उम्मेदवार छविलाल विश्वकर्मा चुनावी दैनिकी

 

अहिले देश निर्वाचनको माहोलमा छ । यतिवेला निर्वाचनको गफ नहुने ठाउँ सायदै छ । दलहरू चुनावी प्रचार प्रसारमा खटिइरहेका छन् भने उम्मेदवारका दैनिकी पनि उस्तै व्यस्त छ । प्रतिनिधिसभाका लागि रुपन्देही १ बाट छविलाल विश्वकर्मा प्रत्यक्षतर्फको चुनावी मैदानमा छन् । उनी नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वकृषिमन्त्री पनि हुन् । उनै विश्वकर्माले आफ्नो व्यस्त दैनिकीबारे  विश्वास खड्काथोकीलाई बताएका छन् ः

– बिहानको साढे ४ बजेतिर उठ्ने गरेको छु । आजभोलि चुनावी व्यस्तताका कारण शारीरिक व्यायाम गर्ने फुर्सद हुँदैन । ५ बजेदेखि नियमित काम सुरु हुन्छ ।
– बिहान उठ्नेबित्तिकै एक गिलास कागतीपानी खान्छु । अनि निर्वाचन परिचालन कमिटीको संयोजकलगायतको टिमसँग दिनभरको कार्ययोजना तयार हुन्छ । यो काम एकदेखि डेढ घन्टासम्म हुन्छ ।
– त्यसपछि विभिन्न साथीहरूसँग फोन सम्पर्क गरेर कार्यक्रमबारे जानकारी दिने रिपोर्टिङ लिने काम हुन्छ ।
– त्यसपछि घरदैलो कार्यक्रममा निस्कनुपर्ने हुन्छ । कार्यक्रममा निस्कनुपूर्व मह राखेर एक गिलास सातु खाने गर्दछु । यसले लामो समयसम्म शरीरलाई राहत प्रदान गर्दछ । यही नै खाजा हुन्छ ।
– त्यसपछि विभिन्न कोणसभा, घरदैलो कार्यक्रममा सहभागी हुने गर्दछु । सँगै थुप्रै साथीहरू पनि हुनुहुन्छ । त्यो काम बिहानको ११ देखि अपराह्न २ बजेसम्म हुन सक्छ ।


– खाना पनि ११ देखि २ बजेको बीचमै खाने गर्दछु । प्रचार प्रसारका लागि डेढदेखि चार–पाँच सयको संख्यामा हुन्छौँ । हामी सबैलाई एक ठाउँ खाना पाकिरहेको हुन्छ । अनि त्यहीँ खान्छौँ ।
– त्यसपछि पनि चुनावी अभियानमै लाग्नुपर्छ । तर, सबै बस्तीमा पुग्न सकिँदैन । कतिपय ठूलो बस्तीमा छिरिहालिन्छ भने कतिपय अवस्थामा गाडीमाथि बसेर हात जोड्दै जनतालाई अभिनन्दन गर्दै हिँडिन्छ ।
– दिनमा पाँचदेखि १५ वटासम्मको औपचारिक सभामा बोल्ने कार्यक्रम हुन्छ । कतिपय दिन घरदैलोमै पनि बित्ने गर्छ ।
– दिनमा फोनका लागि पनि लामो समय छुट्याउनुपर्ने हुन्छ । एक हजारदेखि १५ सयसम्म फोन आउने गर्दछ । यसको कारण के भने हरेक मान्छे उम्मेदवारसँग प्रत्यक्ष टच हुन खोज्दोरहेछ । जसकारण निरन्तर फोन आइरहन्छ ।
– दिउँसोको खाना खाने भन्ने हुँदैन । तराईमा चियाभन्दा पनि गुड र पानीको संस्कार छ । त्यसैले जनताले जे दिन्छन्, पिउने अनि हिँड्ने गरिन्छ ।


– बेलुकी ८ बजेतिर दिनको कार्यक्रम सक्छौँ । दुईवटा प्रदेशको सम्पर्क कार्यालय धनगढी र कोटिहवामा छ । त्यसैले जता पायक पर्छ, त्यतै छिर्ने गर्दछु । त्यहाँ गएपछि साथीहरूले दिनभरको माहोलबारे रिपोर्टिङ गर्नुहुन्छ । छलफल गर्छौं र विभिन्न योजनाअनुसार जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्छौं । त्यही समय खाना पनि खान्छु ।
– त्यसपछि आराम गर्नका लागि प्रतिनिधिसभाको सम्पर्क कार्यालयमा पुग्छु, जुन देवदहमा छ । त्यसपछि पनि १२ बजेसम्म फोन सम्पर्कबाटै साथीहरूसँग टचमा हुन्छु ।
– १२ बजेतिर मात्र सुत्ने समय हुन्छ । सुत्नेवेला मात्र थाहा हुन्छ कि खुट्टाको दुखाइ । खुट्टाको दुखाइ कम गर्न नुनपानी तताएर बाटामा राख्छु अनि त्यसैमा पैताला डुबाएर सेक्छु ।

नयाँ पत्रिकाबाट 

सम्बन्धित समाचार