छोराले अन्तरजातीय विहे गर्दा बुवा थुनामा

बर्दिया, १३ माघ । छोराले उमेर नपुगेर उपल्लो जातको विवाह गरेर भगाएको भन्दै बुवालाईं उपचार गर्न भन्दै मैनापोखर बर्दियाका प्रहरी निरीक्षकले चौकीमा थुनेका छन् । प्रहरी निरीक्षक देवेन्द्र मल्लले उपचार स्वरुप बुवा किष्णबहादुर सुनारलाई थुनामा राखेको बताएका छन् ।

छोराले अन्तरजातीय विवाह गरेकै कारण बर्दियामा दलित समुदायका सुनार प्रहरी थुनामा परेका हुन् । छोराले अन्तरजातीय विवाह गरेपछि ईलाका प्रहरी कार्यालय मौनापोखर बर्दियाले बढैयाताल गाउँपालिका ९ मुनालबस्तीका किष्णबहादुर सुनारलाई थुनामा राखेको हो । १९ बर्षीय छोरा संजय सुनारले स्थानीय १८ बर्षीय सुष्मा पाण्डेलाई भगाएर विवाह गरेपछि प्रहरीले बुवालाई थुनामा राखेको हो ।

प्रेम विवाह गरेर केटाकेटी भागेपछि केटाका बुवालाई प्रहरीले शुक्रबार थुनेको हो । केटी पक्षका दवावमा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र मल्लले बुवालाई थुनामा राख्न लगाएको केटाका आमा माया सुनारले बताईन् । कुनै उजूरी र दोष नभएपनि अन्तरजातीय विवाह गरेकै कारण प्रहरीले बुवालाई थुनामा राखेको उनको भनाई छ ।

प्रहरी चौकी मौनापोखरका प्रहरी निरीक्षक मल्लले केटाकेटीको उमेर सोधपुछ गर्दा बुवाले उमेर नबताएपछि उपचार गर्न थुनामा राखिएको बताए । केटाकेटीको उमेर कम भएपनि थाहा पाउँदा पाउँदै केटाका बुवाले बताउन नचाहेको उनले जानकारी दिए । उमेर सोध्दा केटाको बुवा अलि आक्रोसित पारामा बोलेपछि थुनामा राखिएको उनको दावी छ ।

आईतबार विहान १० बजे केटा पक्षले केटाकेटी ल्याउने सहमती गरेकोले आईतबार फेरि छलफल हुने प्रहरीको भनाई छ । प्रहरीको भनाईमा केटाकेटीको विवाह गर्न उमेर पुगेको छैन् । संजय सुनार र सुष्मा पाण्डेले गएको माघ ७ गते भागेर विवाह गरेका थिए । उनीहरु माघ ७ गते नै भागेर भारत गएका थिए । सुनार र पाण्डेले गएको २०७४ जेठ २८ गते पनि भागी विवाह गरेका थिए । प्रहरीमा आफन्तले केटाकेटी बुझ्ने सहमती भएको थियो ।

सम्बन्धित समाचार