दलित समुदायबाट उदायका अभिनेता

 मिलन विश्वकर्मा

सुनसान रातमा सेतो बस्त्रधारी एक जना युवा हड्बडाउँदै आउँछ । शिविरका मान्छेहरु शंकास्पद ठान्छन् र बन्दुक तेर्साउछन् । हतास मानसिकता बोकेको उदेश्यविहीन त्यो युवाले हात पसार्दै सहयोगको याचना गर्छ । जव ती बन्दुकधारीहरुले सेतो बस्त्रधारीको वास्तविकता थाहा पाउँछन्, अनि अवाक बन्छन् । त्यो सेतो बस्त्रधारीले युवा साहुबाट सर्वश्व लुटिएपछि मुगलानको बाटो तय गरेको हुन्छ । अन्तत त्यो युवा जनता प्रशिक्षण शिविरमा प्रवेश गर्छ । गरिब किशानहरुलाई साहुहरुको दवदवाहबाट मुक्त गर्नको लागि २०१० को पुसतिर प्युठानस्थित नारीकोटमा शिविर खडा गरिएको हुन्छ । जुन शिविरले त्यो युवालाई विद्रोही बनाउछ, साहुको विरोधमा एक बचन बोल्ननसक्ने उसलाई साहासी बनाउँछ र उसकै नेतृत्वमा साहु, मुखियाविरोधी आन्दोलन निश्कर्षमा पुग्छ । जसको परिणाम फाल्गुन २४ मा किसानहरु साहुको अन्यायबाट मुक्त हुन्छन्, र उल्लासपूर्ण जुलुसमा निस्कन्छन् ।

ती साहासी युवा हुन फिल्म फाल्गुन–२४ का हर्के, अर्थात टिका संगम वि.क. । तंग्राम बागलुङका टिका संगम वि.क. फिल्मको केन्द्रिय भूमिकामा छन् । चलचित्रको पर्दामा देखिने त्यो नयाँ अनुहार प्रशस्त सम्भावना बोकेर उदायको छ ।

कम्युनिष्ट आन्दोलनका पुराना नेता तथा नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंहको कथामा बनेको उक्त फिल्मलाई हेमराज आश्रमले निर्देशन गरेका छन् । राजधानीमा सोमबार फिल्मको प्रदर्शनीमा पुगेका दर्शकको भीडमा टिका संगम वि.क.को ‘रिअल फेस’ पनि अटाएको थियो । टिका संगम जसरी फिल्ममा संघर्षशील देखिन्छन्, त्यो भन्दा बढी ‘रिअल लाइफ’मा संघर्ष गरेका छन् । यस्तो लाग्छ त्यो साधारण अनुहार असाधारण प्रतिभाको खानी हो ।

०००

तंग्राम भौगोलिक रुपमा सानो गाविस हो । तर, त्यही गाविसमा ठूलो आत्मसम्मान बोकेर बसेका छन्, टिका संगम । त्यो सम्मानका पछाडि उनका थुप्रै गौरवशाली इतिहास छन् ।

टिका संगम सामान्य परिवारमा जन्मीए । आफ्नो माटोमा उब्जनी भएको अन्नले बर्षदिन खान पुग्थेन । उनको बुवा आरनमा फलाम ठटाउँथे र परिवारको गर्जो टार्थे । जब टिका संगम हुर्कदै गए, अभाव चिरेर उनको प्रतिभा वाहिर निस्कन थाले । फिल्मको प्रदर्शनीपछि टिका संगमले भनेका थिए, ‘यदी अवसर पायो भने गाउँमा फुलेको फुलले शहरमा फुल्ने गमलाको फुललाई पनि पछि पार्ने हैसियत राख्छ ।’

विस्तारै उनको प्रतिभा रक्तिम सांस्कृतिक अभियानमार्फत पोखिन थाल्यो । त्यो किनभने उनको गाउँमा रक्तिम अभियानको माहोल थियो र, उनको प्रतिभावाना मनले त्यही बाटो लियो । त्यसपछि त उनी सांस्कृतिक टोलीका क्षेत्रका प्रमुख नै हुन पुगे । उनले नाटक लेख्थे, आफै निर्देशन गर्थे, अभिनय गर्थे, नृत्य सिकाउथे, गाउँथे, हारमानियम, सारंगी, मादल बजाउने, अनि दर्शकलाई मन्त्रमुघ्ध पार्थे ।

१९ वर्षमा नेपालकै पहिलो ग्रामिण महोत्सव

कुरा २०६० साल बैशाखको हो । देश शसस्त्र द्वन्द्वको चपेटामा थियो । द्वन्द्वले धेरै कुरा ध्वस्त गरिरहेका बेला टिका संगम भने गाउँको पहिचान र संकृतिलाई नयाँ गति दिन चाहान्थे । जसअनुरुप उनले योजना बनाए, ग्रामिण महोत्सवको । एउटा कलिलो उमेको केटोले देखेको त्यो सपना, धेरैका लागि खिसिट्युरीको विषय बनेको थियो । तर, उनको अढिक आत्मविश्वासले तंग्राममा ग्रमिण महोत्सव आयोजना गरे । जुन देशको ग्रामिण क्षेत्रमा पहिलो पटक आयोजना भएको महोत्सव थियो । तत्कालिन भौतिक योजना तथा स्थानिय विकासमन्त्री नाराणसिंह पुन हेलिकप्टर लिएर उक्त महोत्सवको शुभारम्भ गर्न पुगेका थिए । यस्तो लाग्थ्यो त्यो हेलिकप्टरको इन्धनले टिका संगम नामको गन्ध फालेको छ । टिका संगम त्यति ठुलो महोत्सवको ‘कमाण्डर’ थिए ।

