तिलागुफा नगरपालिकाकी उपमेयर ,दलित युवती दर्शना

तुलाराम पाण्डे

विकट कालिकोटकी दलित युवती दर्शना नेपाली तिलागुफा नगरपालिकाकी उपमेयर निर्वाचित भएकी छन् । २३ मा हिँड्दै गरेकी उनको नाम संयोगले काठमाडौं महानगरपालिकामा विवेकशील नेपाली पार्टीबाट मेयरको उम्मेदवार बनेर उल्लेख्य मत ल्याएकी २१ वर्षीय रन्जु दर्शनासँग एक शब्दले भए पनि मेल खाएको छ ।

चुनाव नजितेर पनि जितेभन्दा बढी चर्चा पाएकी रन्जु दर्शना र जनयुद्धकालदेखि लड्दै चुनावी प्रक्रियाबाट शक्तिशाली जनप्रतिनिधि बनेकी दर्शना नेपाली दुवै नेपाली युवा पुस्ताका फरक परिवेशका प्रतिनिधि हुन् । काठमाडौंमा धेरै थोक थुप्रेको छ, गुनासो–ऐंठन पनि धेरै छ । दूरदराज कालिकोटमा विकटता र निराशा छ, तर जोस कहींको भन्दा कम छैन ।

नेपाल स्थानीय सरकारको अवधारणाबाट विकेन्द्रित विकासको नयाँ युगमा प्रवेश गर्न खोज्दैछ । विकासमा युवा सहभागिताको महत्व चर्चा गरिरहनुपर्ने विषय होइन । तर युवा नेतृत्वचाहिँ समयको माग भए पनि यथार्थमा चाहिँ कमै छ । यस परिप्रेक्ष्यमा तिलागुफाबाट दर्शना नेपालीले भन्ने कुरा पक्कै रोचक होला ।

११ वर्षको उमेरमा ४ कक्षामा पढ्दापढ्दै नेपाली रहरले तत्कालीन अवस्थामा युद्धरत माओवादी पार्टीको डब्लूटी अर्थात् होलटाइमर (पूर्णकालीन) बनिन् । ‘सयौं जनताको सभामा फूलमाला र अबिर लगाएर भूमिगत भएँ,’ उनले सम्झिन्, ‘रमाइलै लाग्यो, बेलुकी घर नगएर चौरभिग्म गाउँमा बसें ।’

०६२ साउन १२ मा भूमिगत भएदेखि नै दन्ताको नाम ‘दर्शना’ रह्यो । तर भूमिगत भएको केही दिनमै उनी एक अग्रजको सल्लाहमा पढ्न भनेर घर फर्किन् । धेरै पढेपछि जनसेना बन्न सजिलो हुन्छ भन्ने उनलाई लागेछ । घरका मानिस चेली फर्केपछि औधि खुसी भए ।

दर्शनाका बाबु खम्मीलाल उबेलाका एसएलसी पास गर्ने कर्णालीकै अगुवा दलित नेता हुन् । ५ सयको जागिरले ८ जनाको जहानपरिवार पाल्न कठिन भएपछि उनी त्यो शिक्षण पेसा छाडेर व्यापारमा लागे । खच्चडमा सुर्खेतबाट सामान ल्याएर गाउँमा बेच्थे । दराखोला क्षेत्रका चर्चित भैंसी व्यापारी पनि ।

औल (तल्लो कालिकोट) बाट भैंसी खरिद गरेर जुम्लामा बेच्थे । आफू शिक्षित भएकाले छोराछोरी पढाउनुपर्छ भन्ने चेतना भएका खम्मीलालकी ४ छोरी २ छोरामध्ये दर्शना माहिली हुन् । हक्की स्वभावकी दर्शना कसैसँग नडराउने, अन्याय नसहने रहिछिन् सानैदेखि । ‘आफूलाई लागेको कुरा भनिहाल्ने उनको स्वभाव हो,’ उनी पढेको महादेव उमाविका प्राचार्य नरदीप शाहीले भने, ‘प्रगति गर्छिन् भन्ने त लागेको थियो, तर यति छिट्टै उपमेयर बन्छिन् जस्तो लागेको थिएन ।’

दर्शना कक्षा ८ मा पढ्दै गर्दा एक माओवादी नेता उनको घरमा आए, उनलाई डब्लुटी बन्नुपर्‍यो भन्दै । तर उनले कक्षा ८ को जिल्लास्तरीय परीक्षा आइसकेकाले नजाने भनेर फकाईदिइन् ।

०६७ मा एसएलसी पास गरेपछि दर्शना काठमाडौं पढ्न गइन् । दलित परिवारकी किशोरीका लागि काठमाडौं अर्कै संसार थियो । ‘न भाषा मिल्ने, न लवाइखवाई सबै नौलो लाग्यो,’ उनले सुनाइन् । गोठाटारको गान्धी आदर्श उमाविबाट ०७० मा प्लस टु पास भएपछि विद्यार्थी राजनीतिमा बढी सक्रिय हुन थालिन् ।

