एनआरएन युरोपेली बैठकको तयारी तीव्र, परराष्ट्रमन्त्रिलाई प्रमुख अतिथीको निमन्त्रणा

बार्सिलोना, २० जून । गैरआवासीय नेपाली संघको १० आैं युरोपेली क्षेत्रीय बैठक तथा ८ औं महिला सम्मेलनको तयारी तीव्र पारिएको छ ।

‘युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता’ भन्ने नाराका साथ जर्मनीको फ्रयाङर्फडमा जुलाईको अन्तिम साता हुने बैठकको तयारी तीव्र पारिएको हो ।

एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित हुने बैठकले कम्तिमा २ करोड रुपैयाँ निर्माणाधिन भवनका लागि सहयोग जुटाउँने लक्ष्य राखेको छ ।

यसका लागि युरोप क्षेत्रका हरेक राष्ट्रिय समन्वय परिषदहरुमा एक जना संयोजक नै तोकेर लक्ष्य पूरा गर्ने गरी तयारी थालिएको युरोप संयोजक कुल आचार्यले जानकारी दिए ।

सम्मेलनका लागि आइतबार बसेको बैठकले, युरोप क्षेत्रमा योगदान दिएका तीन जना अभियन्ताहरुलाई सम्मान गर्ने निर्णय समेत गरेको छ ।

गत वर्षको कोपेनहेगन सम्मेलनमा बेल्जियम निवासी रविन्ऽमान श्रेष्ठ, बेलायतका चिरन्जीवी ढकाल र सुर्य गुरुङ सम्मानित भएका थिए । तिनै सम्मानित अभियन्ताहरुबाट, नयाँ ३ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको निमन्त्रणा

युरोपेली क्षेत्रीय बैठकका लागि प्रमुख अतिथिको रुपमा नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई निमन्त्रणा गरिने भएको छ ।

परराष्ट्र मन्त्रालय लगायत युरोप क्षेत्रमा रहेका नेपाली मिसनका प्रमुखहरुलाई समेत यस अघि पत्राचार भइसकेको संयोजक आचार्यले जानकारी दिए ।

तयारी बैठकले सम्पूर्ण अतिथि निमन्त्रणाको जिम्मेवारी युरोप संयोजक तथा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष तथा सचिवालका सदस्य सचिव नवराज रोस्यारालाई दिएको छ ।

जिम्मेवारी बाँडफाँड

बैठकले होटल सहजिकरणका लागि महिला संयोजक सपिला राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।

एनआरएन भवन निर्माणमा संस्थागत तथा व्यक्तिगत रुपमा सहयोग गर्ने सबै दाताहरुलाई सम्मान गरिने हुँदा ब्यबस्थापनका लागि युरोप उपसंयोजक दावा जी शेर्पालाई संयोजक तोकेको छ ।

एनआरएनको आफ्नै घर निर्माणमा धेरै थोरै सहयोग गर्ने सबै दातालाई कदर गर्दै सम्मानको कार्यक्रम राखिएको संयोजक आचार्यले बताए ।

यस्तै साँस्कृतिक कार्यक्रमले समेत यसपटक सम्मेलनमा उचित स्थान पाएको छ । जूलाई २८ तारिख शुक्रबार राति ८ देखि १० बजे र शनिबार राति ९ देखि ११ बजेसम्म कार्यक्रम हुने भएको छ ।

युरोप क्षेत्रमा रहेका कलाकारहरुले प्रस्तुति राख्न चाहेमा एनआरएनए जर्मनीलाई सम्पर्क गर्न तयारी समितले अनुरोध गरेको छ ।

महिला र युवाको कार्यक्रम जुलाई ३० तारिखमा

युरोपेली बैठकमा महिला तथा युवाहरुको समेत बिशेष बैठक हुँदै आएको छ । जुलाई ३० तारिख महिला सम्मेलन तथा युवाको लागि समय तय भएको हो ।

महिला संयोजक सपिला राजभण्डारी,उप संयोजक रजनी प्रधान र युवा उप संयोजक लोकराज शर्माले युरोप क्षेत्रका महिला तथा युवाहरुको सहभागिता बढाउने गरी तयारी थाल्ने भएका छन् ।

११ सदस्यीय सचिवालयका प्रस्तावित निर्णयहरुलाई आइतबार सम्पन्न युरोप क्षेत्रको तयारी बैठकमा प्रस्तुत गर्दै अनुमोदन गरिएको थियो ।

बैठकमा संघका प्रमुख संरक्षक जीवा लामिछाने,उपाध्यक्ष कुमार पन्त,महासचिव डा. बद्री केसी, सचिव अर्जुनकुमार श्रेष्ठ लगायत युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुको उल्लेख सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार