प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकियो

काठमाडौं, ३ माघ । नेपाली कांग्रेस र मधेश केन्द्रीत दलको सहमतिमा सातै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएका छन् । उनीहरु मध्ये केही चर्चित अनुहार हुन भने केही अहिले मात्रै चर्चामा आएका छन् ।

प्रदेश १ मा गोविन्द सुब्बा प्रदेश प्रमुख तोकिएका छन् । धनकुटा निवासी सुब्बा अंग्रेजीका प्राध्यापक हुन । अखिलबाट राजनीति शुरुआत गरेका उनी पछि कांग्रेस निकट भएका थिए ।

प्रदेश २ मा रत्नेश्वरलाल कायस्थ प्रदेश प्रमुख तोकिएका छन् । मधेश केन्द्रीत दलहरुको समर्थनमा प्रदेश प्रमुख तोकिएका कायस्थ पूर्व सचिव हुन । उनी राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुन । उनी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका (स्टाफ कलेज)का पूर्व प्रमुख हुन ।

त्यस्तै अनुराधा कोइराला प्रदेश ३ को प्रदेश प्रमुख तोकिएकी छन् । माइती नेपाल संस्थापक कोइराला देश विदेश प्रख्यात छन् । मानव बेचविखन विरुद्धको अभियानमा संसारभरी नै चर्चित नाम हो, कोइराला ।

प्रदेश ४ मा बाबुराम कुँवर प्रदेश प्रमुख तोकिएका छन् । अर्घाखाँचीका कुँवर पूर्व महान्याधिवक्ता हुन । उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्याधिवक्ता थिए ।

त्यस्तै उमाकान्त झा प्रदेश ५ को प्रदेश प्रमुख तोकिएका छन् । उनी पूर्व सचिव हुन । २०७० को संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मीको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका थिए ।

प्रदेश ६ मा दुर्गा खनाल प्रदेश प्रमुख तोकिएका छन् । शिक्षण पेशामा संलग्न खनाल कांग्रेसको कोटाबाट राष्ट्रिय सभा सदस्य बनेका थिए ।

यसैगरी मोहनराज मल्ल प्रदेश ७ को प्रदेश प्रमुख तोकिएका छन् । शालिनव्यक्तित्वका रुपमा चिनिने मल्ल राष्ट्रिय पञ्चायतका सदस्य भएका थिए । उनी पराष्ट्रय सहायक मन्त्री भइसकेका छन् ।

त्यस्तै सरकारले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको छ ।

सम्बन्धित समाचार