ध्रुबसत्यले किन लेखे ‘कैरन’ ? कारुणिक बयान (भिडियोसहित)

लेखक तथा साहित्यकार ध्रुवसत्य परियारद्वारा लिखित कथासंग्रह ‘कैरन’ शनिवार राजधानीमा सार्वजनिक भएको छ । साहित्यकार आहूति, डा अर्चना थापा र नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेलले सामूहिक रुपमा उक्त कथा संग्रह सार्वजनिक गरेका थिए । ध्रुबसत्यले कैरन किन लेखे ? उनले मार्मिक रचना गर्भ लेखेका छन् ।

000

आँखैमा झलझली, हितैको दौँतरी… ।

शुक गुरुङको शब्द, रबिन श्रेष्ठ र शर्मिला बर्देवाको स्वर । पुरुष स्वर प्रधान गीत हो यो । तर यसको महिला स्वर मभित्र जबर्जस्त छिरेको थियो– कुनै ऊर्जामय तरंग, नयाँ रंग, नौलो संसारमा पु¥याउने कुनै धुन, सायद मायाको परिभाषाकै मजबुन, वा यस्तै–यस्तै भाव बनेर ।

नौ–दश कक्षामा पढ्थेँ सायद । भर्खर–भर्खर जुँगाको रेखी बस्दो थियो । गीत, प्रीत वा विपरीत लिंगीसम्बन्धी कुराले तरंगित पाथ्र्यो । लाज र काउकुती पनि बढाउँथ्यो ।
कुनै काम विशेषले स्याङ्जा चापाकोटदेखि पाल्पा खालीवन फुपूको घरमा गएको थिएँ । फागुन ७ गते, सिलुवाको मस्लाङ भन्ने ठाउँमा मेला लाग्दो रहेछ । फुपूका छोराहरूसँग म पनि मेला हेर्न गएँ । हामी थोरै दूरी कच्ची सडक ट्र्याक्टर चढ्यौँ । ट्र्याक्टरमा उही गीत बजिरहेको थियो— आँखैमा झलझली… ।
मेलामा त्यस्तो भव्यता केही थिएन । मादल बजाएर गाउने, नाच्नेहरूको त्यस्तै पाँच–सातवटा समूह थियो । उनीहरू प्रायःले ‘सालै जो’ शैलीका गीत गाएका थिए । खानामा थियो– गेडागुडीको तरकारी, माछा–मासु र स्थानीय रक्सी ।
मलाई फुपूका छोराहरूले रक्सी खान दिए । लाग्दैन होला भनेर दुई गिलास तानेँ, झ्याम्मै समाइहाल्यो । त्यति कडा रक्सी मैले त्यसअघि खाएको थिइनँ । बान्ता पनि गरेँछु, नशाले मैले लगभग होस गुमाएँ छु ।
रक्सी खाएपछि फुपूका छोराहरू मलाई छाडेर कतै लागेछन्, हुन सक्छ आ–आफ्नी सँगिनीको खोजीमा । नशाले मातिएर मैले वरपरका मानिसलाई लात्तीले हान्न थालेँछु । त्यहाँका मानिसले केहीबेरमै मलाई समाएर काबुमा लिएछन् । उनीहरूले मलाई कुटपिट गर्न पनि सक्थे । तर, केही केटीहरूले मलाई बचाएछन्, पाहुना भनेर ।
केहीबेरमा मलाई नशाले केही मात्रामा छाड्यो । मैले न्यायो महसुस गरेँ । मलाई पछ्यौरी ओढाइएको थियो । मैले आफूलाई यस्तो चिजमा पाएँ, जो कोमलता र न्यायोपनको चरमसीमा लाग्थ्यो । त्यो कुनै भ्रम थिएन, त्यसलाई मेरो टाउको र शरीरले अनुभव गरेको थियो, मैले आफ्ना औँलाहरूले पनि स्पर्श र महसुस गरेको थिएँ ।
यत्तिकैमा मलाई खोज्दै फुपूका छोराहरू वा कोही साथी आयो । मलाई उठाइयो, म त कुनै स्त्रीको काखमा रहेछु । अँध्यारो–अँध्यारो थियो, उठेर हेरेँ, त्यहाँ पाँच–सातजना तरुनी केटीहरू थिए । कुन चाहिँले हो, अघि मलाई काखमा सुताएको ? पाँच–सातजना केटीहरूमा चिन्न सकिनँ, सोध्न लाज भयो । त्यसमाथि उनीहरुले नै मैले रक्सी खाएर के के गरेँ भनेर जिस्क्याएका थिए ।
जसले मलाई काखमा स्नेहले राखिन्, उनीबारे मलाई केही थाहा भएन । उनीहरू सबै मगर भाषामा कुरा गर्थे, यसको आधारमा भन्न सकिन्थ्यो– उनी मगरकी छोरी हुन् । तर होइन, मगर बाहुल्य रहेको त्यो क्षेत्रमा त अन्य जातिले पनि मगर भाषा बोल्दा रहेछन् ।
न नामथर, न ठेगाना थाहा भयो, न त अनुहार नै चिह्न पाएको हुँ । किन ती मखमली स्त्रीले मलाई त्यत्रो स्नेह गरिन् ? यस्तै सम्झेर म कहिलेकाहीँ व्याकुल  हुन्थेँ, उमेर पनि त्यस्तै थियो । त्यसयता आँखैमा झलझली गीतको शब्द र लय मेरो मनैमा मखमली भएर गड्यो ।


