‘दुई महिना दलित बन्दा दुनियाँ बुझियो’

 अभिनेता विपिन कार्कीलाई उनको खास नामबाट धेरैले चिन्दैनन् । फिल्म ‘पशुपतिप्रसाद’को ‘भष्मे डन’ र ‘छड्के’को ‘बिन्दु’ नचिन्ने फिल्मपारखी कमै होलान् । प्रतिभाशाली अभिनेताका रूपमा प्रशंसित विपिनले १० वर्षअघि रंगमञ्चबाट अभिनय थालेका थिए । उनले करिब दुई दर्जन नाटक र आधा दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनीसँग अनिल यादवले  कुराकानी गरेका छन् :

अभिनय तपाईंको पुरानै गन्तव्य हो ?
होइन । यो त हिँड्दै गर्दा पहिल्याएको लक्ष्य हो । साथीसंगतले अभिनयमा लागेको हुँ । खासमा नाटकको नियमित दर्शक थिएँ । दर्शककै रूपमा रंगकर्मीहरूसँग चिनजान पनि हुन थाल्यो । बिस्तारै ब्याकस्टेजमा काम गर्न थालेँ । गुरुकुलमा सेट असिस्टेन्ट हुँदै एक्टर बनेँ ।

भनेपछि अभिनेता बन्ने कुनै लक्ष्य थिएन ?
एसएलसी सकाएपछि ०५६ सालतिर म गाउँबाट राजधानी आएको हुँ । अभिनय मेरो सोचाइमै थिएन । नाटक हेर्ने बानी चाहिँ प्लस टू पढ्दादेखि नै बसेको थियो । त्यतिबेला गुरुकुलमा आरोहण शनिवार भनेर महिनाको एकपल्ट नाटक हुन्थ्यो । त्यहाँ पहिलोपल्ट ‘कुमारी’ नाटक हेरेको थिएँ । गम्भीर र रमाइलो खालको थियो । दोहो¥याएर हेरेँ । नाटकप्रति यति धेरै लोभिएँ कि स्टेजमा काम गर्नका लागि रंगकर्मीसँगै हिँड्न थालेँ । सेटमा रङ लाइदिने कामहरू गर्न थालेँ । पत्तै नपाई कलाकार भएछु । मेरा गुरु सुनील पोखरेल सधैँ भन्नुहुन्थ्यो– ‘जति नै माथि पुगे पनि आफ्नो धरातल कहिल्यै नबिर्सनू ।’ आफ्नो धरातल बनाउनकै लागि मैले रंगमञ्चमा ब्याकस्टेजबाट काम गर्न सुरु गरेको हुँ ।

फिल्म ‘पशुपतिपसाद’मा तपाईंले निर्वाह गर्नुभएको ‘भष्मे डन’को भूमिका प्रशंसित भयो । फान अवार्डमा उत्कृष्ट खलपात्र चुनिनुभयो । कति गाह्रो थियो यो भूमिका गर्न ?

    मैले समय र मेहनतले भ्याएसम्म काम गरेको थिएँ । फिल्मबाट प्राप्त प्रतिक्रियापछि इमानदार भएर काम ग¥यो भने दर्शकले स्विकार्नुहुन्छ भन्नेमा विश्वस्त भएको छु । हरेक क्यारेक्टर गर्दा चुनौती त हुन्छ नै । ‘भष्मे डन’ बन्नका लागि पनि मैले निकै मेहनत गरेको थिएँ । दुई महिनाअघिदेखि नै मैले भष्मेले जस्तै भासिएको स्वरमा अभ्यास गर्न थालिसकेको थिएँ । यतिसम्म कि मैले फिल्मका निर्माता र निर्देशकलाई ‘मेरो स्वर बनावटी नभएर साँच्चीकै भासिएको हो’ भनेर सबैलाई भनिदिन आग्रह गरेको थिएँ । उहाँहरू पनि राजी हुनुभएको थियो । त्यसैले सुटिङमा सबैले मेरो बोली यस्तै हो भन्ने ठाने । फिल्ममा वृद्धाश्रमकी आमा बनेर अभिनय गर्नुभएकी मिश्री थापासँगको त रमाइलो प्रसंग नै छ । उहाँले मेरो स्वर भासिएको ठानेर जेठी मधु ल्याएर दिनुभयो । मैले पनि धन्यवाद भन्दै खाइदिएँ । पछि वास्तविकता थाहा पाइसकेपछि त ‘मान्छेलाई झुक्याउने हो यसरी ?’ भन्दै साफ गाली गर्नुभएको थियो ।

