दलित तथा भूमि आन्दोलनका अगुवा बलदेव रामको निधन

 काठ्माडौँ १७ श्रावण । दलित तथा भूमि आन्दोलनका अगुवा सप्तरीका बलदेव रामको मंगलबार बिहान निधन भएको छ ।

२०५६ सालमा सप्तरी र सिरहामा भएको चमार जातिको सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेवको मंगलबार बिहान ६७ वर्षको उमेरमा सप्तरीको मधुपटीस्थित घरमा निधन भएको हो । केही दिन अघि हृदयघातबट पीडित भएका बलदेवको निधनले दलित र भूमिहीन आन्दोलनलाई अपुरणीय क्षति भएको अधिकारकर्मीहरुले बताएका छन् । रामका श्रीमती २ छोरा र २ छोरी छन् ।

 २०५६ सालमा सिनो(मरेको पशु) फाल्ने परम्परागत पेसालाई बलदेवकै नेतृत्वमा बहिष्कार गरेपछि तराई/मधेसका दलित समुदाय चमार जातिको जिवनशैली पछिल्ला वर्षहरूमा फेरिँदै गएको छ । रामले दलितको आत्मसम्मान, शिक्षातर्फ आकर्षण र रोजगारीलगायत विषयको ग्यारेन्टीका लागि सप्तरी र सिरहासहितका जिल्लामा सक्रिय रहँदै आएका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च र हरुवाचरुवा अधिकार मञ्चका संस्थापक अध्यक्ष समेत रहेका बलदेव सुकुम्बासी समस्या समाधान आयोगमा सदस्य समेत भएका थिए ।

भारतको प्रशिद्ध डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित बलदेव एकदर्जन भन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित थिए । युवा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला वृद्धिको आन्दोलन, नि:शुल्क शिक्षाका लागि आवाज उठाउने काम, २०५८ को सिनो बहिष्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भूमिहीनका लागि व्यवस्थित बसोबासको व्यवस्था हेतुले अनवरत आवाज उठाउँदै आएका बलदेव दलित युवाहरुका लागि समेत प्रेरणाका स्रोत बनेका छन् ।

कसरी भएको थियो सिनो बहिष्कारको आन्दोलन ?
विभिन्न गैर सरकारी संस्थाको कार्यक्रमको प्रभावबाट केही जागरुक भएका सप्तरीका चमार समुदायले ०५६ सालको सुरुआतमा सप्तरीको मधुपटी गाविसको कनकपुर गाउँबाट सिनो नफाल्ने अडान लिए ।

बलदेव रामलगायत चमार जातिका अगुवाहरूले बहिष्करणको आन्दोलन चलाएपछि धेरैले त्यसलाई राम्रो भने । तर कथित उपल्लो जात बताउनेहरूले सिनो नफालेको भन्दै स्थानीयस्तरमा चमार जातिलाई बाटोघाटो हिँड्न नदिने, रोजगारीबाट हटाउनेलगायत कार्य गर्दै चमार जातिलाई सामाजिक रुपमा नाकाबन्दी गरेका थिए त्यतिबेला । तर आफ्नो मुद्दामा अडिग बलदेवले हरेश खाएनन् । उनले सिनो बहिष्करणको आन्दोलनलाई निरन्तरता दिए ।

चमार जातिको मधुपटी गाविसको कनकपुरबाट सुरु भएको सिनो बहिष्कारसम्बन्धी समाचार कान्तिपुर र दि काठमाडौं पोष्ट दैनिकमा प्रकाशित भएपछि उक्त जातिका अगुवाले उक्त समाचारको कटिङको फोटोकपी गरी सप्तरी र सिरहाका चमार बस्तीमा प्रचार स्वरुप बाँडे ।‘कान्तिपुरको त्यही समाचार सिनो बहिष्कारका लागि चमार जातिलाई संगठित हुने चेतना प्रवाह गर्‍यो’, बहिष्करण आन्दोलनका अगुवा वृद्ध बलदेवले एकवर्ष अघि कान्तिपुरको एक अन्तर्वार्तामा भनेका थिए । त्यसपछि मधुपटी, दौलतपुर, हर्दिया र पिप्रापश्चिम गाविसलगायत सप्तरीको उत्तरी क्षेत्रका चमारहरू संगठित भएर सिनो फाल्ने काम नगर्ने अडान लिए । गाउँमा कथित उपल्ला जातकाले ती गाउँसहित सप्तरीकै हरिहरपुर, कोचाबखारीलगायत ठाउँमा चमारलाई नाकाबन्दी गरे ।

तैपनि चमार जातिले सिनो फाल्ने काम नगर्ने अडानमै बसे । ०५६ सालकै चैत १० गते सप्तरीसित जोडिएको सिरहाको लहानस्थित मटिअर्बामा स्थानीय हरिलाल चौधरीको पाडा मर्दा चमार जातिले नफाल्ने अडान दोहोर्‍याएपछि स्थानीय चौधरी समुदायले चमारजातिलाई नाकाबन्दी गर्दे बाटोघाटो हिँड्न नदिने, पसलमा सरसामान र औषधिमूलो नदिनेलगायत मानवताविरोधी कार्य गरेपछि घटना राष्ट्रिय स्वरुप हुँदै अन्तर्राष्ट्रियकरण भएको थियो ।

इकान्तिपुर बाट

सम्बन्धित समाचार