बढ्दै गएँ । कतै पढेँ र आफैँलाई पनि बोध भयो– कसैलाई आफूखुसी सहयोग गर्दा सकेसम्म उसले थाहा नपाउने गरी गर्नू र कहिल्यै कसैलाई नभन्नू । तर, हाँक वा चुनौती दिनुपर्दा आँखा जुधाएर दिनू ।
धेरै सोचेँ र निष्कर्ष निकालेँ– मैले कुनै यस्तो असल काम गरुँ र ती मखमली स्त्रीले मेरो काम र नाम सुनून् । मेरो कामले उनको हृदय छुन सकोस् ।
एसएलसीपछि काठमाडौं आएँ, कविता लेख्न थालेँ । बकपत्र कवितासंग्रहको भूमिकामा कवि श्रवण मुकारुङले लेखिदिए, ‘प्रेम उनको कविताको अर्को चाखलाग्दो विषय हो, तर अरुले झैँ उनले पनि प्रेमलाई मानिस, समाज र सिद्धान्तभन्दा माथि राख्न चाहेको देखिन्छ… ।’
मुकारुङको भनाइले मलाई सोचमग्न बनायो । त्यसपछि कथा लेख्न थालेँ, कथामा स्त्री पात्र हुने नै भए । मेरो चेतन, अवचेतन मनमा परेको छ– स्त्रीहरू मखमली काखजस्तै हुन्छन्, निसर्त प्रेम र सहयोग गर्छन्, यो मानव सृष्टि उनीहरूकै आमारूपी र पत्नीरूपी मखमली काखमा टिकेको छ ।
कैरनका प्रायः कथामा यस्तै स्त्री पात्र आएका छन् ।
०००
काठमाडौं आएपछि सुरक्षा गार्डको जागिर खाएँ, राष्ट्रिय दलित आयोगमा । जागिर नगरी काठमाडौंमा टिक्ने उपाय थिएन । तर, भर्खर एसएलसी गरेको बच्चोले कस्तो जागिर पाउँथ्यो र ? आयोगमा पद्मसिंह विश्वकर्मा, दुर्गा सोबलगायत पदाधिकारी थिए । बिचरा ! दलितहरूले भर्खर–भर्खर यस्ता सरकारी नियुक्ति पाउन थालेका, उनीहरूलाई थुप्रै आफ्ना मान्छेले सताउँथे, जागिरका लागि । त्यसैले खरिदार पदमा जागिर खान गएको मैले सुरक्षा गार्डसम्म पाएँ । किनभने आयोगमा मेरो आफ्नो मान्छे कोही पदाधिकारी थिएन ।
कार्यालय थापाथलीमा थियो, म कार्यालय कुरेर बस्थेँ । ०६० सालको कुरा हो, शिवरात्रिको बेला थियो । बिहान ८ बजेतिर एक सन्न्यासी आएर भीक्षा मागे । शिवरात्रिका लागि भारतबाट आएका जस्ता लाग्ने उनी हिन्दीमा बोलेर भीक्षा मागिरहेका थिए । मेरो गोजीमा एक रुपैयाँ थिएन । मैले जानिनजानी हिन्दीमै यस्तै–यस्तै भाव भनेँ, ‘म यहाँको सबैभन्दा सानो कर्मचारी हुँ, मसँग पैसा छैन । अहिले १० बजेपछि आउनू, हाकिम आउँछन्, धेरै पैसा दिन्छन् ।’
म कार्यालय परिसरको कुर्सीमा बसेर घाम तापिरहेको थिएँ । हातमा ठूलो चिम्टा लिएका, गेरुवस्त्र धारण गरेका, अग्लो कदका ती सन्न्यासी मेरोछेउ आए । हप्काएको शैलीमा हिन्दीमै यस्तै–यस्तै भाव बोले, ‘तँ के ठान्छस् ? के म यहाँ मात्र खानका लागि भीख माग्दै हिँडेको छु ? यसबाहेकको मेरो अर्को कुनै उद्देश्य छैन, लक्ष्य छैन ?’