प्रत्येक फिल्ममा तपाईं फरकफरक भूमिका र गेटअपमा देखिनुभयो । फिल्मका कुनै पनि पात्रसँग तपाईंको लुक्स त मिल्दैन रहेछ नि ?  
हो । त्यसैले मलाई बाटोमा हिँड्दा धेरैले चिन्दैनन् । यसले फाइदा–घाटा के पु¥यायो ? त्यो त मलाई थाहा छैन । तर, यही नै मेरो स्टाइल हो ।

यतिसम्म कि तपाईंलाई ‘छड्के’मा ‘बिन्दु माझी’का रूपमा देखेका दर्शकले ‘पशुपतिप्रसाद’मा चिनेनन् ?
मैले गर्न खोजेकै त्यही हो । मेरो एउटा पात्र अर्को पात्रसँग नमिल्नु नै मेरो सफलता हो । स्क्रिनमा देख्दा त्यसरी नै देखेर होला, फटाहा रोल नै अफर आएको । हिजो भर्खर एकजना सर फिल्मका लागि अफर गर्न आउनुभएको थियो । उहाँले पनि मलाई चिन्नुभएन । मेरो छेउमै हुनुहुँदो रैछ तर मलाई खोजेको खोज्यै । के कपडा लगाउनुभएको छ भनेर सोध्दा पो थाहा भयो– छेउमा उभिएको मान्छे नै पो उहाँ हुनुहुँदो रैछ । धेरैले मलाई हिपहप होला, चस्मासस्मा लगाउला, क्याप उल्टो लगाउला, आचउच गर्दै आउँछ होला भन्ने ठान्दा रैछन् । पछि सिम्पल देखेपछि छक्क पर्छन् । अर्को कुरा, धेरैले मलाई फरकफरक क्यारेक्टर गर्न पाएकोमा भाग्यमानी भन्छन् । तर, मलाई लाग्छ मैले फरकफरक क्यारेक्टर पाको होइन, गरेको हो । बिन्दु र भष्मेको क्यारेक्टर पनि लगभग उस्तैउस्तै थियो । मैले फरक बनाएको हो । म भरसक एकचोटि गरेको कुरा फेरि नदोहो¥याउने प्रयास गर्छु ।

तपाईंलाई निर्वाह गर्न गाह्रो भएको अरू कुनै भुमिका छ त्यस्तो ?
मैले अहिलेसम्म गरिरहेको भूमिकाभन्दा फरक छ फिल्म ‘जात्रा’मा । उट्पट्याङ र फटाहा खालको रोल भएको भए त मलाई गाह्रो लाग्दैनथ्यो । बानी परिसक्यो जस्तो लाग्छ । तर, ‘जात्रा’मा मेरो भिलेनबाट हिरोको रूपमा प्रमोसन भएको छ । भन्नाले म फिल्ममा लिड रोलमा छु ।
मैले अहिलेसम्म गरिरहेको भूमिकाको प्रकृतिभन्दा बिलकुल फरक छ । म यसमा एकदमै नरम र डरपोक क्यारेक्टरमा छु ।

चरित्रलाई जीवन्त बनाउन केके गर्नुहुन्छ ?
स्क्रिप्ट पढेपछि मात्र म त्यो क्यारेक्टरका बारेमा सोच्छु । कि म त्यो प्रकृतिको क्यारेक्टर खोज्छु कि पहिल्यै नै खोजिसकेको हुन्छु । जस्तो– ‘भष्मे’को क्यारेक्टर पनि मेरो स्टक क्यारेक्टर थियो । दुई वर्षअघि नै मैले त्यस्तो खाले क्यारेक्टर भेटाएको थिएँ । एकदम  रमाइलो लागेर उसलाई पछ्याएको थिएँ । साथी बनाएको थिएँ । ‘भष्मे’का लागि त्यो क्यारेक्टर म्याच हुन्छ जस्तो लाग्यो । अनि निर्देशकसँग कुरा गरेँ । उहाँले पनि राम्रो हुन्छ भन्नुभयो । त्यस्तै, मैले ‘छड्के’मा गरेको क्यारेक्टर पनि देखेभोगेकै हो । पशुपतिमा एकजना बाबालाई भेटेको थिएँ । एकदम रमाइलो लाग्यो । उहाँको हँसाइ, ननस्टप बोल्ने शैली मन प¥यो । रातभर उहाँसँग गफिएँ । उहाँको भिडियो नै खिच्न लगाएँ साथीलाई । भिडियो हेर्दै अभ्यास गरेँ । अनि निर्देशक निगम श्रेष्ठलाई देखाएँ । उहाँले ‘एकदम राम्रो छ, यसलाई नै वाइल्ड बनाऊ’ भन्नुभयो । त्यसपछि एकछिनमै टेम्परमा आउने, एकछिनमै कमेडी गर्ने ‘बिन्दु’को जन्म भयो ।