उनी ०७० मा बीबीएस पढ्न काठमाडौंको पद्मकन्या कलेज भर्ना भइन् । ०७१ मा अखिल क्रान्तिकारीको पीके क्याम्पस एकाइ अध्यक्ष बनिन् । ०७३ फागुनमा हुने भनिएको स्ववियु चुनावमा अखिल क्रान्तिकारीका तर्फबाट सभापतिको उम्मेदवारी पाइन् ।

तर, विद्यार्थी संगठनको किचलोले चुनाव भने भएन । काठमाडौं रहँदा बस्दा संगठनले खटाएअनुसार भूकम्प पीडितको पुनर्वासका लागि एक महिना घर टहरा निर्माणमा पनि खटिन् ।

गत वैशाख ५ गते बीबीएस चौथो वर्षको परीक्षा सकाएर स्थानीय तह चुनाव लड्न कालिकोट पुगिन् । ‘सुरुमा त मेयरकै दाबेदारी हो,’ दर्शनाले सुनाइन्, ‘मेयर नदिने भनिएपछि पोस्टरमा राख्ने फोटोसमेत नखिचाएर मान्मबाट गाउँ पुगें । सबैले अहिले अनुभव हुन्छ भनेपछि उपमै चित्त बुझाएँ ।’

चुनाव दर्शनालाई निकै फाप्यो । युवा, दलित महिलाको साझा उम्मेदवारका रूपमा माओवादी केन्द्रबाट उनी विजयी भइन् । नगरपालिकामा मेयरको चर्चामा रहेका दलित नेता दिनेश चदाराले टिकट नपाएपछि दलितको भोट तान्न माओवादी केन्द्रले दर्शनालाई टिकट दिएको थियो । उनी स्थानीय तहमा उपमेयर जित्ने सम्भवत: कान्छी दलित महिला हुन् ।

स्थानीय तह चुनाव उनलाई रोचक लाग्यो । कारण ? उनको प्रतिस्पर्धा ०४८ को कर्मचारी आन्दोलनबाट जागिर गुमाएर सक्रिय राजनीति गरिरहेका पाका नेता ऐनबहादुरसँग थियो । उनी जन्मेको वर्ष अर्थात् ०४९ मा त्यही गाविसका अध्यक्ष बनिसकेका नेपाल मजदुर किसान पार्टीका नेता शाही ०५४ मा पनि गाविस अध्यक्षमा दोहोरिए । ०४९ मा दर्शनाका बुबा खम्मीलाल मजदुर किसान पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

उपमेयरमा दर्शनाकी अर्की प्रतिस्पर्धी कांग्रेसनेत्री लक्ष्मी शाही थिइन् । ‘मलाई त केटाकेटी भन्थे ।’ दर्शनाले प्रतिप्रश्न गरिन्, ‘जनताले मलाई पत्याइदिए, रिस मानेर के गर्नु ?’ उनले निकटतम प्रतिस्पर्धी शाहीभन्दा ५ सय ४३ मत बढी पाएर चुनाव जितिन् । दुई पटक गाविस अध्यक्ष बनेका बुबाका साथी नेमकिपाका ऐनबहादुरले एमालेसँग मिलेर पनि ९ सय ५८ मात्र मत पाए । प्रमुखमा पनि माओवादी सेनाका पूर्वकमान्डर रतनबहादुर शाही आशुतोष विजयी बने ।

दर्शनाले चुनावी प्रचारका क्रममा भन्ने गरेकी रहिछिन्, ‘कपाल फुलेर मात्र हुँदैन, काम गर्ने नयाँ सोच, योजना र प्रतिबद्धता चाहिन्छ । त्यो मसँग छ ।’ आफ्नो कुरा जनताले बुझेकामा उनी खुसी छिन् ।

पीके क्याम्पसमा पढ्दा विपक्षी विद्यार्थी नेताले आफूमाथि जातीय विभेद गरेको तीतो अनुभव दर्शना सुनाउँछिन् । उनले साह्रै भएपछि केही विद्यार्थी नेताका नाममा जातीय छुवाछूत तथा कसुर ऐन ०६८ अनुसार जिल्ला प्रहरी कार्यालय हनुमानढोकामा मुद्दा दायरसमेत गरिछन् ।
दर्शनाकी कान्छी बहिनीको बिहे भइसक्यो । उनी चाहिँ समय लिन चाहन्छिन् । ‘विवाह त गरौंला नि । भर्खर त चिनिन लागेकी छु, किन हतार गर्नु ?’ भन्छिन् ।

तिलागुफा नगरपालिका स्याउ, सिमी, आलु, ओखर उत्पादनका लागि कर्णालीकै गनिएको क्षेत्र हो । रमणीय पर्यटकीयस्थल, यार्चागुम्बु, घुच्ची च्याउ, पाँचऔंले, पाखनवेद, जटामसीलगायतका महत्त्वपूर्ण जडीबुटी पनि यसै क्षेत्रमा पाइन्छ । यसको व्यवस्थापन गर्न सके नगर आफैं समृद्ध बन्ने दर्शनाको ठम्याइ छ ।

जातीय विभेदको अन्त्य, गाउँगाउँमा यातायात, मोबाइल टावरको व्यवस्थापन, बिजुली बत्ती, गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा, पर्यटन प्रवद्र्धन र कृषि उत्पादनको नमुना नगर बनाउने उनको सपना छ ।

कान्तिपुरबाट

सम्बन्धित समाचार