर्ष पहिले गर्भबती बनाएका थिए । गाउँलेहरुले सानै उमेरमा चरित्रहिन भएको भन्दै उल्टै ती बालिकालाई गाउँ निकाला गरेका थिए । तर घटना सार्बजनकि भएपछि अधिकारर्मीहरुले चर्को दवाव दिएपछि फरार भएका दुर्गा पक्राउ गरिएका थिए । भोजपुरमा आएदिन गरिब र दलित बालिकाहरुमाथि धमाधम यौन अत्यचार हुन थालेपछि भोजपुरका सचेत बर्ग चिन्तत बनेका छन । भोजपुरमा भैरहेको अत्यचारले सिँगो भोजपुर राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा बदनाम भैरहेको उनिहरुको गुनासो छ ।

सम्बन्धित समाचार