पहिलाे चरणको स्थानीय तह निर्वाचनमा १३ दलित प्रमुख – उपप्रमुखमा

काठमाडाैँ ८ जेठ ।  पहिलो चरणको स्थानीय तह निर्वाचनमा दलित समुदायबाट गाउँ–नगरको प्रमुख तथा उपप्रमुखमा न्यून प्रतिनिधि निर्वाचित भएका छन् । अहिलेसम्मको नतिजाअनुसार तीन प्रदेशबाट दलित समुदायका दुई मेयर, पाँच उपमेयर र ६ उपाध्यक्ष निर्वाचित भएका छन् । २४ जिल्लाको गाउँ–नगर प्रमुखमा दलित समुदायको उपस्थिति शून्य छ ।

नगरपालिकाको मेयर निर्वाचित हुने दुवै एमाले हुन् । लेकबेसी नगरपालिका सुर्खेतबाट गगनसिंह सुनार र ढोरपाटन नगरपालिका बाग्लुङबाट देवकुमार नेपाली मेयरमा विजयी बनेका हुन् । दलित समुदायको कम प्रतिनिधित्व हुनुमा मूलधारका पार्टीहरूले नै प्रमुख तथा उपप्रमुखमा टिकट दिन कन्जुस्याइँ गरेको दलित अधिकारकर्मीहरूको गुनासो छ ।

प्रदेश नं. ४ मा ७ जना

प्रदेश नं. ४ बाट ७ जना मेयर तथा उपाध्यक्षमा निर्वाचित भएका छन् । जसमा गोरखाबाट दुई, म्याग्दी, लमजुङ, बाग्लुङ, तनहुँ र नवलपरासीबाट एक–एकजना रहेका छन् । उक्त प्रदेशमा मुस्ताङ, मनाङ, पोखरा, पर्वत र स्याङ्जाबाट एकजना पनि दलित प्रमुख–उपप्रमुखको उपस्थिति छैन ।

प्रदेश नं. ३ मा १ जना

प्रदेश नं. ३ बाट एकजना मात्र उपाध्यक्षमा निर्वाचित भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोकबाट एमालेकी दुर्गा नेपाली उपाध्यक्षमा निर्वाचित भएकी हुन् । ३ नम्बर प्रदेशको १२ जिल्लाबाट कुनै पनि दलित प्रमुख तथा उपप्रमुखमा आएका छैनन् ।

प्रदेश नं. ६ मा ५ जना

प्रदेश नं. ६ मा पाँचजना मेयर तथा उपमेयरमा विजयी भएका छन् । सुर्खेतको लेकबेसी नगरपालिकाबाट एमालेका गगनसिंह सुनार मेयरमा विजयी भएका छन् । कालिकोटबाट दुईजना उपमेयरमा निर्वाचित भएका छन् । सुर्खेत र कालिकोटबाट एक–एकजना विजयी भएका छन् । उक्त प्रदेशको सात जिल्लाबाट गाउँ÷नगर प्रमुखमा दलितको उपस्थिति छैन ।

प्रमुख तथा उपप्रमुख

मेयरः गगनसिंह सुनार, लेकबेसी नगरपालिका, सुर्खेत
मेयरः देवकुमार नेपाली, ढोरपाटन नगरपालिका, बाग्लुङ
उपमेयरः दर्शना नेपाली परियार माओवादी केन्द्र, तिलागुफा नगरपालिका,कालिकोट

उपमेयरः पम्फा बसेल, माओवादी, पालुङटार नगरपालिका, गोरखा
उपमेयरः गीता नेपाली, माओवादी केन्द्र, आठबिसकोट नगर, रुकुम
उपमेयरः प्रेमकुमारी सुनार, माओवादी केन्द्र, मुसिकोट नगरपालिका, रुकुम
उपमेयरः सविता रसाइली, एमाले, शुक्लागण्डकी नगरपालिका, तनहुँ
उपाध्यक्षः सुशीला विक, कांग्रेस, गुर्भाकोट गाउँपालिका, सुर्खेत
उपाध्यक्षः कल्पना नेपाली, कांग्रेस, आरुघाट गाउँपालिका, गोरखा
उपाध्यक्षः खरमाया विटालु, एमाले, मालिका गाउँपालिका, म्याग्दी
उपाध्यक्षः होमबहादुर विक, माओवादी, मस्र्याङ्दी गाउँपालिका, लमजुङ
उपाध्यक्षः मैना विक, कांग्रेस, वालिङटार गाउँपालिका, नवलपरासी
उपाध्यक्षः दुर्गा नेपाली, एमाले, त्रिपुरासुन्दरी गाउँपालिका, सिन्धुपाल्चोक

सम्बन्धित समाचार