अनुहार हँसिलो पार्दै फेरि हिन्दीमै यस्तै भाव बोले, ‘तँ सानो मान्छे होइनस्, एक दिन ठूलो मान्छे बन्नेछस् । तेरो नाम देशबाहिर पनि फैलनेछ ।’
उनी गए, म हेरेको हे¥यै भएँ । के भन्छ यो जोगी ? सुरक्षा गार्डको जागिर खाइरहेको मेरो मानसिकता, सन्न्यासीका कुरालाई हावा नै ठानेँ । अझ भनौँ, उनको कुराको अर्थ बुझिनँ । तर, उनका कुराले कताकता मलाई सुखद अनुभूति गराएको थियो, त्यसबारे सोच्न पनि थालेँ । त्यसपछि म ज्योतिषकहाँ गएँ । मलाई थाहा पाउनु थियो– म कस्तो ठूलो मान्छे बन्छु त ?
नर्भिक हस्पिटलनजिकै एउटा बोर्ड देखिरहन्थेँ, जसमा हातका रेखा र ज्योतिषसम्बन्धी सेवाको जानकारी लेखिएको थियो । त्यहाँ ज्योतिष माधवप्रसाद पाण्डे भेटिए । उनलाई पाँच सय रुपैयाँ दिएर चिना देखाएँ, तर उनले सन्न्यासीले भनेजस्तो केही भनेनन् ।
त्यतिबेला म ‘दलित सरोकार केन्द्र’ नाम गरेको गैरसरकारी संस्थाको सदस्य पनि थिएँ । कतै यही संस्थाबाट मेरो फलिफाप त हुँदैन ? सन्न्यासीले यही भनेका त होइनन् ? यस्तै सोचेर मैले ज्योतिषसँग सोधेँ, ‘त्यो संस्थामा मेरो भविष्य के छ ?’
ज्योतिषले एउटा अनौठो कुरा बताए, ‘त्यो संस्थामा एउटा होँचो कदको मानिस छ, उसले केही गर्ने सम्भावना छ ।’
अरे यार, ज्योतिषले उसको होँचो कद कसरी थाहा पाए ? यसबारे धेरै दिनसम्म मेरो मनमा कुरा खेल्यो ।
सानैदेखि नै मलाई पुस्तकप्रति रुचि थियो । काठमाडौं आएपछि फाट्टफुट्ट पुस्तक किनेर पनि पढ्थेँ । सबैजसो पत्रपत्रिका आयोगमै आउँथ्यो, समाचारभन्दा बढी आलेख पढ्थेँ ।
पछि दलित आयोगमा लाइब्रेरी राखियो । सुरुमा इन्टरनेट थियो । तर, मैले प्रयोग गर्न पाउँदिनँथे । बिहान–साँझ र बिदाका बेला यसो लुकेर इन्टरनेटमा बस्थेँ । आयोगको सदस्यसचिव पदमा दुर्गा सोब थिइन्, उनले बेलाबेला फोन गरेर भन्थिन्, ‘त्यहाँ नेट कसले चलाको हो ? मैले यहीँबाट थाहा पाउँछु ।’ खै, कसरी थाहा पाउँदी रैछन् !
जेहोस्, यही संस्कार आयोगमा बस्यो । पछि लाइब्रेरी पनि मैले प्रयोग गर्न पाइनँ । तर, अफिस खुलेकै बेला लाइब्रेरीका किताब लुकाउँथेँ । यसरी अध्ययन गर्दै जाँदा थाहा पाएँ– सम्मोहन विद्या छ, जसको प्रयोगले मानिसलाई लठ्याएर उसको मनको कुरा सोध्न सकिन्छ ।