चारदिनसम्म चलेको त्यो महोत्सवमा झाँकीहरु प्रस्तुत थिए, पञ्चे र नोमति बाजा घन्कीएका थिए, लुकेका संस्कृति उदांग भएका थिए, विभिन्न खेलहरुको प्रतियोगिता भएको थियो । तंग्राम मात्र होइन जिल्ला नै महोत्सवमय बनेको थियो । टिका संगम भन्छन्, ‘गाउँमा संस्कृतिको संरक्षण, स्थानिय नवप्रतिभा जस्तै खेल, कला, साहित्यलाई उजागर गराउने मेरो भित्रि चाहाना थियो । अर्को कुरा तंग्राम गाविस जिल्लामै राम्रोसँग परिचित थिएन । त्यसैले मैले तंग्रामलाई सिंगो देशभरी चिनाउने अठोट लिएको थिएँ । त्यही अठोट पुरा गरेको हुँ । यो अभियानलाई सफल पार्नको लागि सामाजिक एबं बौद्धिक व्यक्तित्व कमलकुमार पुनको ठूलो हात छ ।’

त्यतिबेला रेडियो नेपालबाट समेत टिका संगम र तंग्रामको नाम सुनिएको थियो । जुन बेला संञ्चार माध्ययमको नाममा रेडियो नेपाल, गोरखापत्र र नेपाल टेलिभिजन मात्र थिए । टिका संगम नोस्टाल्जिक बन्छन्, ‘टेलिभिजनमा अन्तरवार्ता दिदै गर्दा मेरो तंग्रामलाई सम्झेर भक्कानिएको थिएँ ।’

गजलका पर्यावाची

गाउँ सूचनाको पहुँचभन्दा वाहिर थियो । पत्रपत्रिका भन्ने कुन चाराको नाम हो भनेजसता गर्थे गाउँलेहरु । पत्रिका यस्तो हो भनेर चिनाउन टिका संगमले ०६१ सालमा सूर्योदय मासिकको प्रकाशन शुरु गरे । जहाँ साहित्य र समसामयिक विषय छापिएका हुन्थे । त्यही सूर्योदय हो सूर्याअस्त हुँदा पनि टुकिमा घोरिएर पढ्थे विद्यार्थीहरु ।

त्यसपछि टिका संगम लागे साहित्य जागरणमा । जिल्लाका दुर्गम ठाउँमा पुगेर पनि गजलसम्बन्धि प्रशिक्षण दिन्थे । त्यसपछि जिल्लामै यस्तो साहित्य जागरण आयो कि, एक सय एक कवि, गजलकारहरु निस्कन थाले । उनले बागलुङ, म्याग्दी, तनहुँ, गुल्मी र भारतको दिल्लीमा समेत पुगेर साहित्यीक प्रशिक्षण दिन्थे । त्यतिबेला विषेश गरि बागलुङमा साहित्य सृजनाको लोभलाग्दो माहोल थियो । अहिले पनि त्यसको प्रत्यक्ष जस टिका संगमलाई दिने बौद्धिक सर्कल छ ।

गाउँको ‘कमल’

टिका संगम घरबाट निस्कदा उनको अगाडि दर्जनौं जोडि हात जोडिन्छन् । उनी मुसुक्क हास्ँछन् र आत्मीयता प्रकट गर्छन् । सहयोगको याचना गर्नेहरुलाई निराश बनाउँदैनन् । यसो भनौँ गाउँकै लागि समर्पित छन् उनी ।

कतै झगडा भयो, नाम आउछ टिका संगमकै, नगरिकता हरायो की जग्गा पास गर्नु पर्यो या गाउँमा कुनै योजना ल्याउनु प¥यो ? टिका संगमलाई नै अघि सार्छन् । सहकारी जागरण सृजना गरेर गाउँलेलाई आर्थिक सम्बृद्धिको बाटोमा हिँडाउन उनी प्रयत्नरत छन् । त्यसैले त, उनी गाउलेको विश्वास पात्र बनेका छन् ।

उनी आफ्नो समुदायको मुद्दामा पनि उत्तिकै सम्बेदनशील छन् । गाविसमा सञ्चिालित दलित उत्थान मञ्चले विभिन्न क्षेत्रमा सफल दलितहरलाई प्रोत्साहन गर्ने नीति बनाउँछ र पुरस्कृत गर्छ । दलितका नाममा छुट्टीएका बजेट कुनै मोटरबाटो खन्नमा प्रयोग हुँदैन । उनी जस्तै शक्रिय दलित अगु्वाहरुको कारण बजेट उत्पादनमुलक काममा खर्च हुने गर्छ । त्यसैले, टिका संगम सम्भावना बोकेका फिल्म अभिनेता मात्र नभएर समाजकै नायक हुन् ।

चलचित्र फाल्गुन २४ को गीतमा अभिनय गर्दै टिका संगम (हेर्नुस् भिडियो)

सम्बन्धित समाचार