बाजुरा जहाज दुर्घटनाका दुई घाइतेको जिवित उद्दार गरेर काठमाडौं पुर्‍याउँदा …

डा रुपचन्द्र विश्वकर्मा

म बाजुरा जिल्ला अस्पताल मार्तडीमा कार्यरत छु । केही दिनअघि मात्रै नेपाली सेनाको प्लेन दुर्घटना भएको ठाउँ कोल्टी भन्दा त्यस्तै ९ घन्टा जति पैदल यात्राको दूरीमा छ यो । तर, संयोगले म त्यो दिन बाजुराकै दुर्गम ठाउँ विछ्यामा स्वास्थ्य शिविर चलाउन हिँडेको थिएँ । बिहान पुग्दा केही ढिलो भएका कारण त्यही दिन विछ्या नगइ कोल्टीमै रहने निर्णय लिएँ।

कोल्टीको नजिकै आयोजित एउटा कार्यक्रम उद्घाटनमा सहभागी भएर म खाना खान थालेको थिएँ । त्यस्तै दुई तीन गाँस भात मुखमा राखेको थिएँ, आर्मी घाइते भएर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको खबर आयो । सोधखोज गर्दा केही मिनेटअघि मात्रै प्लेन दुर्घटनामा परेको रहेछ । चालकको मृत्यु भएपनि सहचालक र केही घाइते रहेको सूचना त्यो खबर ल्याउनेले दिए।

म खाना छाडेर तुरुन्तै स्वास्थ्य केन्द्रमा पुगें । पुग्नेबित्तिकै घाइतेमध्ये सुवेदार पूर्ण खड्कालाई हेर्न पुगें । स्थिति भयानक थियो । अत्याधिक रक्तश्राव भइरहेको थियो । जताततै घाउ नै घाउ थियो भने घाउमा पूरै माटो लतपतिएको थियो । मुख, आँखामा पनि धुलोमाटो नै धुलोमाटो थियो।

मैले दुर्गममा उपचार सेवा दिने क्रममा अनेक प्रकारका केस ह्यान्डिल गरेको थिएँ तर यस्तो दर्दनाक दुर्घटनाका घाइतेलाई सम्हाल्नु पहिलोपल्ट परिरहेको थियो । आफूले पढेको, अनुभव गरेको सबै उपाय लगाएर घाइतेलाई स्टेबल राख्ने चुनौती थियो । प्राथमिक स्वास्थ्य केन्द्रका नर्स, पारामेडिक साथीहरुको सहयोगमा घाउ सफा, सिलाउने गरे स्लाइन दिएर राखियो उहाँलाई । आवश्यक अन्य औषधि दिएर राखिएपछि अर्काे पनि घाइते रहेको सूचना आयो।

उहाँ भन्दा बढी जोखिमपूर्ण अवस्था रहेछ सहचालक मेजर अनिता आलेमगरको । उहाँलाई स्वास्थ्यकेन्द्र ल्याइपुर्‍याउँदा घुडामुनिको भाग काटिएर असाध्यै रक्तश्राव भइरहेको थियो । बेहोश अवस्थामा रहनुभएको उहाँलाई स्ट्रेचरमै कृत्रिम श्वास दिनुका साथै सिपिआर गर्‍यौं । सुरुमा त काटिएको ठाउँमा रक्तनलीहरु नै नपाएर हैरान भइयो । निकै प्रयासपछि रक्तनली भेटेर रक्तश्राव नियन्त्रणमा ल्यायौं । तुरुन्तै केही औषधि दिएर घाइतेको अवस्था केही सहज तुल्यायौं।

अत्याधिक रक्तश्राव भएकाले चाँडो भन्दा चाँडो उहालाई रगत चढाउनुपर्ने अवस्था थियो । कोल्टीमा रहेका आर्मीका साथीहरुले एक घन्टा स्वास्थ्यचौकीमै राखेर रगत चढाउने कुरा गर्नुभयो । तर, म भने चाँडो भन्दा चाँडो सुविधा सम्पन्न अस्पताल पुर्‍याउन कसरी सकिन्छ भनेर सोचिरहेको थिएँ।

एअरपोर्टमा सीता एअरको जहाँ रहेकाले तुरुन्तै नेपालगञ्ज पुर्‍याउने निर्णय लिएँ मैले । अवस्थामा पनि केही जोखिम बाहिर रहेको मेरो अनुमान थियो । अक्सिजन, औषधि र स्लाइन पनि दिइराखेर नेपालगञ्ज पुर्‍याउनुपर्ने भएकाले सँगै चिकित्सकको जरुरी थियो । त्यसैले म पनि सँगै नेपालगञ्ज आएँ । इमर्जेन्सी रेस्क्युका लागि एअरपोर्टमा एम्बुलेन्स तयार अवस्थामा थिए । हामीले कोहलपुर शिक्षण अस्पतालमा पुर्‍याएर आर्मी र मेडिकल कलेजका डाक्टरको जिम्मा लगायौं।

सहचालक मेजर आलेमगरलाई भेन्टिलेटरमा राखेर त्यहीँ उपचार थालियो । किनकि उहाँलाई तत्काल हेलिकोप्टरमा काठमाडौं ल्याउने स्थिति बनेन । अर्काे घाइते खड्कालाई काठमाडौं ल्याइयो । आर्मीका डाक्टरसँगै म पनि मृत पाइलट कैलाश गुरुङको शव र घाइते खड्कालाई ल्याएर काठमाडौंसम्मै पुगें । घाइते खड्काको छाउनी अस्पतालमा उपचार सुरु भयो।

घाइते सहचालक आलेमगरलाई पछि काठमाडौंको ग्रान्डी हस्पिटल पुर्‍याइयो । अहिले उहाँको उपचार भइरहेको छ । हिजो मात्रै भेट्न पुगेको थिएँ अस्पताल। सिस्टरले उहाँलाई ‘तपाईंलाई बाजुराबाट उद्धार गरेर ल्याउने डाक्टर आउनुभएको छ’ भन्दा पुलुक्क हेर्नुभयो, बोल्नु सक्नुभएन । उहाँको स्वास्थ्यमा आइरहेको सुधार देखेर मन हलुका भयो ।

म अहिले फर्किरहेको छु, आफ्नै कार्यक्षेत्र बाजुरा। सम्झिरहेको छु, उहाँहरुको ज्यान जोगाउन परेको संयोग । गरिएका प्रयासहरु । एउटै अक्सिनज सिलिन्डरबाट दुईजनालाई  अक्सिजन दिएर प्लेनबाट ल्याउँदै गरेको अवस्था, तीन ठाउँबाट लगाइएको सलाइन, बेला–बेला परिवर्तन गर्नुपर्ने सलाइन र ज्यानको पोजिसन आदि–आदि ।

दुई जना राष्ट्रसेवकको ज्यान जोगाउन सहयोग र सहयात्रा गर्ने हेल्थ असिस्टेन्ट मित्र प्रकाश विक्रम शाही र सीता एअरकी एअर होस्टेजलाई पनि धेरै–धेरै धन्यवाद । घाइते दुवै जनालाई शिघ्र स्वास्थ्य लाभको कामना !

सम्बन्धित समाचार