हुन सक्छ, ज्योतिष पाण्डेले मलाई लठ्याए, अनि मैले नै संस्थाका मानिसको हुलिया बताएँ । त्यसपछि मैले डा. नारायणदत्त श्रीमालीका पुस्तक खोजेर पढ्न थालेँ– सम्मोहन, हस्तरेखा शास्त्र, मन्त्ररहस्य, तान्त्रिक सिद्धियां । तर, पुस्तक पढेर कुनै पार लागेन । त्यहाँको ज्ञानलाई मैले ग्रहण र अभ्यास गर्न सकिनँ ।
एउटी चिनजानकी दिदी पनि ज्योतिष पाण्डेकहाँ जाने रुचि देखाइन् । उनलाई लिएर गएँ । ज्योतिषले भने, ‘तपाईंको विवाह यति वर्षपछि हुन्छ ।’
म प्वाक्क बीचमा बोलेँ, ‘उहाँको त… ।’
ज्योतिष बोले, ‘हो, उहाँको विवाह सानै उमेरमा भएको हो, तर त्यो पक्का विवाह थिएन । पक्का विवाह त अब हुन्छ ।’
नभन्दै पछि उनको विवाह भएको सुनेँ । यसले पनि ज्योतिष र हस्तरेखा शास्त्रमा मेरो रुचि बढाएको थियो । ज्योतिष र हस्तरेखा शास्त्रको आफ्नै विज्ञान र साधना छ । तर, विविध अध्ययनले मैले यो बुझेँ– सबैभन्दा ठूलो कुरा मानिसको मनोविज्ञान र सामाजिक सत्यको बोध हो । यी दुवै कुरा रहरले मात्र बुझिँदैन ।
ज्योतिष र हस्तरेखा विद्या पढ्ने, सिक्ने चाहना पनि थियो, तर समय र अनेकौँ समस्याले पाइनँ । जेहोस्, मेरा कथामा ज्योतिष र सन्न्यासी पात्र कुनै न कुनै अर्थमा आएका छन् ।
०००
१५–१६ को थिएँ । भर्खरै दसैँ–तिहार सकिएको थियो । घरनजिकै गाईवस्तु चराउन गएको थिएँ, सानो रेडियो लिएर । वनतिर गाई लगाएर एउटा काब्रोको रूखमा चढेँ । रेडियोमा नारायणगोपालको स्वर रहेको गीत बज्यो– एउटा मान्छेको मायाले कति… ।
गीत त तीन–चार मिनेटमा सकियो, तर मेरो भेडाको जस्तो स्वर रोकिएन, मैले नारायणगोपालले जस्तै गाउने कोसिस गर्दागर्दै साँझ प¥यो । वनतिर लगाएका सबै गाईवस्तु फर्किए तर एउटा गाई फर्किएन । गाई खोज्न गएँ । जब गाई भेटेँ, म स्तब्ध भएँ । आजभोलि ब्याउने गाई, झाडीमा लडिरहेको थियो, घाँटीबाट रगत बगिरहेको थियो । भर्खरै बाघले लडाएको रहेछ । गाईको जिउ तातै लाग्थ्यो, तर प्राण थिएन । गाईको पेट छामेँ, मलाई यस्तै महसुस भयो, पेटभित्र बाच्छा वा बाच्छी भुक्लुक्क चल्यो । मलाई आफ्नो मुटु पनि भुक्लुक्क तल वा माथि सरेझैँ भयो । म केही गर्न सक्ने अवस्थामा थिइनँ । हातमा लाठी थियो, वरिपरि बाघलाई खोजेँ, भेटिनँ । हजुरबाले भनेको सम्झेँ, ‘भर्खरै रगत पिएको बाघ मातिएको हुन्छ, मानिसलाई पनि आक्रमण गर्न सक्छ ।’ मलाई बाघको डरभन्दा बढी माया गाई र पेटको बाच्छा वा बाच्छीको थियो ।