‘जात्रा’मा पहिलोपल्ट भिलेनबाट हिरो हुनुभयो । पहिलोपल्ट हिरोइन पाएको पनि सायद यही फिल्मबाट हो ?
हो नि । यहाँ त श्रीमती नै छिन् । हुन त नाटकमा पहिल्यै जोडी पाएको थिएँ । फिल्ममा चाहिँ पहिलोपल्ट हो । ‘मेरो गर्लफ्रेन्ड छ’ भनेर गफ दिन चाहिँ पाइएको थियो है फिल्ममा पनि । नढाँटी भन्नुपर्दा मलाई सुरुमा हिरोइनसँग काम गर्न एकदम लाज लाग्थ्यो । अरूलाई बुढी भन्न निकै लाज लाग्थ्यो । गुरुहरूले पनि कति लजाको भन्थे । तर, मेरो कोआर्टिस्ट वर्षा राउत सहयोगी भएकाले सजिलै भयो ।

पर्दामा त विभिन्न चरित्र भएर बाँच्नुभयो । वास्तविकतामा कहिल्यै अर्कै मान्छे भएर बाँच्नुभएको छ ?
पर्दाको लागि वास्तविकतामा पनि अर्कै क्यारेक्टर भएर बाँचेको छु । म जुन क्यारेक्टर गर्न लागेको हुन्छु, त्यो पर्दाबाहिर पनि गर्ने कोसिस गरिरहन्छु । मैले फिल्म ‘कालो पोथी’मा दलित मुगेलीको भूमिका गरेको छु । म विराटनगरको मान्छे, माथिल्लो कर्णालीको मान्छेको भूमिका गर्नुपर्ने भयो । खस भाषा बोल्नुपर्ने । कहिल्यै नसुनेको मान्छेले त्यो भाषा बुझ्दै–बुझ्दैन । त्यही भएर म दुई महिनाअघि नै मुगु पुगेँ । मैले गर्ने रोलका लागि कपडा खोज्न थालेँ । एकजना बुढाको पुरानो लुगा मागेर ल्याएँ । सुटिङ सकाएपछि मात्र मैले त्यो लुगा फुकालेको थिएँ । सुटिङ सुरु हुनु दुई महिनाअघि मुगुको गाउँमा पुगेर एकजना दलितकै घरमा बसेँ, आफूलाई दलित नै भनेर । दलितकै जीवन बाँचेँ ।

दुई महिना दलित भएर बाँच्दा कस्तो महसुस भयो ?
पहिलेदेखि नै हेपाइ खाँदै आएको मान्छे भएको भए सायद मलाई त्यति पीडा महसुस हुँदैन थियो । तर, दलित भएर बाँच्दा धेरै गाह्रो भयो । त्यतिबेला दसैँको बेला थियो । म त दलितहरूसँगै दमाहा बजाउन पनि गइदिन्थेँ । त्यतिबेला अरूले छेउमा बस्न पनि दिँदैन थिए । दलित भएको थाहा पाउनासाथ ‘पर जा’ भन्ने । हेप्ने प्रवृत्ति एकदमै धेरै । चियापसलमा गएर पसलेलाई ‘चिया बनाउनुस्’ भन्दा पनि पसलेले भारतबाट पैसा कति बोकेर आएछ भन्ने । दलित भन्नेबित्तिकै ‘तिमी’ भनेर सम्बोधन गर्न नहुने ठान्दा रैछन । ‘तँ’ भनेर सम्बोधन गर्न थालिहाल्दा रहेछन् । दलितमाथिको भेदभाव देखेर निकै भावुक भएँ । दुई महिना दलित भएर बाँच्दा त यस्तो भयो, साँच्चीकै दलितलाई त कति दमन रहेछ ? त्यो महसुस गर्ने मौका पाएँ । दुई महिना दलित बन्दा दुनियाँ बुझियो ।

फिल्म गर्नुअघि तपाईंका शर्त केके हुन्छन् ?
अरूलाई त म शर्त राख्दिनँ, तर फिल्म गर्नुअघि निर्देशक र निर्माताको पहिलेको काम हेर्छु । फिल्मलाई जोक नसम्झिने, यो पनि आर्टको विधा हो भन्ने खालको मेकरसँग काम गर्न मन लाग्छ । कमै पैसा दिए पनि राम्रो फिल्म बनाउन चाहनेसँग काम गर्छु । किनकि, भोलि गएर यो मैले खेलेको फिल्म हो भन्न मलाई लाज नहोस् । झण्डै ५० वटाजति फिल्मको अफर मलाई आइसक्यो । मैले विभिन्न बहाना बनाएर गरिनँ । गलत फिल्म नगरूँ भन्ने लाग्छ ।

-शुक्रबारबाट

सम्बन्धित समाचार