यो घटनाले मलाई बोध भयो– गर्भवती पोथी जातिको रक्षा गर्नू । मायाताल कथाका पात्र राघवले गुरुबाट शिक्षा पाउँछन्– सबैभन्दा पहिले आमाको रक्षा गर्नू, त्यसपछि कुनै पनि गर्भवती स्त्रीको अनि मात्र पिताको । राघव गुरुको परीक्षामा पनि उत्तीर्ण हुन्छन् ।
०००
हाम्रो घरमा रामायण थियो । रामायण राख्ने झोलामा हातले लेखिएका अन्य केही पुराना पुस्तक पनि थिए ।
हजुरबाको आँखा कमजोर हुँदै गयो, मैले सानैदेखि उहाँलाई रामायण पढेर सुनाउँथे । कहिलेकाहीँ अन्य पुराना पुस्तक पनि पढ्न खोज्थेँ । एउटा पुरानो पुस्तकलाई औँल्याउँदै हजुरबा भन्नुहुन्थ्यो, ‘त्यो इन्द्रजालको किताब हो, नपढ्, बौलाइन्छ ।’
यो कस्तो किताब हो, जसलाई पढेर मान्छे बौलाउँछ ? मैले लुकेर पढ्न थालेँ । हुन पनि त्यो पुस्तक मान्छेलाई बौलाउन पार्ने खालकै रहेछ । चार कोससम्म सुन्ने, देख्ने, धेरै परसम्म प्रहार गर्ने बाण बनाउने लगायत थुप्रै विधिबारे त्यहाँ लेखिएको थियो । तर, विधि पूरा गर्न सजिलो थिएन । त्यसमा अन्य धेरै कुरा थिए । मेरो कलिलो मस्तिष्कमा भने रामायणको छाप थियो । रामले प्रहार गरेको बाण लक्ष्य भेदन गरी फेरि रामकै हातमा फर्केको प्रसंगले मलाई हैरान पारेको थियो । म पनि त्यस्तै जादुयी बाण बनाउन चाहन्थेँ । त्यसैले मैले इन्द्रजालको किताबमा यही विधि खोजेँ तर विधि पूरा गर्न सकिने देखिनँ ।
हजुरबाले इन्द्रजालको किताब नपढ् बौलाइन्छ भनेझैँ मायाताल कथामा लोकको मान्यता छ– मायातालमा अविवाहित पुरुषले आफ्नो छाया हेरे, ऊ स्त्री चरित्रको बन्न पुग्छ । मैले इन्द्रजालको किताब लुकेर पढेझैँ राघव पनि मायातालमा आफ्नो छाया हेर्न पुग्छ ।
मलाई हजुरबाले अनेक कथा सुनाउनुहुन्थ्यो । त्यसमध्ये एउटा कथा छ– एउटा गाउँमा वरको रूख ढल्छ । एउटा सन्न्यासी आएर भन्छन्, ‘पतिव्रता स्त्रीले छोएदेखि वर सीधा हुनेछ ।’
गाउँका सबै विवाहित स्त्रीले छोए तर सीधा भएन । एउटी स्त्रीले छुँदा भने वर सीधा भएर अलिकति ढल्केर बस्यो । उनले पञ्चलाई आफ्नो पतिव्रत धर्म बिटुलिएको सत्य बताउनुपर्ने भयो । उनले भनिन्, ‘म सानैमा गोठालो जाँदा गाईले बाच्छो पायो । मैले बाच्छालाई काखमा लिएँ, बाच्छाले मेरो काखमा मूत्रत्याग गरिदियो । कुनै मर्दले मलाई बिटुल्याएको छ भने यही हो ।’ उनले यति भन्दानभन्दै उता वर सीधा भयो ।
यही प्रसंगलाई मैले ब्राह्मी कथामा राखेको छु । कैरनका कथामा वर्ण व्यवस्था र जातीय विभेदका कुरा पनि आएका छन् । किनकि मैले आमाको गर्भैबाट छुवाछुत भोगेको हुँ । म गर्भमा छँदै मेरी आमाले गाउँठाउँमा जातीय विभेद भोगेकी थिइन् ।
०००
सहर आएर कथा लेख्न थाल्दा मेरो मस्तिष्कमा हिन्दू पौराणिक कथाका मिथक अर्थात् मिथ्याले घर गरिसकेको थियो । एकपटक महाभारत पढ्दै थिएँ । प्रसंग आयो– पाण्डुलाई ऋषि किन्दमले दिएको श्रापको ।
त्यहीबेला मैले नजिकै भित्तोमा एकजोडी सांलालाई मैथुनरत अवस्थामा देखेँ । त्यसलाई पत्रिकाले हानेर त्यहाँबाट हटाउने सोचेँ । हात के उठाएको थिएँ, सम्झेँ किन्दम ऋषिको श्राप, अनि मेरो हात रोकियो ।
अरे यार, मिथक या पौराणिक कथाले हाम्रो मस्तिष्कमा यतिसम्म प्रभाव पार्छ ? यसलाई कसरी भत्काउन सकिएला त ? मलाई यसबारे काम गर्न मन लाग्यो । कैरन कथासंग्रहमा थोरै कोसिस गरेको छु ।

हेर्नुस भिडियो

सम्बन्धित समाचार